निर्मला प्रकरणका दोषीलाई छिट्टै कारवाही गर्दैछौँ : गृहमन्त्री थापा
काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्मला पन्त प्रकरणका दोषीलाई सरकारले छिट्टै कठघरामा ल्याउने तयारी गरेको आश्वासन दिएका छन् ।
यसको लागि सरकारले प्रक्रिया जारी राखेको बताए । बलात्कार तथा अपराध गर्नेहरुलाई सरकारले कारवाही गरिरहेको भन्दै गृहमन्त्री थापाले यस्तो कारवाहीलाई अझै तिब्र बनाउने जिकिर गरे ।
तिहारको अवसरमा संचारकर्मीहरुको देउसीभैलो कार्यक्रममा गृहमन्त्री थापाले यस्तो बताएका हुन् । यस क्रममा गृहमन्त्री थापालाई सरकारले काम गर्न नसकेको भन्दै प्रश्न गर्दा बचाउको रुपमा उनले यस्तो बताएका हुन् ।
उनले भ्रष्टहरुलाई कारबाही गर्ने र जेल हाल्ने प्रक्रिया चलिरहेको भन्दै सरकारको बचाउ गरेका थिए । यसलाई एक अभियानकै रुपमा सरकारले काम गरेको थापाको दावी थियो ।
यस क्रममा उनले तिहार र आउने पर्वहरुले नेपाल र नेपालीहरुलाई सुखी बनाउन योगदान गरोस् भन्दै शुभकामना समेत दिएका छन् ।