सेनेगलसँग सजग फ्रान्स

सेनेगलसँग सजग फ्रान्स
सुन्नुहोस्

काठमाडौं : फ्रान्स र सेनेगलले फिफा विश्वकपमा एकअर्कासँग प्रतिस्पर्धा गरिरहँदा २४ वर्षअघिको त्यो भिडन्त सम्झनै पर्ने हुन्छ। जतिबेला उपाधि रक्षा अभियानमा रहेको फ्रान्सलाई उद्घाटन खेलमा सेनेगलले १–० गोलले स्तब्ध पारेको थियो। यी दुई टोली मंगलबार मध्यराति समूह ‘आई’को पहिलो खेलमा प्रतिस्पर्धा गर्दै छन्।

स्पेनसँगै यसपाली उपाधिको प्रबल दाबेदारका रूपमा हेरिएको फ्रान्स आफ्नो मुख्य प्रशिक्षक डिडियर डेस्च्याम्पलाई राम्रो बिदाइ दिन चाहन्छ। डेस्च्याम्प अर्थात् खेलाडी र मुख्य प्रशिक्षक दुवै भूमिकामा विश्वकप चुम्ने एक मात्र जीवित व्यक्ति। डेस्च्याम्पले विश्वकपपछि आफ्नो ‘हटसिट’ अर्का पूर्वकप्तान जिनेदिन जिदानलाई छाड्दै छन्। त्यसैले अमेरिका विश्वकपमा उनीसँग सर्वकालीन महान प्रशिक्षक बन्ने अवसर रहनेछ।

अमेरिकामा एक त डेस्च्याम्पलाई दोस्रो विश्वकप चुम्ने अवसर छ। अर्को उनले सबैभन्दा धेरै विश्वकप खेल जित्ने प्रशिक्षक बन्ने मौका पनि छ। यदि फ्रान्सले समूह चरणका तीनवटै खेलमा विजयी हासिल गर्ने हो भने डेस्च्याम्पले जर्मन प्रशिक्षक हेल्मुट सोनको १६ खेलको कीर्तिमानलाई भंग गर्नेछन्। छनोट प्रतियोगितामा फ्रान्सले मात्र दुई अंक गुमाएको थियो। फ्रान्सको यो लगातार आठौं विश्वकप सहभागिता हो। पछिल्ला सातमध्ये चार संस्करणमा टोलीले फाइनल खेलेको छ। २१औं शताब्दीकै सबैभन्दा धेरै विश्वकप फाइनल खेल्ने टोली हो, फ्रान्स।

विश्वकप अघिको मैत्रीपूर्ण खेलमा आइभोरी कोस्टसँग २–१ को पराजय बेहोरेपछि स्टार खेलाडीले भरिएको फ्रान्समाथि प्रश्न उठ्न सुरु भएको थियो। तर, अमेरिका प्रस्थान गर्नुअघि फ्रान्सले नर्दन आयरल्यान्डमाथि ३–१ को जित हासिल गर्दै आफूहरू यसपाली पनि विश्वकप जित्न तयार रहेको सन्देश दिएको थियो।

सेनेगलले पनि छनोट प्रतियोगितामा एक खेल पनि हारेन। अमेरिका विश्वकप सेनेगलको लगातार तेस्रो अनुभव हो। सन् २०२२ मा टोलीले अन्तिम १६ सम्मको यात्रा गरेको थियो। २०१८ मा भने टोली समूह चरणबाटै बाहिरिएको थियो। द लायन्स अफ टेरंगाका रूपमा परिचित सेनगेल अफ्रिकन कप अफ नेसन्स २०२१ को च्याम्पियन हो। अहिले त टोली अफ्रिकाकै सबैभन्दा बलियो टोलीमध्ये एक हो। टोलीले विश्वकपअघि पेरु र गाम्बियालाई हराउँदा अमेरिकासँग ३–२ ले पराजय बहोर्यो‍।

अन्तिम वार्मअप खेलमा सेनेगलले साउदी अरेबियासँग गोलरहित बराबरी खेल्यो। साउदीविरुद्ध सेनेगलले १७ खेलपछि पहिलोपटक बललाई जाली चुमाउन नसकेको हो। यद्यपि पछिल्ला सातमध्ये पाँच खेलमा सेनेगलले क्लिन सिट राखेको छ। मुख्य प्रशिक्षक पेप थियाह २४ वर्षअघि सेनेगलले फ्रान्सलाई हराउँदाका सदस्य थिए। 

फ्रान्सका रक्षक विलियम सालिबा ढाडको चोटबाट मुक्त हुँदै पूर्ण प्रशिक्षणमा फर्किसकेका छन्। युल्स कुन्डे पनि ‘माइनर’ मांशपेशी समस्याका बावजुद फिट देखिएका छन्। गोलकिपर माइक मैगननले पनि प्रशिक्षण सत्रको एक दिन गुमाएका थिए। अहिले उनी पनि पूर्ण रुपमा फिट रहेको बताइएको छ। स्टार खेलाडी तथा कप्तान काइलिन एमबाप्पेले राष्ट्रिय टोलीबाट ५६ गोल गरेका छन्। दुई गोलपछि उनले अहिलेका उच्च गोलकर्ता ओलिभर जिरुडलाई उछिन्नेछन्।

सेनेगलको हकमा स्टार फरवार्ड साडियो माने पूर्ण रुपमा फिट छन्। मानेले इन्जुरीका कारण कतार विश्वकप गुमाएका थिए। असाने डियाओ, चेरिफ एनडियाये र इद्रिसा गुएयेलाई सामान्य फिटनेस समस्याहरू छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.