ज्येष्ठ नागरिकलाई चाड मनाउन भत्ता
बागलुङ : गलकोट नगरपालिकाले ज्येष्ठ नागरिकलाई चाडपर्व मनाउन भत्ता वितरण गरेको छ । नगर परिषद्बाट तय गरेको नीति तथा कार्यक्रमअनुसार नगरपालिकाभित्रका ८५ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई भत्ता प्रदान गरिएको हो ।
नेपालीहरूको महान् चाड दसैं, तिहार, नेपाल संवत्, छठलगायत पर्व मनाउन ३ हजार रुपैयाँका दरले भत्ता वितरण गरिएको गलकोट नगरपालिकाका उपमेयर रेणुका काउचाले जानकारी दिइन् ।
गलकोट नगरपालिका-२ निवासी ९८ वर्षीया नैनकली दमाईंलाई नगर प्रमुख भरत शर्मा गैरे र नगर उपप्रमुख रेणुका काउचा मगरले सोमबार संयुक्त रूपमा भत्ता वितरण गरेका थिए । स्थानीय सरकारले बुढापाकालाई चाडपर्व मनाउन भत्ता दिएर धेरै राम्रो काम गरेको ९८ वर्षीया नैनकलीले बताइन् ।
गलकोट नगरपालिका-६ का ९१ वर्षीय अमरबहादुर श्रीसले पनि चाडपर्वका लागि भत्ता पाएकोमा खुसी व्यक्त गरे । ज्येष्ठ नागरिकले नगरपालिकालाई भत्ता वितरण कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन् ।
गलकोट नगरपालिकाले ज्येष्ठ नागरिकलाई चाडपर्व भत्ता वितरण गर्न ४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । नगरपालिकाभित्रका १ सय ५० भन्दा बढीलाई चाडपर्व भत्ता वितरण गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णराज गौतमले बताए । ‘८५ वर्षभन्दा माथिको मापदण्ड बनाएर चाडपर्व भत्ता बाँड्न थालेका हौं,’ मेयर भरत शर्मा गैरेले भने । उनले ज्येष्ठ नागरिकप्रति सम्मानभाव जागृत गर्न यस कार्यक्रमले टेवा पुग्ने बताए ।