सुके रूखपात
गाईघाट : रूखपात हरियो हुने सिजनमै सुक्न थालेपछि उदयपुरका स्थानीय अचम्मित भएका छन्। महाभारत क्षेत्रका राष्ट्रिय तथा सामुदायिक वनका रूखमा समस्या देखिएको हो। सिपाही किराको आक्रमण भएको हुन सक्ने सरोकारवालाको अनुमान छन्। यो किराले पात खाने र मोड्ने गरेका कारण रूख सुकेको हुन सक्ने डिभिजन वन कार्यालय गाईघाटका प्रमुख विष्णु आचार्यले बताए। भने, ‘प्रारम्भिक अवस्था हेर्दा किराकै कारण रूख सुकेको हुन सक्छ।’
उनका अनुसार अग्लो स्थानका वनमा बढी सुकेको जानकारी आएको छ। टोली परिचालन गरी अनुसन्धान गरिरहेको उनले सुनाए। डिभिजन वनले मन्त्रालय, विभाग र केन्द्रीय अनुसन्धान केन्द्रलाई यसबारे जानकारी गराएको छ। ‘यसको बारेमा अध्ययन भइरहेको छ’, उनले भने।
सुक्खा याममा पानीको स्रोत सुक्दा वनमा समस्या हुने गरेको थियो। तर, वर्षात्कै समयमा पनि समस्या देखिनु अनुसन्धानको विषय रहेको वन प्राविधिक नेत्र रेग्मीको भनाइ छ। उनका अनुसार वन क्षेत्रमा पर्याप्त चिसो रहेकाले रूख सुक्नुपर्ने अवस्था छैन। वन विनास हुने सम्भावना बढेको जानकार बताउँछन्। यसको रोकथाम, नियन्त्रण र उपचार समयमै नगरे वन सखाप हुने सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष कुशलबाबु बस्नेतले सुनाए।
डिभिजन वन कटारीका प्रमुख दानबहादुर श्रेष्ठले ढुसी किराले एकै पटक ठूलो संख्यामा रूख सुकाउन सक्ने बताए।