खेलकुदको नशाले गर्दा यसबाट टाढा हुन सक्तिनँ

खेलकुदको नशाले गर्दा यसबाट टाढा हुन सक्तिनँ

सितेरियो करातेमार्फत खेलकुद क्षेत्रमा प्रवेश गरेकी सुवर्ण श्रेष्ठ राम्रो खेलाडी बन्न सकिनन्। उनले खेलकुदबाट टाढा भएर आफ्नो पढाइलाई अगाडि बढाइन्। पढाइ सकेपछि पनि उनी आफ्नै व्यवसायमा सक्रिय भइन्। तर, खेलकुद क्षेत्रमा केही न केही गर्नुपर्छ भन्ने चाहना उनमा थियो। आफ्नो त्यही चाहना पूरा गर्न उनी नेपाल रिङ रेस्लिङ संघमा आवद्ध भइन्। खेलाडीका रुपमा गर्न नसकेको काम व्यवस्थापकका रुपमा लागेर गर्नुपर्छ भन्ने सोचेर नै उनी खेलकुदमा फर्किइन्। महासचिवका रुपमा नेपालको रेस्लिङ खेललाई शिखरमा पुर्‍याउन महत्वपूर्ण भूमिका पनि निर्वाह गरिन्। त्यही क्रममा राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यसमेत रहिसकेकी सुवर्ण पछिल्लो समय नेपालकै पुरानोमध्येको हक्की खेलको विकास र विस्तारमा योगदान पुर्‍याउने उद्देश्यसहित संघमा आवद्ध भएकी छन्। उनीसँग नेपालमा हक्की खेलको अवस्था, चुनौती र भावी योजनाका बारेमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंशः-

भर्खरै एउटा लामो इतिहास बोकेको नेपाल हक्की संघको नेतृत्वमा आउनु भएको छ। पहिले अर्को संघमा रहँदा र अहिले हक्कीमा आउँदा के फरक पाउनु भयो ?

पहिले रेस्लिङ संघको नेतृत्वमा थिएँ। अहिले हक्कीमा आएको छु। यी दुवै फरक प्रकारका खेल हुन्। रेस्लिङ मनोरञ्जनात्म खेल हो भने हक्की एमेच्योर खेल हो। दुवैको आ–आफ्नै विशेषता पनि छ। हक्की नेपालमा लामो इतिहास बोकेको खेल हो। ७० वर्षअघि स्थापना भएको यो खेलले आफ्नो फरक पहिचान बनाइसकेको छ। बिचको समयमा यो खेल केही ओझेलमा परेको देखिए पनि नयाँ कार्यसमिति आएपछि ग्रासरुटदेखि नै हक्कीको विकास गर्नुपर्छ भनेर लागिपरेका छौं। विभिन्न विद्यालयमा हक्कीको प्रशिक्षण पनि सुरु गरिरहेका छौं। 

मुख्य समस्या र चुनौतीहरू चाहिँ के–के रहेछन् त ?

नेपालमा सबै खेलले भोग्नुपर्ने समस्या भनेकै बजेटको हो। हक्कीमा पनि बजेटकै कमी छ। खेलाडी उत्पादन गर्न पनि खेल्ने ठाउँ छैन। नेपाल सरकारले अहिलेसम्म हक्की मैदान बनाउन सकेको छैन। हामी संघमा आएपछि धुलीखेलमा जग्गा पाएका छौं। त्यहाँ रंगशाला बनाउन लागिपरेका छौं। डीपीआर पनि तयार भइसकेको छ। हक्कीको आफ्नै मैदान बनाउन सक्यौं भने भविष्यमा राम्रो हुने आशा राखेका छौं। 

खेलाडीको अवस्था चाहिँ कस्तो छ ?

हक्कीमा खेलाडीको कमी छैन। सातै प्रदेशमा खेलाडी छन्। तीन वटै विभागीय टोलीमा पनि हक्कीको टिम छ। तर, नियमित प्रतियोगिता नहुँदा खेलाडी पलायन हुने समस्या भने देखिएको छ। 

हक्की हरेक राष्ट्रिय खेलकुदमा परेको छ। तर, अन्तर्राष्ट्रिय सहभागिता र सफलता हासिल गरेको भने सुनिँदैन। यसको कारण के हो ?

राष्ट्रिय खेलकुद परिषद्ले हक्कीलाई सीमित बजेट दिने गरेको छ। राष्ट्रिय प्रतियोगिता हुँदा त्यसमा पनि समावेश चाहिँ गरेको छ। तर, त्यसले मात्रै अन्तर्राष्ट्रिय सहभागिता सम्भव छैन। विदेशमा भएका प्रतियोगितामा सहभागी हुन परिषद्ले बजेट दिने गरेको छैन। त्यही कारण अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता कम भएको हो। अहिलेको कार्यसमिति परिषद्सँग आश्रित मात्रै नभई आफ्नो बलबुतामा पनि केही गर्नुपर्छ भनेर लागेको छ। यही क्रममा एसियाली स्तरको प्रतियोगिता आयोजना गर्ने कि भनेर पनि तयारी गरिरहेका छौं। 

पुरानो खेल भइकन पनि हक्की पछि परेको जस्तो लाग्दैन ?

धेरै पुरानो र संसारभर खेलिने खेल भए पनि नेपालमा सोचे अनुरुप यसले प्रगति गर्न सकेको छैन। सरकारले प्राथमिकतामा राख्ने हो भने अन्य टिम गेमभन्दा पनि हक्कीले पदक दिलाउन सक्छ। विभिन्न कारणले पछि परेको छ। विगतमा संघदेखि राष्ट्रले पनि नजर पुर्‍याउन नसक्दा अहिलेको अवस्था आएको हो। 

धुलिखेलमा हक्कीको रंगशाला बन्दैछ भन्नुभयो। त्यो बाहेक भौतिक पूर्वाधारको अवस्था चाहिँ कस्तो छ ?

अहिलेसम्म विभिन्न विद्यालय र सार्वजनिक चौरमा खेल सञ्चालन गरिरहेका छौं। हक्कीकै लागि भनेर कहिँ पनि मैदान छुट्याइएको छैन। खेलकुद मानिसको शारीरिक तथा मानसिक विकासका लागि अपरिहार्य छ। खेलकुदका माध्यमबाट स्वस्थ, सक्षम, मर्यादित, अनुशासित खेलाडी र सिर्जनशील नागरिक तयार गर्न सकिन्छ। खेलकुदका लागि उपयुक्त खेल मैदान, रंगशाला, कभर्डहललगायतका भौतिक पूर्वाधारका संरचनाहरू निर्माण हुन अत्यन्त आवश्यक छ। खेलकुदको पूर्वाधार विकासको क्रमसंगै खेलकुदले आफ्नो गति अगाडि बढाउँछ। स्थानीय स्तरदेखि केन्द्रीय र अन्तर्राष्ट्रिय स्तरसम्मको खेलकुदका आयोजनाहरू सञ्चालन गर्न सकिने किसिमको भौतिक पूर्वाधारहरू हुनु खेलकुदका लागि अपरिहार्य छ। भौतिक पूर्वाधारका संरचनाहरूको निर्माण मात्र भएर हुँदैन, यसको उचित व्यवस्थापन हुनु पनि त्यति नै आवश्यक छ। भौतिक पूर्वाधारहरूको रेखदेख, सञ्चालन, संरक्षण र सम्वद्र्धनको बिषय पनि त्यत्तिकै महत्वपूर्ण रहन्छ। 

नेपालमा पर्याप्त खेलकुद पूर्वाधार नरहेको र राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत रहेका संरचनाहरूको पनि उचित व्यवस्थापन र उपयोग गर्ने विधि नभएकाले पनि खेलकुद विकासमा असर गरेको छ। तसर्थ नेपाल सरकार र राष्ट्रिय खेलकुद परिषद्ले खेल पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेर योजना बनाउन आवश्यक छ भने संघीय संरचना र प्रादेशिक संरचना सञ्चालनका लागि पनि प्रस्ट नीति बनाइनु पर्दछ। 

प्राविधिक जनशक्तिको अवस्था चाहिँ कस्तो छ ?

गत वर्ष हामीले लेभल वान र लेभल टु कोचिङ कोर्स सञ्चालन गर्‍यो। यस वर्ष पनि कोर्स सञ्चालन गर्ने योजना बनाएका छौं। लेभल टु पास गरेका प्रशिक्षक २५ जना जति छ। त्यस बाहेक राष्ट्रिय खेलकुद परिषद्सँग पनि चार जना मात्रै प्रशिक्षक भएकाले खेलाडी उत्पादन समस्या भने छ। 

१०औं राष्ट्रिय खेलकुदको तयारी चाहिँ कसरी गरिरहनु भएको छ ?

हामीले तयारी गरिरहेका छौं। जिल्लालगायत प्रदेशहरूमा खेलाडीले प्रशिक्षण गरिरहेका छन्। अहिलेसम्म १०औं राष्ट्रिय खेलकुद कुन मितिमा हुन्छ भन्ने अन्योल भए पनि हामीले भने तयारी गरिरहेकै छौं। 

हक्की संघमा अहिलेको टिम कस्तो बनेको छ ?

पहिलेको टिमले पनि सकेजति गर्नुभएकै थियो। अहिले पनि राम्रो टिम बनेको छ। खेलकुदमै जीवन बिताएका मानिसहरू पनि हुनुहुन्छ। हामी पनि केही गर्नुपर्छ भनेर लागिपरेका छौं। समग्रमा टिम उत्कृष्ट छ। 

तपाई खेलकुदमा चाहिँ कसरी लाग्नु भयो ?

हत्तपत्त घरबार बाहिर जान हुन्न भन्ने समयमा खेल्ने इच्छा तीव्र भए पनि खेललाई निरन्तरता दिन सकिनँ। अहिले सँगैका साथीहरूले पदक जितेर चर्चित खेलाडी बनेको देख्दा खुसी लाग्छ। विस्तारै पढाइसँगै व्यवसायमा लागे पनि खेलकुदको हुटहुटीले भने छोडेन। करिब आठ वर्ष नेपाल रिङ रेस्लिङ संघमा आबद्ध भएर नेपालमा रेस्लिङ खेललाई स्थापित गरें। अहिले नेपाल हक्की संघको महासचिवका रूपमा काम गरिरहेको छु। खेलकुद एक प्रकारको नशा रहेछ। खेलाडीका रूपमा अगाडि बढ्न नसके पनि व्यवस्थापकका माध्यमबाट केही योगदान दिन संघमा आबद्ध भएको हुँ। पुरानो खेल भए पनि हक्की नेपालमा अलि पछि परेको छ। अहिले वार्षिक कार्यक्रम बनाएर ग्रासरुट कार्यक्रममार्फत युवा खेलाडीको खोजी, खेलाडीको क्षमता विकास, प्रशिक्षण र तालिमको व्यवस्था मिलाउने तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनासँगै सहभागिताजस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेका छौं।

तपाई रेस्लिङ छाडेर हक्की संघमा चाहिँ किन आउनु भयो ? 

रेस्लिङलाई एउटा हाइटमा पुर्‍याएपछि म हक्की संघमा आवद्ध भएकी हुँ। हक्की मलाई सानैदेखि मन पथ्र्यो। पछि साथीहरूले पनि संघमा लाग्दा राम्रै हुन्छ भनेर सुझाव दिएपछि आवद्ध भएकी हुँ। टिम गेममा राम्रो स्कोप भएको र हामीले केही मेहनत गर्ने हो भने पदक ल्याउन सकिन्छ भन्ने लागेको छ।

महिला खेलाडीको अवस्था कस्तो छ ?

पुरुषको तुलनामा महिला खेलाडीको प्रदर्शन राम्रो छ। महिलाहरूको खेल्ने शैली र प्रदर्शन निकै माथि छ। समग्रमा हजार÷बाह्र सय जति खेलाडी छन्। 

हक्की कत्तिको महंगो खेल हो ?

यो अरु खेलको तुलनामा महंगो नै खेल हो। यसको स्टिक महंगो नै छ। प्रत्येक खेलाडीलाई स्टिक चाहिने भएकाले अरु खेलभन्दा महंगो नै छ। 

हाम्रा खेलाडीले त्यो अफोर्ड गर्न सक्छन् ?

अहिलेसम्म त संघले नै सामग्री प्रदान गर्दै आएको छ। कति खेलाडी आफैले पनि किनिराखेका छन्। इच्छा शक्ति भयो भने मानिसले व्यवस्थापन गर्न सक्छ।

हक्की राष्ट्रिय खेलकुदमा चाहिँ नियमित रुपमा परेको छ। तर, त्यसभन्दा माथि अन्तर्राष्ट्रियको कुरा गर्ने हो भने न दक्षिण एसियाली न त एसियाली खेलकुदमै सहभागी हुन सकेको छ। यसको कारण चाहिँ के होला ?

पहिले दक्षिण एसियाली र एसियाली खेलकुदमा सहभागी भएकै हो। पछिल्लो समय मात्रै अन्तर्राष्ट्रिय सहभागितामा कमी आएको हो। बैंककमा आयोजना हुन लागेको एसियन इन्डोर गेम्समा पनि सहभागी गराउन परिषद्सँग अनुरोध गरेका थियौं। तर, हामीलाई सहभागी गराइन। पछि त त्यो प्रतियोगिता नै स्थगित भयो। यसरी हेर्दा नियमन निकायले नै हक्कीलाई पछि पारेको वा वेवास्ता गरेको हो कि भन्ने पनि देखिएको छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा कुन खेल राम्रो छ र कसले पदक ल्याउँछ भनेर नै हेरिँदैन। खाली पहुँचका भरमा खेलहरू राखिन्छ। हामीले घचघचाउनु पर्ने काम त गरिरहेकै छौं। 

धुलिखेलमा मैदानका विषयमा कुरा गर्नुभयो। अहिले त्यहाँ के–के काम भइरहेको छ ?

