किन सबै मानिस समान हुन सक्दैनन्?

किन सबै मानिस समान हुन सक्दैनन्?

अस्तित्वको सृष्टिमा कुन प्राणी कस्तो हुनुपर्ने, कुन वृक्ष कस्तो हुनुपर्ने, चराचुरुंगी, कीटपतंगदेखि लिएर मानिसको बनोटसमेत सबैलाई समान गुण र बनोट दिएर सृजना गरेको छ। हरेक वृक्षमा हेर्‍यौं भने पात, हाँगा, जरा, फलजस्तो हुनुपर्ने गुणवत्ताअनुसार त्यस्तै छ। स्याउको बोटमा आँप फलेको छैन।

पशुपक्षी, कीटपतंग सबको गुणवत्ता, प्रकृति जस्तो बनाएको छ, त्यस्तै नै छ। डाँफे सुगाजस्तो हुन खोजेको छैन। मानिस प्रत्येक व्यक्तिलाई उसको शारीरिक गुण, नाक, आँखा, मुख, कान, हृदय (मुटु), मष्तिस्क जे जहाँ हुनुपर्ने हो, त्यही बनाएको छ। अस्तित्वले फरक गरेर कुनै मानिसका आँखा पछाडि, नाक टाउकोमा र दिमाग हृदयमा बनाएको छैन। र पनि सबै समान किन छैनन् त ? विज्ञानले अनेक तर्क र अनुसन्धान निकाल्न सक्छ। मानिसले नै विज्ञानको आविष्कार गरेको हो, विज्ञानले मानिस बनाएको होइन।

मानिस प्रथमतः प्राकृतिक सृजना हो। प्राकृतिक भएर पनि किन प्राकृतिक नै रहन सकेन र सबैमा समानता किन छैन त भन्ने विल्कुल मौलिक जिज्ञासा र जान्नुपर्ने विषय हो।

हो, शारीरिक, मानसिक, आध्यात्मिक र भावनात्मक रूपमा एकै किसिमको गुणवत्ता दिएर सृष्टि गरेको भए पनि किन असमानता त ? किनकि सबैका आँखा उही स्थानमा भएर पनि हेर्ने दृष्टिकोण फरक भयो। प्रत्येक व्यक्तिको हेराइ र दृष्टिकोणमा सम्यकता भेटिँदैन। सही कुरालाई सही नदेखेर नकारात्मक कथा बनाएर प्रस्तुत गर्नमा बढी रुचि लिनेहरूको संख्या कम छैन।

घटना, वस्तु, परिस्थिति र व्यक्तिलाई समेत जे छ, त्यही रूपमा स्विकार्ने कलाको विकास भएन। परनिन्दा र परचर्चामा जत्तिको अरूमा रमाउन नसक्ने भए मानिसहरू।

धर्मका नाममा हिंसा, अराजकता, रुढिवादको विकास हुँदै जाँदा स्वधर्म (स्व–स्वयंको, धर्म) के हो र यसको विज्ञान के हो, जीवनमा यसलाई अपनाउँदा के फाइदा हुन्छ भन्ने जान्नै खोजेन। मैले के गर्नेभन्दा पनि अरूले के गर्‍यो र के गर्छ भन्ने धारणाको मात्र विकास हुँदै गयो र परधर्मको संस्कार बस्दै गयो। मैले के गर्न सक्छु, म को हुँ? भन्ने स्वधर्मको कला सिक्नै चाहेन। त्यसैले परनिन्दा र परचर्चामै समय बिताइरहेको पत्तै पाएको छैन।

मुख सबैको एकै ठाउँमा भएर के गर्नु बोलीवचन र शिष्टाचार सबैमा समानता छैन। जिब्रोको गरिमा मीठो बोलीमा भने पनि गोलीभन्दा चोटिलो बोलीले एकले अर्कालाई चोट पुर्‍याउनेको संख्या नै बढी छ। शील, सभ्यता, संस्कार झल्काउने सजिलो माध्यम नै मीठो बोली हो।

मीठो बोलीवचनका लागि कुनै अतिरिक्त खर्च लाग्ने पनि होइन र पनि मानिस किन सबैसँग मीठो बोल्न कन्जुस्याईं गर्छ? रुखो बोलेर कसले काम सपारेको छ ? मीठो बोल्दाको भवदशा र सकारात्मक ऊर्जा अनि आफैंमा मिल्ने शान्तिको झलक किन सबैलाई ख्याल हुँदैन?      

