सन्दीप युग

सन्दीप युग

सन्दीप लामिछानेले दक्षिण अफ्रिकाको घरेलु टीट्वेन्टी ग्लोबल लिगबाट आफ्नो नाम फिर्ता लिए। आफू अनुबन्धित भइसकेका र छनोट हुने तय भएका अन्य ठूला विदेशी लिगसँगको समय जुध्ने भएपछि सन्दीपले दक्षिण अफ्रिकी लिगमा आफूलाई दर्ता गरेर पनि ड्राफ्टबाट नाम फिर्ता लिएका हुन्।

पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा विराटनगर टाइटन्सको ‘मार्की प्लेयर’ तथा कप्तान रहेका सन्दीप तिहारपछि नयाँ संरचनाको क्रिकेट प्रतियोगिता टीटेन लिग खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) पुग्नेछन्। त्यसलगत्तै उनी बिग बास लिग खेल्न अस्ट्रेलियातर्फ लाग्नेछन्।

त्यसपछि उनी बिग बास लिगको क्याम्प छाडेर बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्न ढाका पुग्नेछन्। बीपीएलमा आफ्नो टोलीको खेल सकिएपछि उनी फेरि बिग बास लिग सिजनका बाँकी खेल खेल्न अस्ट्रेलिया फर्कनेछन्।

नेपाली खेलकुदका सबैभन्दा व्यस्त यी खेलाडी अबको केही महिना ठूला विदेशी लिग खेल्न देशबाहिर हुनेछन्। उमेरले भर्खरै १८ वर्ष लाग्दा र नेपाली क्रिकेटमा देखिएको मात्रै तीन वर्षको छोटो अवधिमा सन्दीपले प्राप्त गरेका यी अवसर र तीनमा उनले हात पारेका उपलब्धि साँच्चिकै लोभलाग्दा छन्।

सफलताको ग्राफ

इन्डियन प्रिमियर लिग (आईपीएल), क्यारेबियन प्रिमियर लिग (सीपीएल) लगायत ठूला अन्तर्राष्ट्रिय लिग खेल्ने पहिलो नेपाली खेलाडी बनेका सन्दीप लामिछानेले यो अवधिमा अवसरसँगै प्रशस्तै आर्थिक जोहो पनि गरेका छन्। उनले विदेशी लिग खेलेर प्राप्त गरेको रकम करोड नाघेको छ। व्यक्तिगत प्रायोजनमार्फत आएको रकम पनि त्योभन्दा कम छैन।

उनका लागि कुनै पनि व्यापारिक प्रतिष्ठान खर्च गर्न तयार छ। टाटाले प्रायोजन गरेको गाडी चढ्ने उनका लागि अहिले खेल्ने ब्याटदेखि लगाउने कपडासम्मका लागि प्रायोजक छन्। सन्दीप आफ्नो यो उपलब्धिलाई मेहनतको प्रतिफल मान्छन्। ‘कसैले इमानदार भएर मेहनत गर्छ भने त्यसलाई भाग्यले पनि साथ दिन्छ’, पीपीएल खेल्न हाल पोखरामा रहेका सन्दीपले भने, ‘म यही कुरामा विश्वास गर्छु। मेरो सफलताको रहस्य पनि कडा परि श्रम नै हो।’

सन्दीप आफूले पाएको सबै अवसरमा कडा मेहनत गर्ने गरेको बताउँछन्। त्यही बानीले आफूलाई अघि बढ्न मद्दत गरेको उनको अनुभव छ। उनी चितवन क्रिकेट एकेडेमीमा क्रिकेट सिक्न जानु, नेपाली राष्ट्रिय टोलीका तत्कालीन मुख्य प्रशिक्षक पुबुुदु दासानायकेसँग भेट हुनु र अन्य धेरैको सहयोगले आफ्नो सफलतामा इँट थप्ने काम गरेको बताउँछन्।

‘मेरो यो सफलतामा केही निर्णय र भेट महत्वपूर्ण सावित भएका छन्’ सन्दीप भन्छन्, ‘सायद त्यो निर्णय, भेट र महत्वपूर्ण व्यक्तिहरूको सहयोग नभएको हुन्थ्यो भने मेरो करिअर यहाँसम्म आउँदैनथ्यो होला। उहाँहरूको योगदानलाई सम्झेर पनि प्राप्त सबै अवसरमा मेहनत गर्ने गरेको छु। त्यही बानीले अहिलेसम्म मलाई अघि बढ्न मद्दत गरेको छ।’

बाल्यकाल भारतमा बिताएका सन्दीप क्रिकेट खेल्नकै लागि नेपाल फर्किएका थिए। चितवनमा नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान राजु खड्काले सञ्चालन गरेको चितवन क्रिकेट एकेडेमीमा क्रिकेट सिकेका सन्दीपले त्यहाँबाट सीधै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने अवसर पाएका थिए।

