एनसीएचएलले गर्यो नेप्सलाई प्राप्ति
काठमाडौं : नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले भुक्तानी सेवा प्रदायक नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम्स (नेप्स) लाई प्राप्ति गर्ने भएको छ।
उक्त कम्पनी एक हुने सम्झौता गत चैत २३ गते भएको थियो। सम्झौताअनुसार दुई कम्पनीले आजदेखि एकीकृत कारोबार सुरु गरेका छन्। एनसीएचएलमा १० प्रतिशत स्वामित्व रहेको राष्ट्र बैंकले उक्त कम्पनीनी गाभिएर एकीकृत हुनेबारे आइतबार सूचना सार्वजनिक गर्दै जानकारी दिएको हो।
नेपाल राष्ट्र बैंकले दुई संस्था गाभिन भन्दै आएको थियो। केन्द्रीय बैंकले भुक्तानी फर्छ्यौट विनियमावली २०७७, यसकै पहिलो संशोधन २०८० मा भुक्तानी सेवा प्रदायक कम्पनीहरूलाई मर्जर तथा प्राप्तिमा लैजाने व्यवस्था गरेको थियो।
सोही व्यवस्थाअनुसार कम्पनी गाभिन बाध्य भएका हुन्। यससँगै एनसीएचएललले नेशनल पेमेन्ट गेटवेको मेन स्वीच पनि सञ्चालन गर्ने भएकाले पनि एक हुन जरुरी थियो। अझ एनसिएचएलले आफ्नै कार्ड पनि जारी गर्ने तयारी गरिरहेकाले नेप्सलाई गाभ्न आवश्यक रहेको हो।
दुवै संस्था राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त गरी सञ्चालित थिए। यी दुई संस्था बैंक वित्तीय संस्थाबाट प्रवर्द्धन भएका हुन् । एनसीएचएलले कार्ड बाहेकका विभिन्न विद्युतीय भुक्तानी प्रणाली, पूर्वाधार लगायतमा सेवा दिएको छ।
यस्तै, नेप्सले हालसम्म विभिन्न कार्ड स्किमका लागि कार्ड स्बीचको पूर्वाधार विस्तार गरी बैंक वित्तीय संस्थालाई सेवा प्रदान गर्दै आएको थियो। दुई संस्था एक हुँदा विद्युतीय भुक्तानी पूर्वाधारको विकास तथा यसको प्रयोग वृद्धि गरी डिजिटल नेपालले परिकल्पना गरेको उक्त क्षेत्रलाई आधुनिकिकरण तथा अन्तरआबद्धता कायम गर्न र यस सम्बन्धी दूरगामी परियोजनाको सफल कार्यान्वयनका लागि राष्ट्रिय भुक्तानी स्वीच लगायतका थप पूर्वाधारहरू विस्तार गर्न सहयोग हुने अपेक्षा राष्ट्र बैंकले गरेको छ।
प्रतिक्रिया दिनुहोस !