किनकि मानिस बेहोसी छ र आफ्नो बोलीवचनप्रतिसमेत हेक्का छैन। कानले के सुन्ने र के नसुन्ने त्योसमेत हेक्का छैन। सकारात्मकभन्दा नकारात्मक कुरा सुन्नमा जोड दिन्छन् मानिसहरू। सबैको सुनाइ र बुझाइ फरक भएकै कारण अनुकूलताभन्दा प्रतिकूलता बढी र सहजताभन्दा असहजता बढी प्रस्तुत भइरहेको हुन्छ। हामीलाई के आवश्यक छ र के लिने त्यो फिल्टर गरेर लिन सकिन्न र?      

मष्तिस्क सबैको उही स्थानमा र उही आकारमा भए पनि सोचाइ एकनासको छैन। सोच्ने अथाह शक्ति अस्तित्वले दिएको भए पनि सकारात्मकभन्दा नकारात्मक सोचमै अभ्यास बढाएको पाइन्छ। म सही व्यक्ति हुँ, म सही सोच्न र सही कर्म गर्न सक्छु भन्ने साहस नै निकाल्दैन मानिस। सोच्ने शक्ति अथाह भएपछि सकारात्मक सोचले जीवनलाई ऊर्जामय बनाउन र अरूलाई समेत ऊर्जा प्रदान गर्न कसले रोक्न सक्छ र?

हृदय भएर पनि हृदयको ठाउँमा मष्तिस्कलाई काम गर्न दिन्छ मानिस। हृदय र मुटु एकै माने पनि अलग माने पनि महत्वपूर्ण अंग हुन् यिनीहरू। रक्तसञ्चार द्वारा जीवन बचाउन (मुटु) होस् या प्रेमद्वारा (हृदय) जीवनलाई धन्य बनाउन यिनीहरूको अहम् भूमिका छ। प्रेमबिनाको जीवन के जीवन? अथाह प्रेमको ऊर्जा भएको मानिसलाई प्रेमपूर्ण भएर जिउनमा केको आपत्ति छ? किनकि हृदयको काम पनि मस्तिष्कबाटै गर्छ मानिस। प्रेम पनि सोचेर, तौलेर, अवस्था हेरेर, फाइदा–बेफाइदा हेरेर गर्न चाहन्छ।

नितान्त आफू एक्लो महसुस गर्नुभन्दा पहिल्यै भित्री आँखा खुल्न र अन्तर्मुखी यात्रा सुरु गर्न जानेमा मानिसलाई आफ्नो पन र स्वभावको पहिचान हुनेछ।

मानिस पछि पर्दैन तर्क गर्न कि जीवन आफ्नै हो, जसरी बाँचे पनि हुन्छ। त्यसैगरी जिउने कला र शैली आ-आफ्नै हुन्छ पनि भनिन्छ। त्यसो हो भन्दाभन्दै पनि आफ्नै जीवन र कर्मसँग दिक्दार हुनेहरूको संख्या किन कम भएको छैन त? किनकि जीवनमा समृद्धि चाहने तर किन, केका लागि र कसरी थाहा पाउन खोजेको छैन।

हाम्रो खोज, जीवनको उद्देश्य के होला त भनेर कसैलाई सोध्यो भने नास्तिक व्यक्ति सीधा जवाफ दिन सक्छ– मेरो जीवनमा केही खोज छैन र भए पनि केही उद्देश्य छैन। आस्तिक व्यक्तिले अनेक प्रश्न र तर्क तेस्र्याउन सक्छ। मेरो भागदौड र जीवनमा पाउन चाहेको कुरा अर्थात् मेरो खोज के हो र यो सही छ कि छैन, थाहा पाउन स्वाध्याय गर्नुपर्छ प्रत्येकले। अरूका भोगाइबाट थाहा हुँदैन आफ्नो जीवन र उद्देश्य। आज भौतिक विकास होस् या विज्ञानको विकास, कहाँ गएर टुंगिने हो भन्ने आँकडा निकाल्नै सकिन्न।

