हराएको मुनामदन

हराएको मुनामदन

जब मामाघरको हजुरआमा खस्नुभएको समाचार सुनें, तब मनमा अपार शून्यता छायो। उहासँग बिताएका अतीतका समय झलझली सम्झिन थालें। विगतका सम्झनाका उतारचढावले मस्तिष्क रन्थन्याइदिए। जीवनको बलियो खम्बा ढलेझैं लाग्यो। ती दिनको यादले मनमा नियास्रो लागिरह्यो। ती दिनले मेरो जीवनलाई राम्रो पाठ सिकाएका थिए।

पचासको दशकतिर बाल्यकालका केही समय मामाघरमा बिताउने अवसर पाएको थिएँ। मेरी हजुरआमा अगाडिकै महिला भए पनि अक्षर फुटाउन सक्नुहुन्थ्यो। उहाँकै पछिपछि बस्तु हेर्न जंगल जान्थें। ठूलो ढुंगा भएको ठाउँ खोजेर दुवैजना बस्थ्यौं। उहाँ पोल्टाबाट किताब निकाल्नुहुन्थ्यो।

किताबको अगाडि ‘मुनामदन’ लेखिएको हुन्थ्यो। त्यति बेला भर्खरभर्खर पढाइप्रतिको चेतना पलाउँदै थियो मभित्र। राम्रोसँग अक्षर पढ्न सक्ने भएकै थिइनँ। लक्ष्मीप्रसाद देवकोटा लिखित उक्त खण्डकाव्यका लय हजुरामा भाका हालीहाली सुनाउनुहुन्थ्यो। म आनन्द मानेर सुन्थेँ।

अहिले सम्झिन्छु, तेह्रथुम जिल्लाको सदरमुकाम म्याङलुङसँग जोडिएको साविक साब्ला गाविसको त्यही जंगलमा डा. अभि सुवेदीले बाख्रा चराउँदै आफ्नो सुनौलो बाल्यकाल बिताउनुभएको थियो। र, विद्वान् हुने सपना देख्नुभएको थियो। लट्टेबारी स्कुलमा पढ्न जानेआउने क्रममा वरपीपल चौतारीमा शीतलताको आनन्द लिँदा भविष्यको सपना देख्नुभएको थियो।

अनि सायद पुण्यप्रसाद सुवेदीले त्यही ढुंगामा बसेर ‘साँघुरी बारी नि हौ जोरधारा पानी, घुमाईमा घुमाई घुम बुन्ने दाजु, शीतलुमाथि नि’देखि अन्य चर्चित लोकगीत संकलन गर्नुभएको थियो। लेखक सूर्य सुवेदी पनि त्यही माटोमा हुर्किनुभएको थियो। त्यसैले त्यो पर्यावरण सम्झिँदा मलाई गौरव अनुभव हुन्छ।

हजुरआमाले गीतको भाकामा मुनामदन सुनाउँदा एकदम मन परेको थियो। महान् प्रेमीप्रेमिका कस्ता थिए भन्ने प्रश्नले मेरो बाल्यमस्तिष्कलाई घरिघरि घच्घच्याइरहन्थ्यो। त्यो कृतिभित्रको गीतिकथा सुनेर मेरो कलिलो मस्तिष्कले त्यसभित्रका पात्रको तस्बिरको खाका बनाउँथ्यो। त्यो प्रेमकाव्यले मेरो बाल्य मानसिकतामा गम्भीर प्रभाव पारेको थियो।

आफूलाई पनि त्यसैगरी लयात्मक ढाँचामा त्यो महान् प्रेमकथा पढ्न मन लाग्यो। हजुरआमासँग किताब मागें र जानीनजानी पढ्न थालेँ। तर, जंगलमा बाख्रा खेद्दै गर्दा त्यो किताब हरायो। जति खोजे पनि भेटिएन। हजुरखामाले साह्रै्र नरमाइलो मान्नुभयो। मैले पनि खिन्न अनुभव गरेँ। पछिसम्म पनि खोज्यौं तर भेटिएन।

मुनामदन हराएको केही समयपछि म जन्मथलो आठराई फर्किएँ। द्वन्द्वकाल थियो। ०५८ सालमा एसएलसी दिन म्याङलुङ जानुपर्ने भयो। म मामाघरमै बसेँ। हजुरआमालाई नयाँ मुनामदन किनेर दिएँ। उहाँले आँखाबाट बरर्र आँसु झार्नुभयो र भन्नुभयो, ‘कति सम्झिएकी नानी !’ मेरा पनि आँखा आँसुले भरिए। उहाँले किताबलाई जिन्दगीकै महŒवपूर्ण चीज ठानेर प्रेमपूर्वक सुम्सुम्याउनुभयो।

समयको प्रवाहसँगै मामाघर जाने क्रम पातलिँदै गयो। मेरो बिहे भयो। ११ महिनाको बच्चा च्यापेर १० वर्षपछि मामाघर पुगेँ। बाटोघाटोदेखि धेरै कुरा परिवर्तन भएको थियो। सायद हजुरआमाले म आएको देख्नुभएछ। परबाटै हेरिरहनुभयो। उहाँको छेउ पुग्दा भक्कानो छुटिसकेको थियो। हामी दुवैको रुवाबासी मच्चियो। नजिकको मान्छे भेट्दा वेदनाको अनुभव हुँदो रहेछ।

