खड्गजात्राका एकल सारथि
काठमाडौं : यो वर्ष ललितपुरमा विगत २४ वर्षदेखि रोकिएको पायो (खड्ग) जात्रा पुनः सञ्चालनमा ल्याइएको छ। विशेषगरी दसैँको अष्टमी, नवमी र दशमीका दिन जात्राको रौनक धूमधाम थियो। लामो अन्तरालपछि जात्रा सुचारु भएकोमा स्थानीयवासी दंग थिए।
खड्गजात्राको मुख्य आकर्षण खड्गधारीहरू हुन्। उनीहरू खड्ग धारण गरेसँगै लगातार कामिरहेका हुन्छन्। दैत्यको संहार गर्न खड्ग उचालेर बाटोबाटो कुद्छन्। तीमध्ये मंगलबजारका साम्राज्यदेव श्रेष्ठ (४३) पनि एक हुन्। पारिवारिक तथा आर्थिक कारणले यो जात्रालाई निरन्तरता दिन नसकेकोमा उनी निराश थिए। यो वर्ष ललितपुर महानगरपालिका, ललितपुर चेम्बर, विभिन्न संघसंस्था र स्थानीयवासीको पहलपछि साम्राज्य जात्रा सञ्चालन गर्न हौसिए।
जात्रा विधिपूर्वक सम्पन्न भएकोमा उनी मिडियामा छाए। तर जात्रामा ध्यान नदिइएको एउटा पाटो थियो, साम्राज्यले तीनवटै खड्ग एउटै मुठा बनाई समातेका थिए। साधारणतया जात्रामा एक व्यक्तिले एउटा मात्र खड्ग बोक्छन्। त्यसो भए उनले तीनवटै खड्ग किन एक्लै बोके त ?
सात वर्षकै उमेरमा आफ्ना बुवा र हजुरबुवाका साथमा खड्ग समात्ने भइसकेका थिए साम्राज्य। यो काम उनले निरन्तर १८ वर्ष गरे। तीनवटा खड्ग समात्ने जिम्मा उनकै परिवारका तीन पुस्ताले गर्दै आएको थियो। पछि बुवा र हजुरबुवाको मृत्युपछि साम्राज्य एक्लैले यो काम गरे।
घरको सम्पूर्ण जिम्मेवारी साम्राज्यको काँधमा आयो। वर्षको एकपटक गरिने यो जात्रामा हुने रकमको खर्च बेहोर्न उनी असमर्थ भए। उनका अन्य आफन्तले पनि खड्ग धारण गर्न चाहेनन्। यस जात्रामा लिच्छवी वंशका किसी खलले खड्ग धारण गर्नुपर्ने परम्परा छ। पाटनमा अझै यो जातिका ४५ परिवार छन्। साम्राज्य भन्छन्, ‘एक्लै खड्ग समातेर जात्रामा निस्कने कुरा आएन। गुठी संस्थानले पनि सहयोग गरेन।’ यसरी पाटनको मूल आगमघरबाट खड्ग समात्ने व्यक्ति नभएपछि यो जात्रा २४ वर्षसम्म रोकियो।
जात्रा पुनः चलाउन ललितपुरका मेयर चिरिबाबु महर्जनले पहल थालेपछि आफू जात्रामा फर्किएको साम्राज्य बताउँछन्। यद्यपि जात्रामा खड्ग समात्ने व्यक्ति अझै जुट्न सकेका छैनन्। उनले जात्राका लागि व्यक्तिगत रूपमा तीन लाख रुपैयाँ खर्च गरे। जात्रा सम्पन्न भए पनि नगरपालिकाको सहयोग अझै हात नपरेको गुनासो उनको छ।
यसपालि खड्गजात्रा सम्पन्न गर्न साम्राज्य ‘वान म्यान आर्मी’ भएर अगाडि बढे। खड्ग समाउने अन्य मान्छे नपाइए पनि ललितपुरको थुप्रै समूहले उनलाई सहयोग गर्यो। जात्रामा सहयोग जुटेमा अर्को वर्षबाट आफ्नै सात वर्षीय छोरालाई खड्ग समात्न दिने सोच उनले बनाएका छन्।
यो जात्रामा साम्राज्यलगायत मुवाली बजाउने कपाली समुदायका कान्छा कपाली (६०) पनि एक्लो छन्। उनीपछि मुवाली बजाउने अर्को व्यक्ति चयन हुन सकेको छैन। विसं २०७२ को भूकम्पमा पाटन दरबार स्क्वायरमा रहेका थुप्रै मठमन्दिरमध्ये खड्गजात्रा निकालिने मु छैं (आगमघर) पनि भत्कियो। पुनर्निर्माणले गति लिन नसक्दा यहाँका थुप्रै सामान अन्तै सारिएको छ। यसले जात्रा निकाल्ने काममा थप जटिलता थपेको छ।
खड्गजात्रा प्रदर्शन गर्ने परम्पराको थालनी लिच्छवी राजा वसन्तदेवले गरेका हुन्। दुर्गा भवानीको पूजा उपासनामा खड्ग बलि चढाइने भएकाले पाटनको मूल आगमघरबाट खड्ग ल्याई यो जात्रा मनाइन्छ। प्रारम्भमा तीनजनाले मूल देवताको साथमा खड्ग देब्रे हातमा समातेर तलेजु भवानीको मूलचोकभित्र एउटा कोठामा राख्छन्। महाअष्टमीका दिन तीनवटा खड्ग बोकी लगनखेलस्थित महालक्ष्मी मन्दिरमा स्थापना गर्छन्। बेलुका पूजाआजा गरी राँगो बलि दिई महानवमीका दिनमा बाजागाजाका साथ महालक्ष्मी मन्दिरमा स्थापना गरिएको खड्ग तिनले नै पुनः मूलचोकमा पुर्याउँछन्।
विजया दशमीका दिन ललितपुरको ठेचोबाट नवदुर्गाको टोलीसहित मंगलबजारको दोबाटोमा मूल देवता र तीनवटा खड्गसहित भैरवी, काली, वाराही देवीदेवतालाई दुर्गा भवानीको प्रतीकस्वरूप स्वागत सत्कार गरिन्छ। फर्केर पुनः मूलचोकमा नै दुर्गा भवानीको सम्पूर्ण देवीदेवता प्रवेश गराइन्छ। ललितपुर महानगरका मेयर चिरिबाबु भन्छन्, ‘हराएका जात्रापर्वका लागि हामी पर्याप्त बजेटको व्यवस्थापनतर्फ लागेका छौं।’