कैलालीकी राधालाई कुटेकै झल्को : स्याङ्जामा कुटिइन् अर्की युवती
स्याङ्जा : वालिङ्मा एक युवतीलाई उपचार गर्ने निहुँमा पुजारीले निर्घात कुटपिट गर्दै दुर्व्यवहार गरेका छन्।
वालिङ नगरपालिका १४ डाडाँखर्क निवासी २१ वर्षीया खगीसरा कुवँरलाई आफूलाई झाक्री बताउने रामबहादुर थापा (रितबहादुर) ले कुटपिट गरेका हुन्।
सार्वजनिक स्थलमा दिउँसै ती युवतीमाथि अभद्र व्यवहार हुँदा पनि उनका आफन्त र स्थानीय मुकदर्शक बनेर हेरिरहेका थिए। कालिका मन्दिरका पुजारी समेत रहेका थापाको खोजीकार्य भैरहेको वालिङ्का प्रहरी निरीक्षक शंकर आचार्यले जानकारी दिए।
‘युवतीलाई वनदेवी लागेको भन्दै पुजारी नै झाँक्री बन्दै वनदेवी पन्छाउनका लागि कुटपीट गरे’, प्रहरी निरीक्षक आचार्यले भने, ‘युवतीलाई उपचार गर्ने भन्दै उनका आफन्तले नै मन्दिरमा पुर्याएको जानकारी आएको छ।’
यसअघि कैलालीकी १८ वर्षीया राधा चौधरीमाथि निर्घात कुटपिट भएको भिडियो सार्वजनिक भएको थियो।