हजुरआमा पनाति देखेर मक्ख पर्नुभयो। उहाँलाई मुनामदनबारे सम्झाएँ। उहाँले मेरो हात समाएर आफनो पूजा कोठामा लानुभयो। त्यहाँ भगवान्का तस्बिर, मृत हजुरवुबाको तस्बिर अनि धार्मिक किताब थिए। ती किताब रातो कपडाले बेरेर राखिएको थियो। माथिल्लो पंक्तिमा मुनामदन थियो।

किताब पसलमा मुनामदन देख्दा म बाल्यकालतिर फर्किन्छु। त्यही किताबको प्रभावले मैले सपना देखेको थिएँ।               

मनमनै आश्चर्यचकित भएँ, ‘८० वर्षकी वृद्धालाई देवकोटाको यो किताबले कति धेरै प्रभावित बनाएछ।’ यही मौकामा हजुरआमाले एउटा धार्मिक किताब निकाल्नुभयो र केही पंक्ति भाका हालेर पढ्नुभयो। आँखा आँसुले भरिए। आमाको बारेमा वर्णन थियो त्यहाँ। मैले मन परेर डायरीमा सारिहालें।

बच्चा च्यापेर पनि भ्याएजति मावली गाउँ घुमेँ। डा. अभि सुवेदीको घर पुगेँ। लेखक तथा लोकगीत संकलक पुण्यप्रसाद सुवेदीको झिँगटी लगाएको घरमा पुगेर उहाँको काव्यिक इतिहास सम्झना गरेँ। त्यहाँका अधिकांश सुवेदीका घरमा बुट्टेदार झिँगटीका छाना हुन्थे। अनि छानामाथि घाम, जूनतारा, चरा, फूल आदिका चित्र कुँदिएका हुन्थे। ती चित्रहरू कलात्मक थिए।

पोखरीबाट बगेको ढुंगेधाराको चिसो पानीसँग खेलेँ। बाख्रा चराउँदा मुनामदन पढेको ढुंगामा बसेर चञ्चल बाल्यकाल सम्झिएँ। तर, त्यहाँको स्वर्गीय आनन्द बटुल्न मसँग समय कम थियो। एक हप्ता बसेपछि फर्किने समय आयो।

हिँड्ने बेला मुनामदनकै किताबभित्रबाट एक हजारको नयाँ नोट हातमा थमाउँदै भन्नुभयो, ‘नानी तँलाई बाटो खर्च ! तल बाटोमा गाडीको हर्न बज्दैथ्यो। म त्यो विछोडमा आँसुसरी भएँ। संसार यस्तै छ नानी। आफ्नो नाम अमर बनाउनु।’ हजुरआमाका आँखाबाट पनि आँसुका धारा छुटे। त्यो न्यानो अँगालोबाट जबर्जस्ती छुटेर गाडी चढेँ। पर पुग्दासम्म हात हल्लाएँ। हजुरआमा हेरिरहनुभएको थियो। यात्राभरि खल्लोपन छाइरह्यो।

मुनामदन मैले जीवनमा पहिलोपल्ट पढेको साहित्यिक कृति थियो। त्यही किताबका कारण मेरो यात्रा यहाँसम्म आइपुग्यो। त्यसपछि धेरै किताबसँग जम्काभेट भयो। किताब र किताबका सृष्टिकर्ताप्रति आकर्षण बढ्यो। आफू पनि केही बन्ने सपनाले पछ्याइरह्यो। त्यो बालापनको सम्झनामा जरा गाडेर बसेको मुनामदनले किताबको संसारमा रम्ने प्रेरणा दिइरह्यो।

मस्तिष्कमा पहिलोपल्ट परेको छापले बाँचुन्जेल पछ्याउँदो रहेछ। पुस्तक पसलमा त्यो किताब देख्दा म बाल्यकालतिर फर्किन्छु। त्यही किताबको प्रभावले मैले सपना देखेको थिएँ। त्यही सपनालाई अहिले मलजल गरेर फलाउने कोसिसमा छु। बालापनको त्यही खाकालाई वास्तविकतामा उतार्ने कोसिस गरिरहेकी छु।

मैले थाहा पाउँदा हजुरआमाको शिरमा सिन्दूर र गलामा पोते थिएनन्। साधारण थियो लवाइखवाइ। व्रत, पूजापाठ, धार्मिक किताब पढिरहने बानी थियो। आफैं पकाएर खाने चलन थियो, त्यसलाई नेपाली भाषामा स्वयंपाके भन्छन्। यस्तो नीतिनियममा बाँधिएकी वृद्ध हजुरामा मेरो जीवनको अध्याय बन्नुभएको छ। हजुरामा सुगर र प्रेसर बढेर साह्रै बिरामी भएको खबर सुनेँ। भेट्न जाने साइत जुरेन। मृत्युको खबर सुने पनि अन्तिम भेट गर्न सकिनँ। हजुरआमाले अन्तिम पटकको भेटमा पढेर सुनाएका केही श्लोक सम्झन्छु—

माता समान तीर्थ कुनै हुँदैनन्

देउता पनि जननीतुल्य बडा हुँदैनन्

माता छँदा घर तपोवनतुल्य हुन्छ

माताबिना परमशून्य उराठ हुन्छ।                           

बूढाबूढी समाजका गहना रहेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.