बालबालिकाले आफ्नै बा–आमाविरुद्ध प्रहरीलाई पत्र पठाएपछि...

बालबालिकाले आफ्नै बा–आमाविरुद्ध प्रहरीलाई पत्र पठाएपछि...

विराटनगर : ‘मेरो घर रहेको टोलका धेरै स्थानमा घरेलु मदिरा उत्पादन तथा बिक्री बितरण हुन्छ । त्यसको सेवनका कारण घर–घरमा झैझगडा र कुटपिटका घटना हुँदै आएका छन् । मेरो स्कुलको शुल्क तिर्ने पैसाले बुबा त्यही रक्सी पिउनु हुन्छ । मैले घर सुधार्ने निकै प्रयास गर्दा पनि सकिन । यस्तै अवस्था रहेमा हाम्रो जीवन बर्बाद हुन्छ । त्यसैले समस्या समाधान गरिदिनु हुनु मोरङ प्रहरीलाई अनुरोध गर्दछौँ ।’

विराटनगर–१२ कृष्णमार्ग नयाँबस्तीका बालबालिकाले सामूहिक रुपमा पत्र लेखेर जिल्ला प्रहरी कार्यालय मोरङमा पठाएको पत्रको संक्षिप्त अंश हो यो । मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीलाई सम्बोधन गरी लेखिएको उक्त पत्र बुधबार जिल्ला प्रहरी कार्यालयलाई प्राप्त भयो ।

बालबालिकाले हृदयस्पर्शी ढंगमा लेखेको पत्रकै आधारमा प्रहरीले बिहीबार कारवाही सुरु ग¥यो । नयाँबस्तीमा छापा मार्ने क्रममा प्रहरीले अवैध घरेलु मदिरा र मदिरा उत्पादन गर्ने विभिन्न सामाग्रीसहित कच्चा पदार्थ समेत बरामद गरेको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी निशान थापा भन्छन्, ‘बालबालिकाले चिठी नपठाएको भए हामीलाई त्यहाँ अवैध घरेलु मदिरा उत्पादन हुन्छ भन्ने कुरा थाहै हुने थिएन । बालबालिकाको पत्र तथा पत्रको संवेदनशीलता ख्याल गरी तत्काल छापा हानियो ।’

यस क्रममा प्रहरीले छापा हानेर ठूलो परिणाममा घरेलु मदिरा उत्पादनका लागि प्रयोग गरिने कच्चा पदार्थ तथा भाँडावर्तन समेत बरामद गरेको छ । विराटनगर महानगरपालिका–१२ का गोपाल तामाङ, मेनोस उदास र राजकुमार श्रेष्ठ लगायतका घरमा अवैध रुपमा घरेलु मदिरा उत्पादन हुने गरेको पाइएको थियो ।

थापाका अनुसार टोलभरी नै अवैध घरेलु मदिरा उत्पादन हुने गरेको पाइयो । प्रहरीले मदिरा बनाउने ठूलो सिल्भरको भाँडा आठ वटा, सानो सिल्भरको भाँडा तीन वटा, घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ लगायत मदिरा बनाउन प्रयोग गरिने अन्य भाँडावर्तन समेत नियन्त्रणमा लिएको मोरङ प्रहरी प्रमुख एसपी केसीले बताए ।

बरामद गरिएका सबै वस्तुलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाइएको छ । मोरङ प्रहरीले नागरिकहरुबाट अपराध र सामाजिक विकृतिको बारेमा विभिन्न माध्यमबाट सूचना प्राप्त गरेपछि उपयुक्त कारवाही गर्दै आएको जानकारी केसीले दिए ।

नागरिकहरुबाट छिटो र सहज रुपमा सूचना प्राप्त गर्न भन्दै मोरङ प्रहरीले ‘मोरङ पुलिस’ नामको मोबाइल एप्स समेत सुचारु गरेको छ । केसीले आफ्नो क्षेत्रमा कुनै पनि घटना घटे तत्काल उक्त मोवाइल एप्समा गएर प्रहरीलाई जानकारी गराउन सकिने बताए । उक्त एप्स मोवाइलमा डाउनलोड गर्न जिल्ला प्रहरी कार्यालय मोरङको साइटमा जानुपर्छ । आफ्नो ठाउँमा घटेको घटना र आपराधिक क्रियाकलाको सूचना प्रहरीलाई दिँदा प्रहरीले पहिचान भने गोप्य राख्ने बताएको छ ।
 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.