उनलाई नेपाली टोलीका तत्कालीन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले चितवन क्रिकेट एकेडेमीको नेटमा खेलेको देखेरै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाएका थिए। त्यसपछि उमेर समूह हुँदै नेपाली राष्ट्रिय टोलीमा स्थान बनाएका सन्दीप अहिले अन्तर्राष्ट्रिय प्रतियोगितामा सशक्त प्रदर्शन गर्दै टोलीका मुख्य खेलाडीका रूपमा स्थापित भएका हुन्।

त्यही प्रदर्शनले विदेशी लिगमा पनि सन्दीपले नियमित रूपमा अवसर पाइरहेका छन्। उनी हालै पनि अस्ट्रेलियाको बिग बास लिगमा अनुबन्धित भएका छन्। उनले मेलबर्न स्टार्सबाट खेलेबापत करिब ६० हजार अमेरिकी डलर (झन्डै ७० लाख नेपाली रुपैयाँ) पाउने अनुमान गरिएको छ।

सन्दीप बिग बास लिगको छनोटलाई आफूले अवसरका रूपमा हेरेको बताउँछन्। ‘म यस्ता ठूला अनुबन्धलाई अवसरका रूपमा हेर्ने गर्छु’ सन्दीप भन्छन्, ‘यही अवसरलाई सदुपयोग गर्दै आफूलाई थप निखार्ने गर्दछु। त्यसले सायद अहिलेसम्म अघि बढ्न पनि मद्दत गरिरहेको छ।’ ‘नेपालले चाँडै विश्वकप खेलोस्, र टेस्ट स्टाटस पनि प्राप्त गरोस्’ अवसर र उपलब्धिको हिसाबले सन्दीप यतिबेला उच्च बिन्दुमा छन्। सायद उनका लागि यो बिन्दु अझ उकालो लाग्न सक्नेछ, जतिबेला उनी बिग बास लिग खेल्नका लागि मैदानमा उत्रनेछन्। बिग बास लिग उनका लागि सपनाको प्रतियोगिता हो।

अस्ट्रेलियन टोलीका पूर्वकप्तान माइकल क्लार्कको राम्रो साथ पाएका सन्दीपले क्रिकेटरका रूपमा आफ्नो सबैभन्दा ठूलो सपना बिग बास लिग खेल्नु रहेको बताउँदै आएका थिए। मेलबर्न स्टार्सले अनुबन्ध गरेसँगै उनको यो सपना पनि पूरा हुने निश्चित देखिएको छ। जतिबेला यो अनुबन्धको समाचार सुने, सन्दीप खुसीले शब्दविहीन बनेको अनुभव सुनाउँछन्। अहिले पनि उनको अनुभव त्यस्तै छ। ‘व्यक्तिगत रूपमा मेरो सपना पूरा भएको छ’ सन्दीप भन्छन्, ‘अब नेपालको राष्ट्रिय टोलीबाट ५० ओभरको विश्वकप खेल्ने इच्छा छ। नेपालको टेस्ट स्टाटस पनि होस्। त्यसमा मेरो पनि योगदान रहोस्। अबको इच्छा यही हो।’

सन्दीप आफ्ना लागि अहिलेसम्म देश नै पहिलो प्राथमिकतामा रहेको र आगामी दिनमा पनि देशलाई नै पहिलो प्राथमिकतामा राख्ने अनुभव सुनाउँछन्। ‘विदेश लिगमा उनीहरूले अनुबन्ध गर्दा रकम खर्च गरेका हुन्छन्’, सन्दीप भन्छन्, ‘त्यसैले भनेको बेला फर्कन मुस्किल हुन्छ। तर, जति नै गाह्रो भए पनि मेरा लागि देश नै पहिलो प्राथमिकतामा रहनेछ।’

सन्दीपका विदेशी लिग र अनुबन्ध रकम

बिग बास लिग (अस्टेलिया) : करिब ६० लाख अमेरिकी डलर (६९ लाख ५२ हजार)

ग्लोबल टीट्वेन्टी लिग (क्यानडा) : ४० हजार डलर (४६ लाख ४० हजार)

इन्डियन प्रिमियर लिग (आईपीएल, भारत) : २० हजार भारु (२३ लाख २० हजार नेपाली)

अफगानिस्तान प्रिमियर लिग (एपीएल, अफगानिस्तान) : १५ हजार डलर (१७ लाख, ४० हजार)

टीटेन लिग (यूएई) : ३० हजार डलर (३४ लाख ८० हजार)

क्यारेबियन प्रिमियर लिग (सीपीएल, वेस्ट इन्डिज) : ५ हजार डलर (५ लाख ८० हजार)

अन्य विदेशी लिगहरू

बंगलादेश प्रिमियर लिग (बीपीएल, बंगलादेश)                    

हङकङ टीट्वेन्टी ब्लिज (हङकङ)                           

सन्दीपका प्रायोजकहरू

एनसेल : (तीन वर्षका लागि हम्बल हिरो)

जेभियर कलेज : (ब्रान्ड एम्बासडर)

डानियल डेभिल्स : (कपडा प्रायोजन)

ग्रिनिगल्स : (ब्याट प्रायोजन)

टाटा : (गाडी प्रायोजन)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.