रोटी र मिठाईको पर्व तिहार
पसलमा भीड छ। साहुजीलाई पैसा गन्न भ्याइनम्याइ छ। उनलाई कसैसँग प्रश्नोत्तर गर्ने पनि फुर्सद छैन। यो एउटा मिठाई पसलको दृष्य हो। तिहारमा मिठाईको खपत अत्यधिक हुन्छ। यसलाई मिठाई खपत हुने पर्व पनि भन्छन्। खाना खाइवरी र शुभ अवसरमा मिठाई सेवन गर्ने नेपाली संस्कृति छ।
मिठाई र रोटीबिना चाडबाड खल्लो मानिन्छ। चाडबाडको समयमा मासुसँगै मिठाईको कारोबार पनि उच्च हुन्छ। यस समयमा अन्यभन्दा चार गुणासम्म बढी मिठाईको माग हुन्छ। यसबेला थरिथरीका मिठाई बजारमा पाइन्छन्। जेरी अर्थात जलेवी र जिल्फी, चकलेट बर्फी, पेडा, बेसनको लड्डु, मोतिचुडको लड्डुु, सुजीको लड्डु, मुंगको लड्डु, नरिवलको लड्डु, मसला लडडु, केसरी पेडा, रसवरी, रसगुल्ला, लालमोहन, गुलाव जामुन, क्रिम मिठाई, काजुको मिठाईलगायत छन्। यस्तै कलाकन्द, काजुको बर्फी, कालो जामुन, दूध रावडी, दूधवरी, रस मलाई, गाजरको हलुवा, मुम्बई बदामी हलुवा, सनपापडी, घेवर, काजु कमल, खोया बदाम, राजभोग, बालु शाही, चन्द्रकलालगायत मिठाई पनि दसैंदेखि छठसम्म अत्यधिक परिमाणमा बिक्री हुन्छ।
यसबाहेक नेपालको आफ्नै मौलिक परम्परा बोकेको जुजु धौ, अनर्सा, ऐठेमरी, लखामरी र गुदपाक पनि निकै बिक्री हुन्छ। उपभोक्ताको स्वाद र छनोटअनुसार विभिन्न स्वादका मिठाई पनि बजारमा उपलब्ध छन्। मिठाई थोरै उपभोग गर्दा स्वास्थ्यका लागि राम्रो मानिन्छ भने बढी गर्दा अमन हुने र स्वास्थ्लाई पनि हानी गर्छ।
पछिल्लो समय बजारमा स्वदेशीभन्दा आयातित मिठाईको हिस्सा बढी छ। बाम्बिनो, बिकाजी, बिकानो, हल्दिराम, गुलाव, सजनगोठ, पतञ्जलीलगायत भारतीय उद्योग ब्रान्डसहित मिठाई पनि नेपाली बजारमा उपलब्ध छ। अहिले नेपाल र भारतीय मिठाईसहित बजारमा सन् २०१० देखि संगम स्वीट्समा उपस्थित छ। यस्तै भारतको प्रसिद्ध बिकानेर कम्पनीले नेपालमा पशुपति फुड्ससँगको सहकार्यमा आँगन ब्रान्डमा मिठाई उत्पादन र बिक्री गर्दै आएको छ।
आँगनले अनलाइनमार्फत अर्डर लिएर घर घरमा मिठाई पुर्याउने सुविधा उपलब्ध गराउदै आएको छ। सन् २००१ देखि काठमाडौंमा मिठाईको कारोबार सुरु गरेको अर्को ब्रान्ड हो, रामेश्वरम्। यसले पनि अनलाइनमार्फत अर्डर लिएर उपभोक्ताको घरदैलोमै मिठाई उपलब्ध गराउने योजना सुरु गरेको छ।
