मुगुमा मदिरा निषेधित नगर घोषणा हुँदै
मुगु : मुगुको छायाँनाथ रारा नगरपालिकाले आफ्ना १४ वटै वडाका बस्तीमा मंसिर १ गतेदेखि मदिरा निषेधित क्षेत्र घोषणा गर्ने भएको छ ।
असोज २ गते बसेको सर्वपक्षीय बैठकले छायाँनाथ रारा नगरपालिका क्षेत्रमा मदिरा सेवन, विक्री र उत्पादनमा रोक लगाउने निर्णय गरेपछि मंसिर १ गतेबाट छाँयानाथ रारा नगरपालिकाका १४ वटै वडामा मदिरा निषेध गरिने छ ।
मदिराकै कारण महिला हिंसा, पारिवारिक झगडा, आपराधिक घटना बढ्न थालेपछि नगरपालिकाले सभ्य समाजका लागि यस्तो पहल गरेको बताएको छ । नगरपालिकाका प्रमुख हरिजंग शाहीका अनुसार यस्तो अभियानमा स्थानीय तथा प्रतिपक्षी दल समेतको समर्थन छ ।
स्थानीय तहमा मदिरा नियन्त्रणका लागि धेरै प्रयास भए पनि सफल हुन नसकेको जनप्रतिनिधिहरु बताउँछन् । मंसिर १ गते मदिरा नियन्त्रित नगरपालिका घोषणाको लागि गृहमन्त्री रामबहादुर थापा, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही र प्रदेशकै गृहमन्त्री नरेश भण्डारी लगायत उपस्थित हुने कार्यक्रम छ ।