सप्तकोसीको पानी, बाँसको ढुवानी
गाईघाट : पहाडमा सडकको पहुँच नहुँदा सप्तकोसी नदी पूर्वी पहाडका ६ जिल्लाका बाँस व्यापारीको ढुवानी मार्ग बनेको छ ।
उदयपुर, खोटाङ, भोजपुर, धनकुटा, सुनसरी र संखुवासभामा उत्पादित बाँस सप्तकोसी नदी हुँदै तराईतिर बिक्रीको लागि लगिँदै आएको छ । यहाँका व्यापारीहरु सिजनको बेला पहाडी जिल्लाका गाउँ गाउँबाट बाँस खरिद गर्छन् । ठूलो मुठा पारेर बाँधेर कोसी नदीमा बगाउँदै बजारसम्म पुर्याउँछन् ।
दैनिक हजारौंको संख्यामा बाँस ल्याउने गरेका बेलका नगरपालिका–७ का स्थानीय व्यापारी कमलबहादुर राईका अनुसार गाउँमा सडक नहुँदा नदीलाई ढुवानी मार्गको रुपमा उपयोग गर्न व्यापारी बाध्य छन् ।
संखुवासभा र धनकुटाका गाउँबाट ल्याइएका बाँस भने त्यहाँका अरुण र तमोर नदीमा बगाएर ढुवानी गरिन्छ । ‘गाँउमा सडक पुगेको छैन, पुगेका सडकमा साना सवारी साधान मात्र सञ्चालन भइरहेका छन्,’ कमलबहादुरले भने, ‘बाँसका घनालाई कसेर चाङ जस्तै बनाएर कोसीमा बगाइन्छ ।’
यसरी सप्तकोसीमा बगाउँदै लगेको बाँस कोसी व्यारेज, चताराघाट लगेर बिक्रिी गर्ने राईको अनुभव छ । यसरी नै बाँस व्यापार गर्दै आएका चन्द्रबहादुर राई भन्छन्, ‘पहाडी क्षेत्रका गाउँबाट बाँस किनेर कोसीमा डुवाउँदै ढुवानी गरी चताराघाटसम्म ल्याएर बिक्री गरिन्छ ।’
खोटाङका व्यापारी पुर्णबहादुर खत्री भने नाफा राम्रो भए पनि बाँस बगाउँदा आप्mनो ज्यानै जोखिममा पर्ने बताउँछन् । उनी थप्छन्, ‘जोखिमपूर्ण रुपले बाँसको ब्यापार गर्नु रहर होइन, बाध्यता हो हाम्रो ।’
डोरीले करिब सय घनासम्म बाँस एउटै चाङमा बाँधिन्छ । उक्त चाङलाई नदीमा बगाउँदै चताराघाटसम्म ल्याउँदा व्यापारीले कष्ट त ब्यहोर्छन् नै नाफा पनि बढी नै लिने गरेका छन् ।
गाउँबाट प्रतिघना एक सय २० रुपैयाँमा किनेर चतारामा लगेर ब्यापारीहरुले २ सय भन्दा बढीमा बिक्री गर्छन् । कोसीमा बगाएर चतारघाट पु¥याएर बिक्री गर्न कम्तिमा दुई दिन लाग्छ । यसरी कोसी नदीबाट दैनिक २५ हजार घना भन्दा बढी बाँस बगाइने व्यापारीहरु बताउँछन् । यसबाट दैनिक ६० हजारसम्मको कारोबार हुने गरेको उनीहरुको भनाइ छ ।