विदेशी ब्रान्डसहित स्वदेशी पनि व्यापारिक प्रतिष्ठान राम भण्डार, श्याम भण्डार, बागमती स्विट्स, अनमोल स्विट्ससहित केही प्रमुख डेरी उद्योगले पनि विभिन्न प्रकारका मिठाई उत्पादन गर्दै आएका छन्। नेपाल डेरी प्रालिले ‘एनडीएस’ ब्रान्डमा र नेपाल दुग्ध विकास संस्थान (डीडीसी) ले विभिन्न प्रकारका मिठाई उत्पादन गर्छ।
बजार मागलाई हेरेर चाडबाडमा केही स्वदेशी व्यापारिक प्रतिष्ठान राम भण्डार, श्याम भण्डार, वागमती स्विट्स, अनमोल स्विट्ससहित केही प्रमुख डेरी उद्योगले पनि विभिन्न प्रकारका मिठाई उत्पादन गर्दै आएका छन्। नेपाल डेरी प्राइभेट लिमिटेडका निर्देशक अरनिको राजभण्डारीका अनुसार दसैं, तिहार, आमाको मुख हेर्ने दिन, दर खाने दिन, वैशाख १ गते पनि मिठाईको माग बढ्छ। सामान्य अवस्थाभन्दा यी दिनमा मिठाई पसलमा विहानैदेखि भीडभाड हुन्छ। तर, यसकै लागि थप कामदार ल्याउन नसकिने भएकाले पसलको व्यवस्थापन गर्न हम्मे हम्मे पर्छ।
भारतीयको तुलनामा नेपाली मिठाई गुणस्तरीय रहेको अनिल राजकर्णिकारको भनाइ छ। नेपाली मिठाई भन्नेबित्तिकै नाक खुम्च्याउने र आयातित मिठाई भनेपछि मुख मिठ्याउने नेपालीको बानीका कारण नेपाली मिठाईले विस्तारै बजार हिस्सा गुमाउँदै गएको उनको कथन छ। तर, पछिल्लो समय राजकर्णिकारले स्वदेशी मिठाईको स्तर सुधार गरेर ब्रान्डिङ गरी विदेशमा समेत पठाउन थालेका छन्। उनी भन्छन्, ‘राज्यले स्वदेशी उत्पादनलाई प्रोत्साहन नदिएकाले हाम्रो पुर्खौली पेसा विस्थापित हुने अवस्थामा छ।’
मिठाईको इतिहास
मल्लकालमा बैंगलोरको त्रिपुरासुन्दरीबाट मछिन्द्रनाथसँगै मिठाई बनाउने हलुवाई भित्रिएको इतिहास छ। तिनै हलुवाई कालान्तरमा राजकर्णिकारमा परिणत भए। राजकर्णिकारको रूपमा परिणत भएका हलुवाईबाट सुरुआत भएको मिठाई बनाउने र बिक्री गर्ने परम्परा अहिले पनि उपत्यकामा जीवितै छ। राजकर्णिकारले राजस्थानबाट थप कामदार भित्र्याइ मिठाईको कारोबार सुरु गरेका थिए।
अनिल राजकर्णिकारका अनुसार मल्लकालीन समयमा दरबारमा दैनिक हुने पूजा र शुभ कार्यमा राजकर्णिकारले तयार पारेको लखामरी, ऐठन, अनर्सा, मालपुवा, हलुवा, गुआरामारीलगायत ३२ प्रकारका मिठाई प्रयोग हुने चलन थियो। राजकर्णिकारले मरु टोल, पाटन, भक्तपुर, ललितपुरलगायत स्थानबाट नेपाली संस्कृति झल्कने मिठाईको कारोबार गरेको मानिन्छ। त्यसपछि राणाकालीन समय र शाहवंशीय समयमा पनि राजकर्णिकारकै मिठाई दरबारमा प्रयोग हुन्थ्यो। तत्कालीन राजा महेन्द्र, वीरेन्द्र, ज्ञानेन्द्रको समयमा पनि दरबारमा राजकर्णिकारकै स्वादिलो मिठाई पस्किने चलन थियो। नारायणहिटी दरबारमा मिठाई तयार पार्ने स्थान नै छुट्टयाइएको थियो।