नेपालमा हक्की खेलको विकास र प्रवद्र्धन गर्न खेल संरचनाको अत्यन्त आवश्यक पर्छ। तर पनि ७० बर्षको इतिहास बोकेको यस खेलका लागि हामीसँग कुनैपनि निश्चित घासे मैदान थिएन, छैन पनि। अन्तर्राष्ट्रिय स्तरमा हेर्ने हो भने अन्तर्राष्ट्रिय हक्की महासघंको मापदण्ड बमोजिम कृत्रिम टर्फमा खेलिन्छ। हाम्रा खेलाडीलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार प्रशिक्षण दिन र अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न सक्षम बनाउनका लागि पनि आफ्नै कृत्रिम टर्फ मैदान हुनु अत्यावश्यक छ। नेपाल हक्की सघंको पहलमा २०८० पुस १९ मा धुलिखेल नगरपालिकाले अन्तर्राष्ट्रिय मापदण्डको हक्की स्टेडियम निर्माण गर्न वडा नम्बर १२ को खेल मैदान प्रदान गरेको छ। यसका लागि धुलिखेल नगरपालिका र नगर प्रमुख अशोककुमार ब्याञ्जुलाई विशेष धन्यवाद दिन चाहन्छु। त्यसैगरी सो स्टेडियको बिस्तृत परियोजना प्रतिवेदनसमेत तयार भइसकेको छ। सो प्रतिवेदन तयार गर्न प्रदेश खेलकुद विकास परिषद बागमतीले सहयोग गरेको छ। सो स्टेडियम निर्माणलाई अगाडि बढाउन मेरै संयोजकत्वमा स्टेडियम निर्माण समिटी गठन भएको छ। हामीले यथोचित प्रयास र पहल गरिरहेकै छौं। बजेटका लागि प्रदेश र संघीय सरकारसँग पहल गरिरहेका छौं। अत्यन्त सुन्दर ठाउँमा मैदान छ। विदेशबाट आउने खेलाडीका लागि पनि आकर्षक ठाउँ बन्न सक्छ। 

हक्की खेल पछि पर्नुको मुख्य कारण खेल मैदान पनि हो ?

अवश्य पनि हो। खेल्ने ठाउँ नै नभएपछि कहाँ खेल्ने र कहाँ प्रशिक्षण गर्ने ? यही कुरालाई मनन गर्दै हामी आफ्नै स्टेडियम निर्माणका लागि लागिपरेका छौं। बाहिरी जिल्लाको त परको कुरा काठमाडौं उपत्यकामै हक्कीको मैदान छैन। पछिल्लो समय इन्डोर हक्की निकै लोकप्रिय बन्दै गएको छ। त्यसैले जग्गा खोजेर इन्डोर हल निर्माण गर्ने योजना थालेका छौं। 

संघको संरचना चाहिँ कस्तो छ। जिल्ला तथा प्रदेशमा कस्तो अवस्था छ ?

अहिलेसम्म पाँच वटा प्रदेश गठन भएको छ। यस्तै ४० जिल्लामा संघ छ। यो वर्ष सातै प्रदेशमा संघ विस्तार गर्ने तयारी गरिरहेका छौं। 

खेलाडीलाई टिकाइराख्न कत्तिको गाह्रो छ ?

नेपालको लोकप्रिय खेलहरूमा त खेलाडी टिकाउन गाह्रो छ भने हक्कीमा त गाह्रै छ। हक्कीको माया गरेर खेलाडीहरू बस्नु भनेको ठूलो कुरा हो। आफ्नो जीविकोपार्जनका लागि अन्य पेसामा लाग्नु त स्वभाविकै हो। 

यस वर्ष संघले के–के कार्यक्रम गर्दै हुनुहुन्छ ?

प्रदेश र जिल्लालाई बलियो बनाउनु पर्छ भनेर पालिका र जिल्ला स्तरीय प्रतियोगिता जिल्ला संघले आयोजना गर्ने, प्रदेश संघले प्रदेशस्तरीय र केन्द्रीय संघले राष्ट्रिय प्रतियोगितासँगै हक्कीका बारेमा आम मानिसलाई जानकारी दिने उद्देश्यले अन्तर्राष्ट्रि हक्की कन्कलाव गर्ने योजना बनाएका छौं। यससँगै सातै प्रदेशमा विदेशी प्रशिक्षक ल्याएर प्रशिक्षण दिने योजना बनाएका छौं। 

प्रस्तुति : विष्णु थापा 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.