कमाउने छोरो बाकसमा आएपछि...
गाईघाट : परिवारको आशा थियो– छोराले पैसा पठाउला। ऋण तिर्ला। बूढा आमाबाको ओखतीमूलो गर्ला। नानीहरूका लागि नानाचाचाको बाकस बोकेर फर्कला। तर, कमाउने छोरै बाकसभित्र फर्केपछि मंगलीमाया र सार्कीबहादुर मगरको परिवारमा सन्नाटा छाएको छ।
त्रियुगा–५ श्रीपुरका २६ बर्से रतन मगर मलेसिया पुगेको १० महिना मात्रै भएको थियो। दसैंको दिन उनको परिवार छोराको फोन पर्खेर बसेको थियो। चाडको दिन सुखदुःखको कुरा गरूँला भन्ने आशामा बसेकी पत्नी मीना (२३)को फोन त बज्यो। तर, त्यो फोनको मात्रै घण्टी थिएन, मगर परिवारको दुःखको साइरन थियो। टीका थाप्दै गरेको बेला रतनको मलेसियामै मृत्यु भएको खबरको उनीहरूले सामना गरे।
रतनको परिवारमा ६० वर्षका बुवा र ५५ वर्षकी आमा छन्। स्कुल पढ्दै गरेका दुई बहिनी र एक भाइ छन्। ‘मेरो बाबा आउनुन्छ’ भन्ने तोते आवाज बोल्ने १० महिनाको छोरो छ। बाँसको टाटीले बेरेर माटोको लिउन लगाइएको दुईकोठे झुप्रो छ। मुस्किलले घामपानी र जाडो छल्छ। रतन परिवारका सपना थिए। काठमाडौंको ग्लोबल मेनपावरबाट मजदुरीका लागि मलेसिया गएका थिए।
‘हामी त्यही छोराको कमाइमा अडेका थियौं’, बुवा सार्कीबहादुरले भने, ‘हाम्रो आशाको केन्द्र नै ढल्यो।’ रतनमाथि नै आश्रित सात जनाको परिवार अब गुजारा कसरी चलाउने भन्ने चिन्तामा छ। दसैंलगत्तै पैसा पठाउला भनी उनीहरू चाड मान्दै थिए। गहभरि आँसु झार्दै आमा मगंलीमायाले भनिन्, ‘हामी कसको सहाराबाट बाँच्नु ? ’
रतनकी श्रीमती भर्खर २३ वसन्त पार गर्दैछिन्। काखमा तीन वर्षको छोरो लिँदै मीनाले भनिन्, ‘राम्रोसँग बुवा भन्न नसिक्दै टुहुरो हुनु प¥यो। यसको भाग्यमा बुवा भन्ने नाता यत्ति नै रहेछ।’ मीनालाई छोराको पालनपोषण र शिक्षादीक्षा कसले गरिदेला भन्ने चिन्ता छ। ‘आफू त जसोतसो बाँचौंला। कहिले खाउँला, कहिले भोकै रात बिताउँला। तर यो बाबुलाई कसरी जिउन सिकाउने हो ? ’
साहुको ऋण काडेर एक लाख ७० हजार रूपैयाँ खर्चमा रतन मलेसिया गएका थिए। बुबा सार्कीबहादुरलाई त्यही ऋण कसरी तिर्ने भन्ने पिरलो छ। ‘कमाउने छोरै मासिएपछि कसरी तिर्नु ऋण ? ’ उदास मुडमा देखिएका उनले भने, ‘सम्पत्तिका नाममा जंगलछेउमा झुप्रो रहेको १ कठ्ठाजति ऐलानी बारी छ। त्यही पनि साहुले उठाइदियो भने सुकुम्बासी बन्छौं।’
छोराले कमाएर पैसा पठाउँछु भनेको आमा मंगली पनि झल्झली सम्झिन्छिन्। भनिन्, ‘बुढेसकालमा दुःख दिन्न भन्थ्यो। तर ऊ आफै ढल्यो। हामी दुःखीलाई यस्तै त रहेछ।’ मगर परिवारलाई बैदेशिक रोजगारसम्बन्धी केही जानकारी छैन। छोराले बिमा गरे÷नगरेको पनि उनीहरूलाई थाहा छैन। कतैबाट सहयोग पाए साना नानीहरूको पढ्ने वातावरण बन्ने उनीहरूको आशा छ।