सभापति देउवाले स्वीकारे : काङ्ग्रेसभित्रकै झगडाले चुनावमा हार भयो
भक्तपुर : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसअघि धेरै ठूलो चुनौती रहेको बताएका छन् ।
शुभ दीपावली, नेपाल संवत् ११३९ न्हुँ द, छठ पर्वको अवसरमा भक्तपुर कांग्रेसले बिहीबार गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले एकले अर्कोलाई हराउने पार्टी भनी लागेको कालो दाग मेटाउने कांग्रेससामू ठूलो चुनौती रहेको बताएका हुन् ।
नेता–कार्यकर्ताहरुको आपसी झगडा र एकले अर्कोलाई हराउने खेलले नै गएको चुनावमा कांग्रेसले हार व्यहोरेको उनको दावी थियो ।
‘आपसी झगडा र कांग्रेसभित्रै एकले अर्कोलाई हराउने खेलले नै चुनावमा कांग्रेस पराजित भएको हो’, सभापति देउवाले भने, ‘पार्टी एकताबद्ध भएको भए कांग्रेसलाई कसैले हराउन सक्दैन ।’
उनले कांग्रेसभित्र मेलमिलाप र सहयोग गर्ने संस्कार नभएको गुनासो गरे । ‘पार्टीले टिकट दिएकै उम्मेदवारलाई जिताउनुपर्छ भन्ने संस्कार हामीमा भएन’, उनले भने, ‘त्यसैले यस संस्कारले तल्लो निकायसम्म बसाल्नुपर्ने आवश्यकता छ ।’
सभापति देउवाले चुनावमा हार व्यहोरे पनि कांग्रेस हतोत्साही र निराश नभएको जिकिर गरे । ‘चुनावको हारबाट कांग्रेस हतोत्साही भएको छैन । निराश भएको छैन’, उनले भने, ‘अब पार्टीलाई एकताबद्ध गर्न सबै लाग्नुपर्छ ।’
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका केन्द्रीय सदस्य सुरेन्द्र केसीले प्रजातान्त्रिक शक्तिहरु एकजुट हुनुको विकल्प नभएको बताए । कांग्रेसले सत्ताको लागि कहिले केपी ओली र पुष्पकमल दाहाललाई च्याप्ने गर्दा लोकतन्त्र र राष्ट्रियता सधैं संकटमा पर्दै आएको उनको भनाइ थियो ।
‘लोकतन्त्र र राष्ट्रियता बलियो बनाउने हो भने प्रजातान्त्रिक शक्तिहरु एकजुट हुनुको विकल्प छैन’, केन्द्रीय सदस्य केसीले भने, ‘सत्ताको लागि कहिले केपी ओली र कहिले पुष्पकलम दाहाल च्याप्ने कांग्रेसको संस्कारले लोकतन्त्र बलियो हुँदैन ।