विधान टुंग्याउँदै कांग्रेस

विधान टुंग्याउँदै कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसले विधान संशोधनको काम अन्तिम चरणमा पुर्‍याएको छ। कांग्रेसको विधान संशोधन मस्यौदा समितिको सोमबार बस्ने बैठकले मस्यौदालाई अन्तिम टुंगो लगाउँदै छ। ‘देशभरबाट प्राप्त सुझावमाथि छलफल गरेर हामीले विधानको एउटा स्वरूप तयार गरेका छौं’, समिति सदस्य दिलेन्द्रप्रसाद बडुले भने, ‘सोमबार बस्ने समिति बैठकले यसलाई अन्तिम टुंगो लगाउँछ।’

संघीय संरचनाअनुसार पार्टीलाई लैजान र सांगठानिक सुदृढिकरणका लागि कांग्रेसले महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा भदौ ७ गते समिति गठन गरेको थियो। समितिले चार सदस्यीय उपसमिति (टास्क फोर्स) बनाएर निरन्तर विधान संशोधन मस्यौदा निर्माणको काम गर्दै आएको थियो।

‘उपसमितिमा कुनै पनि विवाद रहेन, यसअघि असहमति रहेका विषयलाई पनि टुंग्यायौं’, उपसमिति सदस्य रमेश लेखकले भने, ‘यसलाई अब १३ सदस्यीय पूर्ण समितिमा छलफल भएर हामी विधानलाई अन्तिम रूप दिन्छौं।’ उपसमितिले विधान मस्यौदालाई अन्तिम रूप दिएपछि आइतबार समिति सदस्यलाई अध्ययनका लागि मस्यौदा वितरण गरिएको थियो।

‘समिति सदस्यले अध्ययन गरेर मस्यौदामाथि आफ्ना राय सुझाव दिन्छन्, उहाँहरूकै सुझावअनुसार विधानमा केकति परिमार्जन गर्ने भन्ने निर्क्योल हुन्छ’, बडूले भने, ‘हाम्रो प्रयास भोलि (२० गते) बस्ने केन्द्रीय समितिमा पेस गर्ने हो।’ कांग्रेसले करिब एक महिनापछि केन्द्रीय समिति बैठक बोलाएको हो। यसअघि असोज २१ गते बसेको केन्द्रीय समिति बैठक स्थगित हुँदै आएको थियो।

समिति सदस्य प्रदीप पौडेलले पनि विधानमाथि धेरै विवाद नरहेको बताए। ‘अब ठूलो विवादको विषय केही छैन, सोमबार बस्ने बैठकले मस्यौदालाई फिनिसिङ गर्ने काम गर्छ’, उनले भने। केन्द्रीय समिति बैठकमा मस्यौदा पेस गर्ने गरी नै आफूहरूले विधानको टुंगो लगाउने उनले जनाए।

विधान निर्माणको काम अन्तिम चरणमा पुगेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

१२५ सदस्यीय कार्यसमिति

विधान संशोधन मस्यौदा समितिले कांग्रेसको केन्द्रीय कार्य समिति सदस्य संख्याको टुंगो लागेको छ। यसअघि समितिमा केन्द्रीय कार्यसमिति १२१ हुने कि १२५ हुने भन्नेमा कुरा मिलेको थिएन। समितिले  केन्द्रीय कार्यसमिति १२५ हुने निश्चित गरेको हो। 

उपसमितिले पदाधिकारी संख्या हालकै रहने गरी सहमति जुटाए पनि यसको अन्तिम टुंगो लगाउने जिम्मा शीर्ष नेतालाई दिएको छ। ‘हामीले पदाधिकारी संख्या यथावत् नै राख्ने सहमति गरेका छौं’, समिति सदस्य रमेश लेखकले भने। सभापति, एक महामन्त्री र कोषाध्यक्ष महाधिवेशनबाट र एक उपसभापति, एक महामन्त्री र सहमहामन्त्री भने केन्द्रीय समितिबाट निर्वाचित हुने व्यवस्था राखिएको उनले बताए।

