नीतिगत त्रुटिका कारण सरकार प्रभावकारी भएन : कमल थापा
पाँचथर : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा एकदलीय सर्वसत्तावादको संकेत देखिन थालेको दावी गरेका छन्। पाँचथर सदरमुकाम फिदिममा आइतबार पत्रकारसँग अध्यक्ष थापाले आफ्नो पार्टी सर्वसत्तावादको विरुद्ध लड्न तयार रहेको बताए।
राज्यसंयन्त्रलाई पार्टीकरण गर्नु, पत्रकारहरूलाई अंकुश लगाउनुले यो सरकार सर्वसत्तावाद लाद्न उद्दत रहेको थापाको बुझाई छ। विचार मिल्ने पार्टीहरूसँग एकीकरण गरी एकढिक्का भएर सर्वसत्तावादविरुद्ध लड्ने उनको भनाई थियो।
थापाले देशमा धार्मिक युद्धको खतरा बढेको दावी गरे। दुई तिहाइको सरकार भएर पनि जनतालाई परिवर्तनको अनुभूति नहुनु दुर्भाग्य भएको भन्दै थापाले नीतिमा सुधार नल्याई कसैले पनि देशलाई निकाश दिन नसक्ने बताए। ‘यो या त्यो दल भन्दा पनि नीतिगत त्रुटिकै कारण सरकारले प्रभावकारी काम गर्न नसकेएको हो,’ थापाले भने ‘त्रुटिपूर्ण नीतिलाई सुधारे मात्र देशले निकाश पाउन सक्छ।’
राजतन्त्र सहितको लोकतन्त्रले मात्र देश समृद्ध हुने थापाको तर्क छ। ‘यस्तै हो भने देश विखण्डनतर्फ जाने निश्चित छ,’ थापाले भने ‘विखण्डनकारी शक्तिहरू क्रमश बलिया भइरहेको सरकारले चाँडै ध्यान पुर्याउनुपर्छ।’