केशव स्थापितलाई हटाउने मुख्यमन्त्रीको तयारी, क्याबिनेटमै मुख छाडेको आरोप

केशव स्थापितलाई हटाउने मुख्यमन्त्रीको तयारी, क्याबिनेटमै मुख छाडेको आरोप

काठमाडौँ : प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापित फेरि अर्को विवादमा मुछिएका छन् । बुधबार हेटौँडामा बसेको प्रदेश ३  मन्त्रिपरिषद्को बैठकमै मुख्यमन्त्री डोरमणि पौडेलमा अपशब्द प्रयोग गरेर गाली गरेको आरोप उनीमाथि लागेको छ । 

बैठकका क्रममा प्रदेशको भौतिक विकासको जिम्मेवारी सम्हालेका मन्त्री स्थापित र उनको मन्त्रालयको  सुस्त गतिलाई बढाउन मुख्यमन्त्रीले भनेपछि विवाद सुरु भएको थियो । 

जनतासँग प्रत्यक्ष जोडिने भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको गति सुस्त भएको र मन्त्री स्थापितको पनि कार्यशैली ठीक नभएको कुरा मुख्यमन्त्रीले बताएपछि उनी बैठकमै आक्रोशित भएका थिए । 

बैठकको अन्तिममा मुख्यमन्त्रीले मन्त्री स्थापितको कार्यशैली र उनको मन्त्रालयको गति सुस्त हुँदा कार्यप्रगति शून्य रहेको टिप्पणी गरेपछि सुरु भएको विवाद गालीगलौजसम्म पुगेको स्रोतको दाबी छ । 

मुख्यमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार मन्त्री स्थापित मन्त्रिपरिषद् बैठकमै नेपाली भाषामा प्रयोग हुने सबै किसिमका गाली प्रयोग गरेका थिए । 


‘स्थापितले पहिलो संसदीय र दोस्रो मन्त्रीको मर्यादा राख्न सकेनन् । क्याबिनेटमा मुख्यमन्त्रीसँग पनि दुव्र्यबहार गरे’, ती सदस्यले भने, ‘मुख्यमन्त्रीले विकास निर्माणबारे प्रश्न गरेपछि क्याबिनेट बैठकमै जथाभावी मुख छाड्नुका साथै हातपात पनि गर्न खोजे ।’ 

ठुलो स्वर गरेँ, गाली होइन 

यता मन्त्री स्थापितले भने आफ्नो स्वर नै प्राकृतिकरुपमा ठुलो भएको बताउँदै गालीगलौज नगरेको टिप्पणी गरे । विकासको कुरालाई लिएर मुख्यमन्त्रीले आफ्नो गति सुस्त भएको बताएपछि आफूले सबै काम प्रक्रिया पुरा गरेपछि मात्रै हुने बताएको उल्लेख गरे । 

‘मुख्यमन्त्रीले गति सुस्त भएको बताएपछि मैले विकासको काम अघि बढाउन बजेट निर्माणदेखि टेण्डरसम्मका प्रक्रिया हुने भएकाले बाख्रा वितरण गरे जस्तो नहुने भनेँ’, उनले भने, ‘मैले अलिक ठुलो स्वरमा (हामी कम्युनिस्टको स्वर नै ठुलो हुन्छ) बोलेको मात्रै हो, यसलाई घरायसी झगडाका रुपमा मात्रै बुझ्दा हुन्छ । 

मन्त्री स्थापित आफुलाई मुख्यमन्त्रीले हटाउने कुरा हल्ला मात्रै भएको बताए । ‘उहाँले मलाई हटाउने भनेको होइन, नयाँ संरचना भएकाले विकासले गति नलिएको हो । हिजोको क्याबिनेटमा केही चर्काचर्की चाहिँ भएको हो ।’

मन्त्री स्थापितले विकास निर्माणको कामको रिजल्ट आउन समय लाग्ने मुख्यमन्त्रीलाई बताएको पनि उल्लेख गरे । ‘मैले हिजो मात्रै प्रदेशको विकासका लागि गर्न लागिएको आठ अर्ब रुपैयाँको टेण्डर डकुमेन्ट पनि दिएको थिएँ’, उनले भने, ‘मेरो मन्त्रालयको कुनै पनि काम टेण्डरबिना गर्नै सकिँदैन, प्रक्रिया पुरा नगरी काम गर्दा कर्मचारीले मान्दैनन् । हामीले पनि प्रक्रिया पुरा नगरी अघि बढ्न 
मिल्दैन ।’ 
तर प्रदेश ३ का अर्का मन्त्रीले भने स्थापितले मुख्यमन्त्रीलाई अमर्यादित शब्दसहित गाली गरेको बताए । ‘स्थापितजीको स्वर ठुलो मात्रै थिएन, उनले मुख्यमन्त्रीलाई गाली पनि गरे’, उनले भने, ‘चर्काचर्की त पर्‍यो नै, स्थापितले मुख छाडेपछि मन्त्रिपरिषद्को मर्यादा र आचारसंहितामै पनि प्रश्न उठेको छ ।’

मुख्यमन्त्री पछि नहट्ने मुडमा 

यता स्थापितले आफूलाई मुख छाडेपछि मुख्मयन्त्री पौडले उनलाई हटाउने निचोडमै पुगेका छन् । त्यसैका लागि उनी काठमाडौँ आइपुगेका छन् । उनीसँगै प्रदेशका अर्का मन्त्री कैलाश ढुंगेल पनि काठमाडौँ आउँदैछन् । 

मुख्यमन्त्री पौडेलले स्थापितलाई हटाउनका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गर्ने भएका छन् । 

यदि मुख्यमन्त्री पौडेलले भनेअनुसार प्रम ओली तयार भएमा सत्तारुढ दल नेकपाको सिफारिसमाा स्थापितको पद जानेछ । तर, नेकपा भित्रका चर्को गुटबन्दीका कारण प्रदेशको मन्त्रिपरिषद् नै स्थापितको पक्ष र विपक्षमा विभाजित भएको छ । 

विवादमा स्थापित

यसअघि स्थापितमा एक महिलामाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो । काठमाडौं महानगरका पूर्व मेयर स्थापितमाथि १५ वर्ष पहिला मेयर हुँदा उनले महिला कर्मचारीमाथि यौन हिंसा गरेको आरोप सामाजिक सञ्जालमार्फत खुलासा गरेकी थिइन् । 

पत्रकार तथा महानगरकी तत्कालीन अधिकृत रश्मीला प्रजापतिले सामाजिक सञ्जालमा त्यति बेलाको घटना सेयर गरेकी थिइन् । ‘मेयर स्थापितको कुरा नमान्दा मैले जागिर गुमाउनु पर्यो, उनी यौनहिंस्रक हुन्’, उनले भनेकी थिइन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.