अहिले कांग्रेसमा सभापति, एक उपसभापति, दुई महामन्त्री, एक कोषाध्यक्ष र एक सहमहामन्त्री छन्। प्रवक्तालाई पनि पदाधिकारीसरह मानिँदै आएको छ।

चारवटा संसदीय बोर्ड

कांग्रेसमा केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तह गरी चार वटा संसदीय बोर्ड हुने समिति सदस्य बडुले जनाए। संसदीय बोर्डले निर्वाचनका लागि उम्मेदवार तय गर्नेछ। केन्द्रीय संसदीय बोर्ड निर्वाचित हुनेछ। 

केन्द्रीय सदस्य र सांसद वडाबाटै निर्वाचित

समितिले सबै केन्द्रीय सदस्य, सांसद वडाबाटै निर्वाचित भएर आउनुपर्ने प्रावधान राखेको छ। यसअघि केन्द्रीय सदस्य र सांसद स्वतः महाधिवेशन प्रतिनिधि हुन पाउनुपर्ने व्यवस्था थियो।

आरक्षणमा कडाइ

आरक्षणका नाममा केही नेताले निरन्तर अवसर पाएको भन्दै पार्टीभित्र व्यापक आलोचना भएपछि समितिले यसमा कडाइ गरेको छ। अब आरक्षित (केन्द्रीय समिति वा राज्य तहमा) लगातार दुई पटकभन्दा बढी अवसर नपाउने विधानमा व्यवस्था गरिएको हो। बीचमा केही समय ग्याप भए भने फेरि आरक्षण पाउने सुविधा छ।

सदस्यता वितरणमा जोड

विधानमा सदस्यता वितरणमा जोड दिइएको छ। एकै खालको सदस्यता राख्ने व्यवस्था गरेको मस्यौदा समितिले पार्टीको सदस्यता वितरणलाई सहज बनाएको हो। यसअघि कांग्रेसमा क्रियाशील र साधारण सदस्यता प्रणाली थियो। कांग्रेसले युवालाई आकर्षित गर्न १८ देखि ३० वर्षसम्मका लागि अनलाइनबाटै सदस्यता वितरण गर्ने भएको छ।

महासमिति सर्ने


मंसिर पहिलो साता बोलाइएको कांग्रेसको महासमिति बैठक सर्ने भएको छ। विधान संशोधनमा लामो समय लागेको र छलफलका लागि पर्याप्त समय नरहेको भन्दै कांग्रेसले महासमिति बैठक सार्ने निश्चित भएको हो। मंसिर तेस्रो साता बस्ने गरी महासमिति सर्ने कांग्रेसका प्रवक्ता शर्माले बताए। ‘विधानमाथि व्यापक छलफल आवश्यक हुन्छ। त्यसका लागि पर्याप्त समय चाहिन्छ’, उनले भने, ‘दुई सातापछि हुने गरी महासमिति सर्छ।’

कांग्रेसले महासमितिबारे निर्णय गर्न मंगलबार केन्द्रीय समिति बैठक बोलाएको छ। ‘बीचमा तिहार, छठलगायत पर्व छन्, विधानको मस्यौदामाथि केन्द्रीय समितिमा बढी समय लाग्छ नै, तोकिएकै समयमा महासमिति बस्न सहज छैन’, बडूले बताए। समय अभावका कारण महासमिति बैठक सार्नुपर्ने स्थिति आएको कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले प्रस्ट्याए।

समितिले बनाएको विधानको मस्यौदा पार्टीको केन्द्रीय कार्यसमितिमा पेस हुन्छ। पार्टीले अनुमोदन गरेपछि मात्र त्यो महासमितिमा जान्छ। महासमितिले त्यसलाई दुईतिहाइले पारित गर्नेछ। अनि विधान कार्यान्वयनमा आउँछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.