९१ लाख उठाएर गाउँलेले आफैँ बनाए पूर्वाधार
बेनी : म्याग्दीको विकट क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिका–५ स्थित किन्दु गाउँका बासिन्दाले लाखौं रुपैयाँ जुटाएर सडक, सामुदायिक भवन, खेलमैदान र सत्तल निर्माण गरेका छन् ।
पोखरा, काठमाडौं लगायत देशका विभिन्न सहर, बेलायत, हङकङ, अमेरिका लगायत देशमा पुगेका किन्दुका बासिन्दाको सहयोग र स्थानीयको श्रमदान गरी कूल ९१ लाख ६७० रुपैयाँको लगानीमा पूर्वाधार निर्माण भएको हो ।
स्वाँत–किन्दु ग्रामिण कृषि सडक, बहुउद्देश्यिय खेलमैदान, सामुदायिक भवन र छिर्केश्वर मन्दिर परिसरको सत्तलको बिहीबार गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुन, सांसद विनोद केसी र गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले उद्घाटन गरेका थिए ।
किन्दु टोल विकास समिति र शिख्तानी समाजको पहलमा आर्थिक स्रोत जुटाइएको स्थानीय अगुवा बागवीर पाइजाले बताए । ४९ लाख २३ हजार ७७५ रुपैयाँमा ६.५ किलोमिटर सडक, २८ लाख ५५ लाख ६६ रुपैयाँमा खेलमैदान, सात लाख ४४ हजार रुपैयाँमा सभाहल र पाँच लाख ७४ हजार ७७० रुपैयाँमा सत्तल निर्माण भएको निर्माण समितिका अध्यक्ष पदमबहादुर चोचाङले बताए ।
पूर्वाधार निर्माणका लागि ८० घरधुरी किन्दुबासीले चार लाख २५ हजार रुपैयाँ बराबरको श्रमदान, तत्कालिन जिल्ला विकास समितिले एक लाख ८० हजार र अन्नपूर्ण गाउँपालिकाले चार लाख ३८ हजार रुपैयाँ सहयोग गरेका छन् ।
सडक, सभाहल, खेलमैदान र सत्तल निर्माण भएपछि आवत जावत, ढुवानी, आलु लगायत तरकारी निकासी, खेल अभ्यास, प्रतियोगिता सञ्चालन, तालिम गोष्ठि, भेला, सभासमारोह सञ्चालन गर्न सहज भएको किन्दुका बासिन्दाले बताए ।
उद्घाटन समारोहमा मन्त्री पुन, सांसद केसी र गाउँपालिकाका अध्यक्ष पुनले किन्दुबासीले राज्यको तुलनामा धेरै गुणा बढी आर्थिक स्रोत जुटाएर विकासका पूर्वाधार तयार पारेर विकासमा जनसहभागिताको नमुना प्रस्तुत गरेको भन्दै स्थानीयबासीको प्रशंसा गरेका थिए ।
उनीहरुले सडकको स्तरोन्नती, मोटरेबल पुल र थप पूर्वाधार निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । उद्घाटन कार्यक्रममा स्थानीयबासीले नाचगान र भोजभतेर गरेर खुसीयाली समेत मनाए ।