मान्छेको रिस माछामाथि ? पोखरीमा विष हालिदिँदा १० लाखका माछा मरे
चितवन : पूर्वी चितवनको राप्ती नगरपालिका-१ पिप्ले ज्योतिनगरका एक किसानको माछापोखरीमा अज्ञात समूहले विष हालेर लाखौँको क्षति पुर्याएको छ ।
इलाका प्रहरी कार्यालय खैरहनीका अनुसार स्थानीय रत्नबहादुर बर्तौलाको पोखरीमा बुधबार बिहान अकस्मात् माछा मरेका हुन् ।
त्यस क्रममा करीब १० लाख बराबरको क्षति भएको पीडित बर्तौलाले बताएका छन् । उनको छ कट्ठा क्षेत्रफल जमीनमध्ये चार कट्ठामा माछापोखरी छ । पोखरीमा ८० हजारको माछाका भुरा राखिएको थियो । बिक्री गर्ने बेलामा विषादी हालिदिएको बर्तौलाले गुनासो गरेका छन् ।
बर्तौलाले बिहान ५ बजेतिर माछा एकाएक मर्न थालेपछि पोखरीमा हेर्दा विषको बट्टा फेला पारेको बताए । अघिल्लो वर्ष पनि अज्ञात समूहले नै उनको माछापोखरीमा विष हालिदिएको थियो ।
साना किसान कृषि सहकारी, समाज कल्याण बचत तथा ऋण सहकारीलगायतबाट नौ लाख ऋण लिएर माछापालन गरेको उनले बताएका छन् ।
इलाका प्रहरी कार्यालय खैरहनीका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक रुद्र शर्माले विषका कारण माछा मरेको प्रारम्भिक अनुसन्धानमा देखिएकाले थप अनुसन्धान भइरहेको जानकारी दिए । रासस