नारीभित्रको ‘हिरो’ खोजी
काठमाडौं : आङ नै सिरिंग हुने महिला हिंसाका घटनाले सञ्चारमाध्यम भरिएका छन्। बलात्कार, बालविवाह, यौन दुराचार, दाइजो प्रथा, बोक्सीको आरोपजस्ता कैयन् घटना हेडलाइन बनिरहेका छन्। यस्ता समस्या भोग्ने र सुन्ने महिलाका मनमा एउटै प्रश्न उब्जन्छ-म छोरी भएर किन जन्मिएँ?
रेखा थापाले निर्माण तथा निर्देशन गरेको फिल्म ‘मालिका’मा पनि यही प्रश्न बारम्बार दोहोरिइरहन्छ। जाजरकोटकी १४ वर्षीया बालिका कमला ओली (जया)को मुख्य भूमिका रहेको यो फिल्ममा महिला भएकै कारण जयाले पाइलापाइलामा भोग्नु परेको पीडा देखाइएको छ।
आफ्नै गाउँको एक पुरुषबाट बलात्कृत हुनु, त्यसपछि पञ्चायत राखेर जयाको विवाह त्यही केटासँग गराउन खोज्नु, बालविवाहविरुद्ध कोही नबोल्नु जस्ता घटनाले जया पीडित बन्छिन्। उनको पढाइ पनि बीचमै रोकिन्छ।
विवाहको दिन बेहुलीकै पहिरनमा जया जाजरकोटबाट काठमाडौं जाने बस चढ्ने हिम्मत जुटाउँछिन्। सोझी केटी देखेर बसका सहचालकदेखि काठमाडौंका होटेल साहूसम्मको कुनजर उनीमाथि पर्छ। राजधानी छिरेपछि पनि जयामाथि पीडा थपिँदै जान्छ। उनी यौन धन्दा गर्नेहरूको फन्दामा पर्छिन्।
फिल्ममा अभिनेत्री रेखा मालिकाको भूमिकामा छिन्। घरमा विवाहका लागि केटाले माग्न आउँदा काली, मोटी, कपाल घुमुर्केको, हातका औंला लामा भएको, घुम्टो ओढेर बस्न नसक्ने, जवाफ फर्काउने स्वभावकी आरोप लगाउँदै मालिका पटकपटक केटाद्वारा बहिष्कृत हुन्छिन्।
तराईकी छोरी मालिका यादव दाइजो प्रथाविरुद्ध उभिँदा समाजबाट बहिष्कृत हुनु परेको कथा फिल्ममा छ। सानैदेखि आत्मनिर्भर बन्न रुचाउने मालिकालाई समाजले नारीका लागि कोरिदिएको लक्ष्मणरेखा पटक्कै मन परेको हुँदैन। घर र समाजले नस्वीकारेपछि उनी छोरीका निम्ति स्वर्णिम नेपालको अभियानमा होमिन्छिन्।
काठमाडौंमा जयाको भेट मालिकासँग भएपछि कहानीमा टुइस्ट आउँछ। मालिकाले विस्तारै जयालाई आत्मनिर्भर बनाउँछिन्। आफ्नो सुरक्षा आफैं कसरी गर्ने सिकाउँछिन्। छोरी भएर जन्मिएकोमा गर्व गर्न सिकाउँछिन्। स्वनिर्णय लिन सक्ने बनाउँछिन्।
फिल्ममा मालिकाले जयालाई सिकाउने एउटा पाठ हो, ‘चाहे परिस्थिति जस्तोसुकै होस्, सपना देख्न नछोड्नू।’ छोरीका पनि सपना हुन्छन् र त्यसलाई पूरा गर्ने मौका उनीहरूले पाउनुपर्छ भन्ने निष्कर्ष फिल्मको हो।
फिल्ममा मालिकाले बोल्ने एउटा संवाद छ, ‘यो समाजले मलाई छोरी हुने मात्र विकल्प दियो तर मैले मान्छे बन्ने निर्णय लिएँ।’ समाजका नियमकानुनको च्यादरभित्र हाम्रा प्रत्येक छोरीका सपना, इच्छा, आकांक्षा छोपिएका छन्।
तिनको घाँटी निमोठिएको छ। स्वतन्त्र भएर जिउने र आफ्नो निर्णय आफैं लिन पाउने अधिकार नारीलाई छ भन्ने सन्देश फिल्मले दिन्छ। प्रत्येक नारीभित्र एक ‘हिरो’ हुन्छ, मालिका भन्छिन्, ‘त्यसलाई हामी आफैंले चिन्न सक्नुपर्छ। त्यसैले आफूभित्रको मान्छे चिन, किनकि यू आर अ हिरो।’
फिल्ममा महिलामाथि हुने सामाजिक दुव्र्यवहारको घटना देखाइरहँदा फिल्मले छोरीलाई आत्मनिर्भर बनाउने उपाय पनि सुझाएको छ। आत्मरक्षादेखि शिक्षा, चेतना, आर्थिक सबलीकरणको विषयमा फिल्ममा जोड दिइएको छ।
मालिकाको संगतले जयाले म छोरी भएर किन जन्मिएँ? भन्ने प्रश्नको जवाफ पाउँछिन्। त्यो हो— म यो संसारमा जन्मनुको विशेष कारण छ। देशव्यापी च्यारिटीअन्तर्गत ‘मालिका’को बुधबार राजधानीमा च्यारिटी गरिएको हो। जोन्टा क्लब काठमाडौंले गरेको च्यारिटीमा समाजसेवी, साहित्यकार, महिला अधिकारकर्मी र अभिनेत्री उपस्थित थिए।
बालविवाह र महिला हिंसाका घटना प्रस्तुत गरेको चलचित्रले समाजमा परिवर्तन ल्याउने अधिकांशको भनाइ थियो। जोन्टा क्लबकी अध्यक्ष मीरा ज्योति, आभा शाह, कमलकेशरी तुलाधर, सीमा गोल्छा, जया शाह, मुन प्रधान, साहित्यकार अर्चना थापा, अमृता लम्साल, उमा सुवेदी, कुमारी लामा, मानवअधिकारकर्मी मोहना अन्सारी लगायातले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिए।