पोखरा प्रिमियर लिगको फाइनल आज : पारस कि शरद ?

पोखरा प्रिमियर लिगको फाइनल आज : पारस कि शरद ?

पोखरा : पछिल्ला दुई वर्षमा घरेलु फ्रेन्चाइज क्रिकेट लिगका तीनमध्ये दुई फाइनल खेलमा पारस खड्का र शरद भेषावकर भिडेका छन् । उनीहरूले कप्तानी गरेका दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गरेका छन् । त्यसमध्ये दुवै भेटमा पारसले आफूलाई अब्बल सावित गर्दै टोलीलाई उपाधि चुमाएका थिए ।

सन् २०१७ को अप्रिलमा भएको धनगढी प्रिमियर लिग (डीपीएल)को फाइनल खेलमा पारसको कप्तानी रहेको धनगढी टिम चौराहाले शरदको नेतृत्वमा रहेको विराटनगर किङ्सलाई ६२ रनले पराजित गर्दै उपाधि जितेको थियो । 

सोही वर्षको डिसेम्बरमा काठमाडौंमा भएको एभरेस्ट प्रिमियर लिग (ईपीएल)को फाइनलमा पनि उनै पारसको नेतृत्वमा रहेको विराटनगर किङ्सले फेरि शरदकै नेतृत्वको भैरहवा ग्लाडिएटर्सलाई एक रनले पराजित गर्दै उपाधि चुम्यो । दुई वर्षको अन्तरालमा फेरि एकपटक पारस र शरद फाइनलमा भिड्दै छन् ।

घरेलु क्रिकेटको सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता पोखरा प्रिमियर लिग (पीपीएल)को पहिलो संस्करणको उपाधिका लागि मंगलबार हुने फाइनल खेलमा पारस नेतृत्वको चितवन राइनोज र शरद नेतृत्वको पोखरा पल्टन भिड्दै छन् । पोखरा रंगशालामा बिहान ११ बजेपछि सुरु हुने खेलमा पारसले शरदविरुद्ध फाइनलमा ह्याट्रिक जित हात पार्ने वा शरदले अघिल्ला दुई फाइनलमा बेहोरेको पराजयको बदला लिने निश्चित हुनेछ ।

चितवन लिग चरणमा सुरुका दुई खेलमा पराजय बेहोरेर पनि फाइनलमा स्थान बनाउन सफल भएको टोली हो । पहिलो चरणमा दोस्रो भएको चितवनले एलिमिनेटरमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं रोयल्सलाई पराजित गर्दै स्थानीय टोली पोखरासँगको उपाधि भिडन्त तय गरेको हो । चितवनले लिग चरणमा पोखरासँगै पराजय बेहोरिसकेको छ । यद्यपि समूहगत चरणमा लगातार दुई पराजय बेहोरेपछि चितवनले लगातार जित निकाल्दै आइरहेको छ ।

पोखराले भने प्रतियोगिताको पहिलो खेलमै शानदार प्रदर्शन गरेको थियो । उसले विराटनगरविरुद्ध पहिला ब्याटिङ गर्दै एक सय ९७ रन जोड्दै पछि ५८ रनको जित आत्मसात् गरेको थियो । दोस्रो खेलमा बुटवलसँग ३३ रनले पराजित भएको पोखराले अर्को दोस्रो हारका रूपमा धनगढीसँग दुई विकेटले पराजित भयो । लिग चरणको अन्तिम खेलमा काठमाडौंलाई चार विकेटले हराएपछि पोखरा समान अंक भएका तीन टोलीलाई नेटरनरेटमा पछाडि पार्दै विजेताका रूपमा फाइनलमा स्थान बनाउन सफल भएको हो । त्यसैले नतिजा जसको पक्षमा गए पनि फाइनल खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

प्रतियोगितामा चितवनका लागि भारतीय खेलाडी सन्नी पटेल मेरुदण्डका रूपमा देखिएका छन् । उनले प्रतियोगिताका ६ खेलमा एक सय ५१ रन बनाएका छन् भने नौ विकेट पनि हात पारेका छन् । पछिल्ला दुई खेलमा सन्नीको प्रदर्शन बेजोड छ । उनले विराटनगरविरुद्ध २४ बलमा ५२ रन बनाएका थिए । काठमाडौंविरुद्ध दोस्रो ओभरमा तीन विकेट लिँदै ज्ञानेन्द्रको टोलीलाई सुरुआतमै अप्ठेरोमा धकेलिदिएका थिए ।

चितवनका बलर करण केसी प्रतियोगिताको सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन् । उनले ६ खेलमा ११ विकेट हात पारेका छन् । विराटनगरका सन्दीप लामिछानेको नाममा नौ विकेट छ । पोखराका विपिन खत्री र चितवनका स्मित पटेलले समान सातसात विकेट लिएका छन् । मंगलबार दुवै टोलीलाई यी खेलाडीको प्रदर्शन महत्वपूर्ण हुनेछ ।

ब्याटिङतर्फ सर्वाधिक रन जोड्ने ब्याट्सम्यानको सूचीमा फाइनल पुगेका दुवै टोलीकामध्ये एकमात्र ब्याट्सम्यान छन् । पोखराका रविन्दर सिंह पाँच खेलमा एक सय ७० रन जोडेर चौथो स्थानमा छन् । शीर्ष स्थानमा रहेका काठमाडौंका गौरव तोमारले ६ खेलमा दुई सय १२ रन, विराटनगरका मोहम्मद जैद आलमले चार खेलमा दुई सय नौ रन र धनगढीका दीपेन्द्रसिंह ऐरीले पाँच खेलमा एक सय ८९ रन जोडेका छन् ।

दुवै टोलीले फाइनलका लागि तयार रहेको बताएका छन् । चितवनका कप्तान पारसले फाइनल खेलअघि खेलाडीहरू उत्साहित रहेको बताए । ‘दुईवटा राम्रो टोली फाइनलमा पुगेका छन् । यो खेलमा पहिलेको नतिजाले खासै अर्थ नराख्न सक्छ’, पारसले भने, ‘संयोग पनि हो यो, फेरि शरदको टोलीसँग फाइनल हँुदैछ । आशा छ, यसपटक पनि हामी उपाधि उचाल्न सक्षम हुनेछौं ।’

पोखराका कप्तान शरदले पनि आफूहरू फाइनल खेलका लागि तयार रहेको बताए । ‘हामी जुन उद्देश्यले आएका थियौं, त्यसका लागि अब एक पाइला बाँकी छ’, शरदले भने, ‘घरेलु टोलीबाट खेल्न पाएकोमा भाग्यमानी ठानेको छु । मैदानमा क्षमताअनुसार खेल्न सकियो भने जित सम्भव छ ।’

प्रतियोगिताको विजेता टोलीले २७ लाख तथा उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.