‘लेडी डन’ मायाको जाल : पेस्तोल व्यवस्थापनदेखि सुटरलाई सेल्टरसम्म
काठमाडौं : नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनमाथि गोली प्रहार गरी हत्या गरेको घटनामा प्रहरीले गुन्डा नाइके समिरमानसिंह बस्न्यातकी पत्नी माया शेरचन बस्नेतलाई पक्राउ गरेको छ । गौचन हत्याका लागि ‘सार्पसुटर’ अम्बर बहादुर रानालाई हतियार व्यवस्थापन गरेको अभियोगमा माया पक्राउ परेकी हुन्।
महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार गत साता पक्राउ परेका रानाले गौचन हत्याका लागि मायाले नै पेस्तोल उपलब्ध गराएको बयान दिएपछि उनलाई थप अनुसन्धान गर्न नियन्त्रणमा लिइएको हो।
यसअघि २०७३ पुस ४ गते रुपन्देही देवदहका एमालेनिकट युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्या हाल पक्राउ परेका लोप्साङ लामाले गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। तत्कालीन समयमा पनि समिरमानकी पत्नी मायाले नै लोप्साङलाई हतियार व्यवस्थापन गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
आइतबार अपरान्ह महाशाखाले स्वयम्भू सानो भ¥याङस्थित घरबाट मायालाई प्रहरीले पक्राउ गरेको हो। भारतमै आपराधिक सञ्जाल विस्तार गर्ने तरखरमा रहेका समिरमानले गौचन हत्याका लागि रानालाई काठमाडौं पठाएका थिए।
महाशाखाका अनुसार गत असोज २२ गते रानाले पेस्तोल पाएका थिए मायामार्फत। २३ गते शान्तिनगरमा गाडीमा सवार गौचनमाथि गोली प्रकार गरेर रानाको समुह केही समय भारतमा लुकेर बसेका थिए।
काठमाडौंमै रहेका बेला समिरमानको समुह रोशन बुढाथोकी, राना, श्याम गुम्बी र अजय थापालाई समिरमानको बाफलस्थित घरमा मायाले शरण दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । महाशाखाका अनुसार भारतमा रहेका बेला समिरमान र उनको समुहलाई मायाले विद्यार्थीमार्फत पैसा पठाउने गरेको रहस्य खुलेको छ ।
महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धीरजप्रताप सिंहका अनुसार २०७३ चैत २९ मा गौरीघाटस्थित दिव्या पार्टी प्यालेसमा गुन्डा नाइके दाबा लामामाथि गोली प्रहार गरिएको घटनामासमेत मायाले नै रानालाई पेस्तोल दिएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।
‘गौचन हत्यामा संलग्नलाई पक्राउ गरेर थप अनुसन्धान गर्दा हतियार व्यवस्थापनदेखि हत्या आरोपीलाई सेल्टर दिने काममा मायाको भूमिका शंकास्पद देखियो, ‘एसएसपी सिंहले अन्नपूर्णसँग भने, ‘जघन्य अपराधमा मायाको भूमिका क्रुर देखिएकाले अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौं ।’
समिरमानका बाबु दरबारमा काम गर्ने बेला ल्याएको हतियार नै गौचन हत्यामा प्रयोग भएको प्रहरी दाबी छ । गौचन, लामा र तिवारीमाथि गोली प्रहार गर्न छुट्टाछुट्टै हतियार प्रयोग भएको देखिन्छ ।
प्रहरीले गौचनमाथि गोली हान्न प्रयोग गरिएको पेस्तोल यसअघि नै बरामद गरिसकेको छ । रानाले प्रहरीलाई दिएकाो बयान अनुसार गुन्डा नाइके दिनेश अधिकारी ‘चरी’ माथि गोली प्रहार गर्दा पनि समिरकै पेस्तोल प्रयोग भएको थियो ।
समिरमानलाई नख्खु कारागारमा राख्दा मायाको भेट बाक्लै थियो । प्रहरीले समिरले प्रयोग गर्ने फोनको कल डिटेल हेर्दा केही प्रहरी अधिकारीसँगसमेत उनको नियमित सम्पर्क देखिएको स्रोतले जनाएको छ ।
‘केही प्रहरी अधिकारीसँग समिरमानको राम्रै उठबस देखिएको रिर्पोट प्रहरी मुख्यालयमा पुगिसकेको छ’, स्रोतले भन्यो, ‘आइजीपी साबले एक्सन लिन सक्छन् ।’ जेलबाटसमेत अपराध सञ्जाल बुन्नसक्ने देखिएपछि प्रहरीकै सिफारिसमा गृह मन्त्रालयले समिरमानलाई मुस्ताङ कारागार सरुवा गरेको हो ।