समय परिवर्तनसँगै राजकर्णिकार परिवारकै खलकले पछि गएर थापाथलीमा राम भण्डार, श्याम भण्डार, टेकुमा काष्टमण्डप भण्डारलगायत करिब एक दर्जन परिवारले मिठाई बनाउने काम गर्दै आएका छन्। ‘उहिले हामीले तयार पार्ने मिठाई मात्रै बजारदेखि दरबारसम्म खान पाइन्थ्यो’, अनिलराज भन्छन्, ‘तर यो दिनसम्म टिक्न सकेन। हाम्रो परिवारका धेरै सदस्य यो पेसाबाट पलायन मात्रै भएनन्। बिदेसिए। त्यसपछि भारतबाट नेपाल आउने उच्च ओहोदाका व्यक्ति उतैबाट मिठाई बोकेर ल्याउन थाले। भारतीय मूलका कूटनीतिज्ञ, व्यापारी, कामदार घनत्व बढ्दै गएपछि विस्तारै भारतीय मिठाईको माग बढ्दै गयो। माग बढ्दै गएपछि भारतका प्रख्यात औद्योगिक घरानाबाट मिठाईको आयात हुन थालेको हो।’
भारतीय ब्रान्डको दबदबा
राजधानीमा परम्परागत मिठाई पसल बन्द हुँदै छन्, भारतीय ब्रान्डका फ्रेन्चाइजको विस्तार तीव्र छ। भारतीय राजस्थानी र मारवाडी घराना समूह बिकानेरवाला, बाम्बिनो, गंगोर, रामेश्वर, बिकाजी, हल्दिराम, गुलाव, सजनगोठ, संगम स्विट्स, पशुपति फुड्सको आँगनलगायत एक दर्जन उद्योगको फ्रेन्चाइज अहिले दर्जनौंको संख्यामा सञ्चालनमा छन्।
यस्ता ब्रान्डेड मिठाई सोरुमबाट जेरी अर्थात् जलेवी र जिल्फी, चकलेट बर्फी, पेडा, बेसनको लड्डु, मोतिचुड्को लड्डुु, सुजीको लड्डु, मुंगको लड्डु, नरिवल लड्डु, मसला लड्डु, केसरी पेडा, रसवरी, रसगुल्ला, लाल मोहन, गुलाव जामुन, क्रिम मिठाई, काजुको मिठाईलगायत छन्। यस्तै कलाकन्द, काजुको बर्फि, कालो जामुन, दूध रवडी, दूधवरी, रस मलाई, गाजरको हलुवा, मुम्बई बदामी हलुवा, सनपापडी, घेवर, काजु कमल, खोया बदाम, राजभोग, बालु शाही, चन्द्रकलालगायत मिठाई बिक्रीवितरण हुँदै आएको छ।
मिठाई खाँदा होस गरौँ
मिठाईलाई स्वास्थ्य, व्यायामअनुसार ठिक्क खाए स्वास्थ्यवद्र्धक हुन्छ, विचार नगर्दा हानि गर्छ। देशमा प्रतिव्यक्ति प्रतिदिन ०.५५ प्रतिशतको हाराहारीमा मिठाई उपभोग गर्दै आएका छन्। मिठाई नियमित रूपमा थोरै परिमाणमा खाँदा स्वास्थ्यका लागि फाइदा मानिए पनि एकै दिन बढी परिमाणमा खाँदा ठूलो नोक्सानी गर्न सक्ने विज्ञ बताउँछन्। मिठाई खाइसकेपछि कम्तीमा एक घण्टा व्यायाम गर्नुपर्ने विज्ञको सुझाव छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णका अनुसार