एकपछि अर्को मानिसले के–के आविष्कार गरिसक्यो र पनि थाकेको छैन। कहाँ के मात्र गरेको छैन मानिसले विज्ञानको सहारामार्फत? व्याख्या गर्न गाह्रो छ तर निचोड यही हो कि सृष्टि बदल्न सकिन्न, दृष्टि बदल्नु जरुरी रहेछ।

मानिस शारीरिक आवश्यकतासँगै जन्मिन्छ। त्यसैले तिनै आवश्यकता पूरा गर्न लागिपर्नु नै आफ्नो खोज हो कि भन्ने भ्रम धेरैलाई हुन सक्छ। त्यसैले त जीवन नै दुःख हो भनेर परिभाषा दिइन्छ। जीवन दुःख होइन, जीवनमा पाएका कुराको महत्व नदिएर, नभएको कुराको चाहनाले दिने अपूर्णता दुःख हो।

मानिसले अस्तित्वबाट बिनामूल्य पाएका हजारौं चिज देख्दा लाग्छ, गरिब छैन तर धनी बन्ने आकांक्षाले गरिब बनाएको छ। केमा खोज्ने समृद्धि? खोज्ने होइन समृद्धि, हरेक सम्बन्ध, कार्य, सहयोग र योगदान गर्नमा तत्पर हुनु र केही गरेर देखाउनु हो समृद्धि।

आत्मसम्मान, मानपदवी र इज्जत बाहिर होइन, आत्मबोधमा होस्। जीवनभर अरूबाट प्रेम र सम्मान चाहनुभन्दा म राम्रो मानिस बनेर देखाउन सकूँ, सबैको प्रिय बनूँ भन्ने संकल्प गरोस्। मानिस कहिले आफूलाई खुसी ठान्छ त कहिले दुःखी। कहिले सफल त, कहिले असफल। कहिले प्रेम त, कहिले घृणा महसुस गर्दछ। कहिले आफूमा जिम्मेवारी थपिएको बोध गर्छ त कहिले अरूले आफूलाई केही गरिदिएनन् जस्तो ठान्छ।

कहिले धन्यवाद व्यक्त गर्दछ त कहिले गुनासो भाव। त्यसैले यी सब कुरालाई साक्षी भएर हेर्ने कला जसले जान्छ, शाश्वत सत्य र जीवनको खोज के हो थाहा पाउन सक्छ। चाहेअनुसारको पाएर पनि आखिर मनभित्र आनन्द लिने कला जानेन भने ती सबै आफ्ना अपेक्षा मात्र सिद्ध हुन्छन्। मानिसको मन सधैं विचारको जालोमा अल्झेको हुन्छ।

आखिर यी सबै कर्म र चेष्टामार्फत सुखी र आनन्दित हुन चाहेको, यही नै वास्तविक खोज हो तर केका लागि भागदौड, प्रयास अनि ठीक–बेठीक सबै उपाय अपनाइरहेको छु भन्ने कुरा थाहै नपाई बेहोसीमा खुसी खोजिरहेको हुन्छ मानिस। जब समयले प्राप्त ती सबै कुरा केही होइन रहेछन्, ती सबै बाहिरी आडम्बरलाई मद्दत पुर्‍याउने नाशवान चीज रहेछन्, सुख र आनन्द त मैले लिन जान्ने कला रहेछ भन्ने बोध हुन्छ, त्यतिबेलासम्म मानिस सबै कुरा र उसका व्यर्थका प्रयासले आफ्नोपनबाट टाढा पुर्‍याइसकेको हुन्छ।

समयको साथसाथै अमूल्य ठानेको विषय जीवनको उत्तराद्र्धमा आइपुग्दा ती सबै कुराले छाडिसकेको र नितान्त एक्लो महसुस गर्नुभन्दा पहिल्यै भित्री आँखा खुल्न र अन्तरमुखी यात्रा सुरु गर्न जानेमा मानिसलाई आफ्नो पन र स्वभावको पहिचान हुनेछ। जुन दिन जीवनभरको मेरो प्रयास स्वधर्म पहिचानको लागि रहेछ भन्ने बोध हुन्छ, त्यो क्षण नै मानिसको जीवनको महत्वपूर्ण क्षण हुनेछ। सारा सिद्धान्त, वाद, सम्प्रदाय, धर्मभन्दा माथि उठेर जीवनको उद्देश्यलाई साक्षात्कार गर्न सके मात्र सबै मानिसमा समान गुणवत्ता पाउन सकिएला कि?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.