४३ करोडको सयपत्री

४३ करोडको सयपत्री

काठमाडौं : नेपालमा वार्षिक साढे ४३ करोड मूल्य बराबरको सयपत्री फूलको कारोबार हुन्छ।तिहारमा मात्रै बेग्लै ११ करोड रूपैयाँको सयपत्री खरिदबिक्री हुने नेपाल फ्लोरिकल्चर एसोसिएसन (फ्यान)ले जनाएको छ । सयपत्रीको माला वर्षभरिमा औसत ६२ लाख थान किनबेच हुन्छ।‘तिहारमा सबैभन्दा बढी सयपत्रीको माग हुन्छ’, एसोसिएसनका कुमारकसजु श्रेष्ठले भने, ‘वर्षभरिमा एक चौथाइ सयपत्री भने भारतबाट आउँछ ।’

फ्यानका अध्यक्ष श्रेष्ठका अनुसार नेपालमा दैनिक १७ हजार थान सयपत्री पुष्पको माला खपत हुन्छ।एक थान मालाको खुद्रा मूल्य ७० रूपैयाँ पर्छ।उनकाअनुसार वार्षिक रूपमा ४३ करोड ४३ लाख मूल्यबराबरको सयपत्री मालाको कारोबार हुँदै आएको छ । एसोसिएसनका अनुसार संघीय सरकारको उदासिनताका कारण सयपत्री पुष्पमा नेपाल आत्मनिर्भर हुन नसकेको हो।संघीय सरकारले यो पुष्पमा आत्मनिर्भर हुनका लागि कुनै योजना तथा बजेट नछुट्टयाएकाले कूल मागको करिब एक चौथाई भारतबाट आयात गर्नुपरेको छ । ‘संघीय सरकारले हामीलाई सहयोग गरे हामी एक वर्षमै आयात दर पूर्ण रूपमा प्रतिस्थापन गर्न सक्षम छौं,’ श्रेष्ठले भने, ‘सरकारले बीउ, टनेल र प्राविधिक विषयमा सहयोग गर्न सक्यो भने हामी आयात प्रतिस्थापन गर्ने मात्रै होइन, केही परिमाणमा निर्यात समेत गर्न सक्षम छौं ।’

फ्यानका अनुसार वर्षभरिको मागबाहेक तिहारको समयमा सयपत्रीको छुट्टै कारोबार हुन्छ।तिहारमा हुने करिब ११ करोड बराबरको आन्तरिक उत्पादनमा १२ लाख माला बिक्री हुन्छ। तीन लाख थान सयपत्री माला भने आयात हुन्छ । ‘यो बेला हरेक व्यक्तिले पूजाआजा र घर सजाउन सयपत्रीको उपभोग गर्छन्,’ श्रेष्ठले भने, ‘तिहारमा एक करोडको भारतबाट आयात हुन्छ, ११ करोडको हाम्रो आन्तरिक उत्पादनबाट आउँछ ।’

सयपत्री पुष्पको खेती मुख्यगरी झापा, इलाम, मोरङ, सुनसरी, सिराहा, सप्तरी, धनुषा, पर्साको ठोरी, धादिङ, मकवानपुर, चितवन र काभ्रेलगायत जिल्लामा हुन्छ।तिहारमा मखमली र गोदावरी फूलको पनि त्यत्तिकै कारोबार हुन्छ।यो बेला करिब सात लाख मूल्यबराबरको मखमली र गोदावरीको कारोबार हुन्छ। मखमलीमा नेपाल पूर्ण रूपमा आत्मनिर्भर छ।भक्तपुरको डुल्लु, ललितपुर र काठमाडौंको बज्रयोगिनीमा यसको व्यवसायिक खेती हुन्छ ।

श्रेष्ठकाअनुसार पछिल्लो तीन वर्षदेखि तिहारको समयमा करिब ७५ देखि ८० लाख मूल्यबराबरको डेढदेखि दुई लाख थान मखमलीको माला अस्ट्रेलिया, क्यानाडा, हङकङलगायतका सहरमा निर्यात हुन थालेको छ।श्रेष्ठले भने, ‘अत्यधिक नेपाली बसेको देशबाट भाइटीकाको लागि मखमली फूलको मालाको माग आउँछ।यो वर्ष पनि करिब दुई लाख थान मालाको माग आएको छ।यो मध्ये ठूलो परिमाणमा पठाइसकेका छौं।बाँकी बुधबार पठाउँदै छौं ।’

भाइमसलाको व्यापार १० करोड

तिहारमा सर्वाधिक कारोबार हुने अर्को उपभोग्य वस्तु हो, भाइमसला।यसको प्रयोग भाइटीकाका दिन भए पनि बिहे, व्रतबन्धसहित शुभअवसरमा पनि कारोबार हुने गर्छ । नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार भाइटीकामा सबैभन्दा बढी सुख्खा नरिवल, ओखर, काजु, देशी बदाम, सुपाडी, पेस्ता, किसमिस, मखान, ल्वाङ, सुकुमेल, छहोरा(छोकडा) र चकलेटको उपभोग हुन्छ ।

भाइटीकाको लागि जोहो गर्न शनिबारदेखि नै सर्वसाधारणले भाइमसला किनमेल सुरु गरिसकेका छन्।संघका अनुसार अहिले एउटा खुद्रा व्यवसायीले दैनिक १५ हजार रूपैयाँको भाइमसला बिक्री गर्दैआएका छन्।उनकाअनुसार भाइटीका लागि करिब १० करोड मूल्यबराबरको भाइमसलाको बिक्री हुन्छ ।

आयात हुने यस्तो भाइमसलाको मूल्य निकै महँगिएकाले यो वर्ष सबै प्रकारका मसलामा सयदेखि दुई सय रूपैयाँसम्म मूल्यवृद्धि भएको छ । यस्तो मसला ९५ प्रतिशत भारत, चीन, बंगलादेश, पाकिस्तान, क्यानाडालगायत मुलुकबाट आयात हुन्छ।कालो ओखर मात्रै नेपालमा उत्पादन हुने श्रेष्ठको भनाइ छ।‘भाइमसलामा करिब शतप्रतिशत नै परनिर्भर छौं,’ श्रेष्ठले भने, ‘यस्ता वस्तुमा सरकारले ध्यान दिने हो भने आयात हिस्सा ठूलो परिमाणमा घटाउन सक्छौं।नेपालमै उत्पादन हुने हावापानी र माटो सुहाउँदो भएपनि सरकारले कुनै ध्यान नदिदाँ बर्सेनि एक अर्बको आयात गर्नुपरेको छ ।’

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामै ९० करोडभन्दा बढीको भाइमसलामा प्रयोग हुने वस्तुहरू आयात भइसकेको छ।अघिल्लो वर्षको तीन महिनामा भने डेढ अर्बको यस्ता वस्तु आयात भएका थिए ।

फलको व्यापार पनि उत्कर्षमा

तिहारमै फलफूलको पनि अत्याधिक कारोबार हुन्छ।अरु दिनभन्दा यो समयमा चार दोब्बरले कारोबार बढ्छ।मुख्यगरी स्याउ, केरा, मौसमी र सुन्तलाको बढी व्यापार हुन्छ । खपत हुने फलफूलमध्ये भारतबाट मेवा, चकलेटी स्याउ, मौसमी, केरा, सुन्तला र नरिवल तथा चीनबाट स्याउको आयात हुन्छ।चालु वर्षको पहिलो तीन महिनामा चार अर्ब ८९ करोड मूल्यबराबरको फलफूल आयात भएको छ ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.