कर्णाली मुलुककै सबैभन्दा शान्त प्रदेश : डिआईजी शाह
कालिकोट : कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी महेश विक्रम शाहले कर्णाली प्रदेश अन्य प्रदेश भन्दा शान्त रहेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटले गरेको नागरिक सुनुवाई कार्यक्रममा डिआईजी शाहले यस्तो बताएका हुन् ।
उनले कर्णाली प्रदेशमा सामान्य खालका छिटपुट घटनाबाहेक शान्ति सुरक्षा राम्रो रहेको बताए । आम नागरिकमा शान्ति सुरक्षाको अनुगमनको सिलसिलमा कर्णाली प्रदेशको कालिकोट पुगेका डिआईजी शाहले नागरिक र प्रहरीको समन्वय र सहकार्यबिना शान्ति सुरक्षा असम्भव रहेको बताए ।
‘नागरिक पनि बिनाबर्दीको प्रहरी नै हो । नागरिक र प्रहरीको समन्वयमा जिल्लाको शान्ति सुरक्षा बलियो बनाउनुका साथै अपराधमुक्त समाज बनाउन जुट्नुहोस’, उनले भने ।
कार्यक्रममा दलका नेता र नागरिकले पछिल्लो समय जिल्ला प्रहरी कार्यालयबाट भएका कामबारे बोल्दै प्रहरीको प्रशंसा गरे । उनीहरुले कर्णालीमै पहिलो पटक कालिकोट सदरमुकाम मान्म बजारमा प्रहरीकै सक्रियतामा सीसीटीभी जडान, १० मिनेटमा सेवाग्राहीको काम, पीडितको जाहेरीका आधारमा तत्काल मुद्दा दर्ता गरी कानुनी प्रक्रिया थाल्ने, महिला र दलितका मुद्दालााई प्राथमिक्ता दिने कुराले नागरिकमा न्याय पाउने विश्वास पलाएको बतए ।
यस्तै कार्यक्रममा प्रहरीका कम्जोरी पनि औल्याइए । जिल्लाका ९ वटै स्थानीय तहमा चौकी स्थापना भएपनि प्रयाप्त जनशक्ति नहुनु, प्रहरी कार्यालयमा नागरिकको सहज पहुँच नहुनु, गाउँमा हुने घरेलु मदिरा नियन्त्रणमा प्रहरीको प्रभावकारी अभियान नहुनु लगायतका समस्या सुधार्नुपर्ने सुझाव दिएका छन् ।
कार्यक्रममा सरोकारवालाले कर्णाली राजमार्गका रिफ्रेन्स सेन्टर प्रभावकारी बनाउनुपर्ने, कर्णाली राजमार्ग स्तरोन्नति नभएसम्म राति यातायात बन्द गर्नुपर्ने लगायतका सुझाव दिएका छन् ।