तिहारको किनमेल भारतमा
बिर्तामोड : तिहारमा रोटी पकाउन चाहिने चिनी र तेल किन्न झापा भद्रपुरका हरि कोइराला सिमावर्ती भारतीय बजार पानीट्यांकीमा पुगे। घरमा तिहारलाई चाहिने रंग, घर सजाउने फूल र बत्ती पनि खरिद गरे। झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोड हुँदै उनी भद्रपुर फर्किए। उनले किनेका अधिकांश सामान यतै बिर्तामोडमा पनि पाइन्थ्यो तर उनको रोजाइ नेपालभन्दा भारतीय बजार नै बन्यो।
धुलाबारीका चन्द्रप्रकाश दाहालले पनि सुगरको औषधि किन्न पानीट्यांकी गएको समयमा उतैबाट चिनी, तेल र भाइटीकाको सामान किनेर आए। झापाको सुरुङ्गाकी फूलमाया लिम्बू तिहारमा दाजु र भाइलाई दिने कपडा किन्न पानीट्यांकी नै पुगिन्। नेपालमा भन्दा केही मूल्य सस्तो र गुणस्तरीय पाउने आशामा भद्रपुरका कोइराला, धुलाबारीका दाहाल र सुरुङ्गाकी लिम्बू पानीट्यांकी पुगेका हुन्।
नेपाली बजारभन्दा केही सस्तो पाउने आशमा नेपाली नागरिक किनमेलका लागि पानीट्यांकी जाने गरेका छन्। अन्य समयमा दैनिक उपभोग्य सामग्री किन्न पुग्ने नेपाली चाडपर्व नजिकिएपछि ठूलो संख्यामा भारततर्फ सामान किन्न जान्छन्। ‘यहाँ आउन धेरै समय पनि लाग्दैन, छानी छानी राम्रो सामान पाइन्छ, त्यसैले यहाँ आएर सामान खरिद गर्न लागेकी हुँ,’ पानीट्यांकीमा किनमेलमा पुगेकी सुरुङ्गाकी फूलमाया लिम्बूले भनिन्।
दसैंको समयमा पनि सबै सामान सोही बजारबाट खरिद गरेको बताउने सनी आफूले जाने बुझेदेखि सबै दैनिक उपभोग्य सामान सोही बजारबाट किनेको बताउँछिन्। चिनी, दाल, जिरा, चना मटर, खानेतेल, लत्ताकपडालगायत सामग्री सस्तो मूल्यमा पाइने हुँदा किनमेल गर्न नेपाली सीमा क्षेत्रमा पुग्ने गरेका हुन्। ‘नेपालमा नपाइने औषधि त्यहीँ पाइन्छ, नियमित औषधि सेवन गर्ने हुँदा औषधि किन्न आउँदा चाहिने सामान पनि खरिद गरेर लैजान्छु,’ धुलाबारीका चद्रप्रकाश दाहालले सुनाए। ३० वर्षदेखि भारतीय बजार पुगेर सामान किन्ने गरेको उनले बताए।
अलि धेरै सामान किन्दा केही पैसा बचत हुने हुँदा चाडबाडका सामग्री खरिद गर्न नेपाली भारततिर जाने गरेका हुन्। पूर्वी नाका काँकडभिट्टा हुँदै मोरङको उर्लाबारी, दमक, झिलझिले, दूधे, शनिश्चरे, बिर्तामोडसहित पहाडी जिल्ला इलामदेखिका उपभोक्ता दिनदिनै पानीट्यांकी बजार पुग्ने गरेका छन्। यहाँ गुणस्तरीय र सस्तो पाइने हुँदा नेपाली ग्राहक बढी आउने गरेको पानीट्यांकी बजारका व्यापारीको दाबी छ। ‘यहाँ आउने सबै नेपाली ग्राहक हुन्, नेपालमा भन्दा सस्तो र राम्रो पाइन्छ भनेर आउँछन्’, पानीट्यांकीका व्यापारी ध्रुव पौडेलले भने।
हरेक दिन गाडी, रिक्सा, मोटरसाइकलमा भारतीय बजार सामान किन्न जानेको घुइँचो लाग्छ। सामान किन्न जानेमा सबैभन्दा बढी सरकारी कर्मचारी र स्थानीय छन्। चाडबाडका अवसरमा नेपाल सरकारले नेपालमै सर्वसुलभ मूल्यमा सामग्री खरिद गर्ने व्यवस्था नमिलाउँदा महँगी बढ्ने र उपभोक्ता नेपाली सीमावर्ती बजार जाने गरेको झापा भद्रपुरका हरि कोइरालाले बताए।
दैनिक हजारौं नेपाली किनमेलका लागि भारतीय बजार जाँदा लाखौँ रुपैयाँ बिदेसिने गरेको छ। नेपालमा पर्ने मूल्य र सो बजारमा केही रकम मात्र अन्तर छ। जुन, त्यहाँ पुग्न गाडी भाडा वा पेट्रोल खर्च जोड्दा बराबर जस्तै हुन्छ। त्यसबाट भारतीय व्यापारी फस्टाइरहेको बिर्तामोडका व्यापारी कृष्ण घिमिरे बताउँछन्।
भारतीय सीमावर्ती क्षेत्रमा खुलेका यी बजारमा पनि नेपालभन्दा २/४ रुपैयाँ मात्र अन्तर देखिन्छ। नेपाली बजारमा हुने कालोबजारी रोक्न सके दैनिक भारतीय बजारमा बाहिरिने नेपाली रुपैयाँलाई रोक्न सकिने स्थानीय बताउँछन्। विशेष गरी झापासँग सीमा जोडिएका भारतीय बजार पानीट्यांकी, नक्सलबाडी, गलगलियालगायत बजारमा सामग्री खरिद गर्न दैनिक हजारौँ नेपालीको भीड लागेको छ।