हिमाली काखका बालबच्चा

हिमाली काखका बालबच्चा

काठमाडौं : ‘मलाई मेरो परिवार किन फोन गर्दैन, किन भेट्न आउँदैन ? सायद उनीहरूले मेरो माया मारिसके होलान्’, निमा सुकसुकाउँछन्, ‘१० वर्षपछि आफ्नो गाउँ पुगेर तीन महिना बिताएपछि मलाई लाग्यो, मेरो बुवाले आफू नर्कमा बसेर मलाई स्वर्गको बगैंचामा पठाएका रहेछन्।’ निमालाई १० वर्षअघि डोल्पाको विकट गाउँबाट स्नोल्यान्ड रानग लाइट अफ एजुकेसन स्कुलमा ल्याइएको थियो। त्यति बेला उनी चार वर्षका थिए।

राजधानीमा बिहीबार प्रदर्शित डकुमेन्ट्री ‘चिल्डेन अफ दी स्नोल्यान्ड’मा स्नोल्यान्ड स्कुलमा अध्ययन गर्ने निमाजस्तै बालबालिकाको कथा छ। यसलाई बेलायती चर्चित फिल्म टोलीले बनाएको हो। धेरै चलचित्रमा विभिन्न अवार्ड विजेता जारा बालफोर र मार्कुस स्टेफेन्सनले यसको संयुक्त निर्देशन/निर्माण गरेका छन्। यसका कार्यकारी निर्माता क्रिस्टोफर हिर्ड बेलायतमा डकुमेन्ट्री निर्माणमा कहलिएका छन्। यसमा मार्क ह्याकान्सनको फोटोग्राफी, ग्राहम टेलरको सम्पादन र चिर्स रोईको कम्पोज छ।

डोल्पाको कुनै गाउँमा जन्मेकी छिरिङले पनि उक्त स्कुलमा पढ्ने मौका पाइन्। लामो समय परिवार भेट्न नपाएकी उनी स्कुलमा कहिलेकाहीँ निकै दुःखी देखिन्थिन्। साथीहरूले घरमा आमालाई फोन गर्दा उनका आँसु खस्थे। उनलाई आफूदेखि टाढा राख्ने आमा सबैभन्दा निर्दयी पात्रजस्तो लाग्थ्यो।

लामो समय स्कुलको होस्टलमा बसेकी उनले गाउँमा गएर जब आमा भेट्ने मौका पाइन्, त्यति बेला उनीसँग व्यक्त गर्ने कुनै शब्द थिएन। गाउँमा शौचालय थिएन, पढ्ने स्कुल थिएन। बाटोघाटोको सुविधा थिएन। खानेपानीको कुनै गतिलो व्यवस्था थिएन। निकै कष्टले जीवन चल्दै थियो। करिब पाँच दिन निकै अप्ठ्यारो बाटो हिँडेर गाउँ पुगेकी थिइन् उनी। त्यहाँ पुगेपछि उनलाई थाहा भयो, उनले निर्दयी र कठोर सम्झेकी आमा दुःख लुकाएर बाँचेकी रहिछन्। बिरामी बुवा र सम्पूर्ण परिवारको लालनपालनको जिम्मा एक्ली आमाले पूरा गरेकी रहिछन्। त्यति बेला उनलाई आफ्नी आमा भगवान्को एक स्वरूपझैं लाग्यो।

‘चिल्डे«न अफ दी स्नोल्यान्ड’ उक्त स्कुलमा अध्ययन गर्ने यस्तै विद्यार्थीको कथा हो। सन् २००२ मा डोल्पो बुद्ध (गुरु रानाग टुल्कु रिन्चेन रिम्पोचे)ले काठमाडौंको बूढानीलकण्ठमा उक्त स्कुल स्थापना गरेका हुन्। विकट हिमाली जिल्लाका विपन्न र अनाथ बालबालिकाको शिक्षा, स्वास्थ्यमा सहयोग गर्ने उद्देश्यले यो डकुमेन्ट्री निर्माण गरिएको हो। यसमा अन्तर्राष्ट्रियस्तरका फोटोग्राफर र कलाकारको संयुक्त पहल छ। अहिले यो स्कुलमा विकट हिमाली जिल्लाका दुई सयजना विपन्न बालबालिका अध्ययनरत छन्। तिनको सम्पूर्ण व्यवस्थापन उनैले गरेका छन्।

गुरु रानागको जन्म डोल्पा लोरी गाउँ–२ मा भएको हो। सन् १९७३ मा बाबु नोर्बु गुरुङ र आमा बोम्पोचोक गुरुङको कोखबाट उनको जन्म भएको थियो। उनी सानैदेखि तीक्ष्ण थिए। गाउँमा उनको विशेष क्षमतालाई लिएर कुरा हुन्थ्यो। त्यहाँको प्रसिद्ध प्राचीन यात्सेर गुम्बाका पाचौं अवतारी लामा उनलाई ‘डोल्पो बुद्ध’का रूपमा श्रद्धा गरिन्छ। उनले सम्पूर्ण जीवन बुद्ध दर्शन अध्ययनमा लगाए। शिक्षाबाट मानव जीवनलाई सकारात्मक बाटोमा डो¥याउन सकिने उनको विश्वास छ।

सन् १९८७ मा प्राथमिक तहको धार्मिक पढाइ पूरा गरेपछि सन् १९८७ मा बुद्ध धर्म अध्ययन गर्न उनी काठमाडौं आएका थिए। उनले यहाँ आफ्ना गुरुबाट बुद्ध धर्मबारे धेरै जान्ने मौका पाए। उनले सूत्र, तन्त्र र जोग्चेन विज्ञानबारे जान्ने मौका पाए। सन् २००२ देखि विश्वका विभिन्न देश घुमे। ताइवान सरकारले उनलाई सम्मान नै ग¥यो। अदृश्य क्षमतामार्फत जनताको कल्याण गरेको भन्दै उनलाई ताइवान सरकारले सम्मान गरेको हो।

विश्वशान्ति र सद्भावका पक्षमा उनले विभिन्न धार्मिक क्रियाकलाप गर्दै आएका छन्। एसिया, युरोप, अमेरिकालगयात देशमा उनका विद्यार्थी छरिएर रहेका छन्। सन् २००२ मा उनले स्नोल्यान्ड रानाग लाइट अफ एजुकेसन स्कुल (एसआरएलईएस) काठमाडौंमा स्थापना गरे। हिमाली क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणको शिक्षा, स्वास्थ्य क्षेत्रमा सुधार गर्ने उनको उद्देश्य छ। विद्यालयले दयनीय अवस्थामा रहेका बालबालिकालाई शिक्षा दिन्छ।

यो मानवीय र आध्यात्मिक दुवै दृष्टिले मूल्यवान् छ। यहाँ अध्ययन गरिरहेका प्रायः सबै विद्यार्थी हिमाली भेगमा दयनीय र कष्टकर जीवन गुजारिरहेका परिवारमा जन्मिएका हुन्। स्नोल्यान्ड नाफामुखी नभई सेवामुखी स्कुल हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.