मदिरामा कडाइ, ९ बजेपछि पानपसल समेत खोल्न नपाइने
राजविराज : जिल्ला प्रशासन कार्यालय सप्तरीले राति ९ बजेपछि मदिरा बिक्री वितरणमा रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अनुमतिप्राप्त बार र रेष्टुरेन्टसहितका होटलले राति ९ बजेसम्म मात्र व्यवसाय सञ्चालन गर्न पाउने भन्दै कडाइ गरेको छ । लागुऔषध दुव्र्यसन, मदिरा दुरुपयोगको रोकथाम नियन्त्रण र व्यवस्थित गर्ने सम्बन्धमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा बसेका सर्वदलीय तथा सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।
तिहार र छठलाई लक्षित गरी जारी सूचना अनुसार मदिरा व्यवसायीहरुले बेलुका ८ बजेसम्म र बार व्यवसायीहरु (रेष्टुरेन्ट) ले राति ८ः३० बजेसम्म मात्र व्यवसाय सञ्चालन गर्न पाउनेछन् ।
साथै जिल्लाका पान पसलहरुmलाई समेत राति ९ बजेसम्म मात्र सञ्चालन गर्न पाउने भन्दै कडाइ गरिएको छ । जारी सूचनामा विद्यालय तथा धार्मिक क्षेत्र वरिपरीको चार किल्ला क्षेत्रमा मदिरा बेचबिखन, सेवन तथा उपभोग गर्न नपाइने व्यवस्था गर्न स्थानीय तहसँग अनुरोध गरिएको छ ।
नेपाल र भारत सीमाको दशगजा क्षेत्रबाट एक किलोमिटरभित्र कुनै पनि प्रकारको मदिरा, मदिराजन्य पदार्थ बिक्री वितरण र सेवनलाई पूर्ण रुपले रोक लगाउने निर्णय गरिएको सिडिओ पौडेलले बताए ।
भारतको बिहारमा मदिरा सेवन र बिक्री बितरण गर्नेलाई कडा सजायको व्यवस्था गरेपछि मदिरा सेवनका लागि भारतीयहरु सीमा क्षेत्रका बजारमा आउने क्रम बढेको छ भने नेपालबाट भारततर्फ मदिरा ओसारपसार समेत बढेको छ । चाडपर्व सुरक्षा योजनाअनुसार जिल्लाका सबै स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको पहुँच विस्तार गरिएको एसपी राजेन्द्र विष्टले बताएका छन् ।