‘वेपत्ता आयोग नै वेपत्ता !’

‘वेपत्ता आयोग नै वेपत्ता !’

गुल्मी : ४५ वर्षीया खैसरा क्षेत्री कहिलेकाहीँ पति आउलान् कि भनेर बाटोतिर आँखा डुलाउँछिन् । २०६१ सालमा बेपत्ता भएका उनका पति केन्द्र बहादुर खत्रीको भने अत्तोपत्तो छैन ।

‘जीवन साथी नै नभएपछि बाँच्नुको के अर्थ ?’, उनले पीडा पोखिन्, ‘पतिको सम्झनाले मुटु पोल्छ ।’ राज्यले त झन् पीडित परिवारको बेवास्ता गरेको भन्दै पीडा माथि पीडा थपेको गुनासो खैसराको छ ।

रुरु गाउँपालिका–४ वलेटक्सारका माधव ज्ञवालीको पीडा पनि उस्तै छ । २०५८ सालदेखि ज्ञवालीका बुवा वेपत्ता छन् । १७ वर्ष लागिसक्दा समेत उनका बुवाको कुनै खबर छैन ।

बुवाको अभाव सधैँ खड्कीरहन्छ माधवलाई । उनी भन्छन्, ‘बुवा भएको भए मेरा सपना सबै पूरा हुन्थे,’ उनले भने, ‘बुवाको अभावले सधैं पिरोल्छ ।’ विज्ञान संकायबाट कक्षा १२ उत्तीर्ण गरेका ज्ञवालीको सपना इन्जिनीयर बन्ने थियो । तर बुवा नभएकैले ईन्जिनीयर बन्ने सपना साकार नभएको गुनासो छ उनको ।

त्यसो त, कहिलेकाहीँ छानविन समितिको समाचार आउँदा आश भन्दा धेरै निराशा थपेको समेत ज्ञवाली बताउँछन् । दश वर्षे सशस्त्र द्धन्दको समयमा वेपत्ता पारिएका व्यक्तिका परिवारले द्धन्दको घाउ अझै निको नभएको गुनासो गर्दै छन् ।

मानवअधिकारकर्मी तथा सरोकारवालाले वेपत्ता पारिएका परिवारसँग गरेको छलफल कार्यक्रममा पीडितहरुले यस्तो गुनासो गरेका हुन् । पीडित परिवारले न्याय नपाएको गुनासो गर्दै रेसुंगा नगरपालिका–९ की पवित्रा पन्थीले वेपत्ता परिएका परिवारलाई राज्यले रोजगारी तथा अन्य अवसर दिलाइदिनुपर्ने माग राखिन् ।

द्धन्दको पीडा स्मरण गर्दै परिवारका सदस्यलाई आत्मनिर्भर हुने किसिमका कार्यक्रमको व्यवस्था गर्नुपर्ने उनको धारणा थियो । कार्यक्रमका सहभागी मानव अधिकारकर्मी गणेश श्रेष्ठले भने छानविन आयोग नै वेपत्ता जस्तो देखिएको बताए । ‘आयोग नै वेपत्ता जस्तो छ,’ उनले भने, ‘कसरी समयमा काम गर्छ भनेर विश्वास गर्ने ?’

आयोगले सही समयमा काम गरी छानविन गरेको भए हालसम्म पीडितको आँशु देख्नु नपर्ने अवस्था भइसक्ने श्रेष्ठको भनाई छ । उनले आयोगको काम सुस्त भएकै कारण पीडितको घाउमा झन् पीडा थप्ने काम भइरहेको बताए ।

वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका सदस्य आई बहादुर गुरुङले आयोगले निष्पक्ष काम गरिरहेको दावी गरे । उनले सत्यतथ्यको आधारमा वास्तविक पीडितलाई न्याय दिलाएरै छाड्ने पीडितसमक्ष प्रतिवद्धता जाहेर गरे ।

जिल्लामा कुल २७ वटा उजुरी रहेकोमा विस्तृत छानविनमा २४ वटा र सत्य निरुपण तथा छानविन आयोगमा १ वटा पठाइएको छ । यस्तै २ वटा उजुरी तामेलीमा छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.