मिठाई, खाना, रक्सी, तरकारी र मासु सकेसम्म सँगसँगै खानु हुन्न। मिठाई खाँदा शरीरले क्यालोरी ठूलो परिमाणमा पाउने तर पेट नभर्ने समस्या हुन्छ। यस्तो अवस्थामा केही समयपछि विभिन्न प्रकारका खाना उपभोग गर्दा शरीरमा आवश्यकभन्दा थप परिमाणमा क्यालोरी थपिन्छ। ‘यसले गर्दा मोटोपना हुनसक्छ’, उनी भन्छन्, ‘मिठाईमा अत्यधिक परिमाणमा चिनी, घिउ र तेल प्रयोग हुन्छ। यसले गर्दा क्यालोरी पनि उच्च परिमाणमा पाइन्छ। मोटोपना र सुगरको बिरामीले सकेसम्म मिठाईको प्रयोगबाट टाढै बस्नुपर्छ। खानै मन लाग्यो भने एक दुई पिस खाएर मज्जाले व्यायाम गर्नुपर्छ।’
मिठाईमा फाइबर पनि निकै कम भएकाले यसको सेवनपछि कब्जियत हुने समस्या प्रवल हुन्छ। मिठाई खानेबित्तिकै ग्लाइसेमिक इन्डेक्स (खाइसकेपछि रगतमा चिनीको मात्रा मापन गर्ने आधार) तत्कालै उच्च गतिमा बढ्ने भएकाले मधुमेह हुने सम्भावना पनि त्यत्तिकै हुन्छ। बजारमा पाइने रंग प्रयोग भएका रंगीचंगी र चाँदीको वर्कले सजाइएका मिठाईबाट पनि सकेसम्म टाढै बस्नुपर्ने कर्णको सुझाव छ। बालबालिकालाई मिठाई सेवन गरिसकेपछि तत्कालै मुख सफा गर्नु लगाउनुपर्छ।
गुणस्तरहीन मिठाईबाट जोगियौं
मिठाई विश्वासिलो पसलबाट मात्रै मिठाई खरिद गर्नुपर्ने विज्ञहरूको सुझाव छ। नक्कली मिठाईको सेवनबाट ज्यान पनि जान सक्ने सम्भावना हुन्छ। तिहारमा बासी, सडेका र मिसावट भएका खुवाको मिठाई बनाएर बिक्री गर्ने अत्यधिक सम्भावना हुन्छ। यसका साथै नक्कली घिउ र तेलमा तारेर अखाद्य रंगको प्रयोग तथा चाँदीको वर्क हालिएको रंगिचंगी स्वादिला मिठाईले पनि मानव स्वास्थ्यलाई दीर्घकालीन रूपमा ठूलो असर पुर्याउन सक्छ।
यस्तै नक्कली दूधबाट निर्मित खुवाको मिठाई अस्वस्थ्यकर हुन सक्छ। वरिष्ठ खाद्य वैज्ञानिक डा.दिलीप सुब्बाका अनुसार मिठाईलाई आकर्षक बनाउन प्रयोग हुने चाँदीको वर्क मानवस्वास्थ्यका लागि हानिकारक मानिन्छ। चाँदीको वर्क लागेको (मिठाईको माथिल्लो तहमा लगाइएको सेतो टल्कने जलप) मिठाई सेवन गर्न नहुने उनको सुझाव छ।
आल्मुनियम सस्तो भएकाले चाँदी वर्कको स्थानमा व्यवसायीले आल्मुनियमको प्रयोग गर्न थालेका छन्। डा.सुब्बा भन्छन्, ‘यसले सीधै कलेजो र आन्द्रामा असर पार्छ।’ अध्ययनअनुसार चाँदी र आल्मुनियम वर्कमा निकेल, लेड, क्रोमियम र क्याडियम भन्ने तत्व पाइन्छ। यस्ता मिठाईको उपभोग गर्दा क्यान्सर, कलेजो, मृगौला र घाँटीसम्बन्धी रोग लाग्न सक्छ।