कीर्तिपुरमा सर्वकालीन महान् ‘फिल्डर’

कीर्तिपुरमा सर्वकालीन महान् ‘फिल्डर’

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वकालीन महान् फिल्डरका रूपमा परिचित दक्षिण अफ्रिकी पूर्वक्रिकेटर जोन्टी रोड्स क्रिकेट प्रशिक्षणका लागि आइतबार नेपाल आइपुगेका छन् । रोड्स हिमालयको देश नेपाल यसअघि नै आउन चाहन्थे रे । तर संयोग उनलाई यसपटक मिल्यो । पहिलो पटक काठमाडौं ओर्लंदाको उनी निकै खुसी देखिए । पहिलो पटक नेपाल आएका उनी नेपाल र नेपाली क्रिकेटबारे राम्रै जानकार रहेछन् । उनको देश दक्षिण अफ्रिकामा पनि नेपालमा जस्तै पहाड छन् रे, तर सानासाना ।

त्यसैले ठूला पहाड हेर्न उनले नेपाल भ्रमणको योजना तय गरिसकेका रहेछन् । नेपाल क्रिकेट स्कुल र स्पोर्ट्स एड प्रालिले मंगलबारबाट कीर्तिपुरमा सञ्चालन गर्ने १० दिनको हाई पर्फमेन्स क्याम्पका लागि आइतबार नेपाल आइपुगेका उनले आफ्नो त्यो इच्छा पूरा भएको बताए ।

‘नेपालको बारेमा पहिले नै सुनेको थिए । हाम्रो देशमा पनि पहाड छन् तर सानासाना मात्रै’, रोड्सले भने, ‘मेरो परिवार पनि घुमफिरमै रमाउनेछ । म पनि घुम्न रमाउँछु । पहाड हेर्न मन पराउने भएकाले नेपाल पहिले नै लिस्टमा राखिसकेको थिए । यस पटक नेपाल आउने साइत जुरेको छ । समय मिलेसम्म केही मन्दिरहरू घुम्नेछु र पहाडको नजिक पुग्ने प्रयास गर्नेछु ।’

सन् १९९२ देखि २००३ सम्म दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीबाट टेस्ट र एक दिवसीय क्रिकेट खेलेका रोड्सले आफ्नो नाममा केही अनौठो कीर्तिमानसमेत कायम गरेका छन् । उनी फिल्डिङमा अहिलेसम्मकै सर्वाेत्कृष्ट खेलाडी मानिन्छन् । उनी मैदानको कुनै पनि स्थानमा क्याच लिन, सशक्त थ्रोमार्फत रन आउट गराउन माहिर खेलाडी मानिन्छन् । उनकै खेलबाट फिल्डिङमा धेरै परिवर्तन आएको मानिन्छ ।

उही रोड्सले मंगलबारबाट कीर्तिपुरको क्रिकेट मैदानमा नेपाली खेलाडी र प्रशिक्षकहरूलाई १० दिनसम्म प्रशिक्षण सञ्चालन गर्नेछन् । सोही प्रशिक्षणबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा रोड्सले नेपाली क्रिकेटलाई अघि बढाउन खेलाडी छनोट र क्रिकेट प्रशासन सञ्चालनको सही संरचना ‘प्रोपर स्ट्रक्चर’को खाँचो रहेको बताएका छन् । उनले त्यसकै अभावमा नेपाली क्रिकेट गन्तव्यमा पुग्न नसकेको बताए ।

‘सन् २००६ देखि नै म नेपाली क्रिकेटबारे जानकार छु, जतिबेला यू–१९ विश्वकपमा नेपालले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो । त्यो नतिजाले मलाई अचम्मित बनाएको थियो । दक्षिण अफ्रिकाको स्कुल र क्लब क्रिकेट धेरै राम्रो छ । हामीसँग खेल्ने राम्रा सुविधाहरू छन् । तर, थोरै जनसंख्या त्यसमाथि पहाड नै पहाड भएको नेपालले दक्षिण अफ्रिकालाई पराजित गर्छ भने नेपाली युवा खेलाडीसँग क्षमता छ भनेर बुझेको थिए’, १० दिनको क्रिकेट प्रशिक्षण क्याम्पका लागि नेपाल आइपुगेका रोड्सले सोमबार भने, ‘यद्यपि राष्ट्रिय टोली भने कहिल्यै त्यसअनुसारको देखिनँ । मैले धेरैसँग कुरा गरेँ । खेलाडी, प्रशिक्षक सबैसँग कुरा गर्दा समस्या के लाग्यो भने यहा सही संरचना छैन । खेलाडीका लागि संरचना छैन । क्रिकेट सञ्चालनको संरचना छैन ।’

उनले युवा प्रतिभाले खेलेर राष्ट्रिय टोलीसम्म पुग्ने र टोलीबाट बाहिर हुँदा फेरि फर्कने संरचना आवश्यक रहेको बताए । ‘राष्ट्रिय टोली राम्रो हुनका लागि युवा प्रतिभा राष्ट्रिय टोलीका लागि छनोट हुन र टोलीबाट बाहिर हुँदा फेरि फर्कने सही संरचना चाहिन्छ । त्यो संरचना भनेको स्कुल र क्लबस्तरीय प्रतियोगिताहरू हुन्’, उनले भने, ‘नेपालमा त्यसकै कमी देखेको छु । त्यसका साथै क्रिकेट प्रशासनमा पनि सही संरचना हुन जरुरी छ । यदी तपार्इं मैदानमा खेलाडीको एक रूपको प्रदर्शन खोज्नुहुन्छ भने मैदान बाहिरबाट प्रशासनले पनि त्यहीअनुसारको प्रदर्शन दिन सक्नुपर्छ ।’

सन् १९९२ देखि २००३ सम्म दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीबाट टेस्ट र एक दिवसीय क्रिकेट खेलेका रोड्सले क्रिकेट विकास गर्नका लागि सबै क्षेत्र एक ठाउँमा आउनुपर्ने बताए । ‘नेपालले पुबुदु दासानायकेको नेतृत्वमा निक्कै राम्रो गरिरहेको थियो । यदि क्रिकेट प्रशासन राम्रो भयो र अनुभवी विदेशी प्रशिक्षक ल्याउन सक्यो भने नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा अझ राम्रो गर्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरिसकेको छ’, उनले भने, ‘त्यसका साथै नेपाली क्रिकेटलाई अघि बढाउन खेलाडी, प्रशिक्षक, सरकार, निजी क्षेत्र सबै एक ठाउँमा आउन जरुरी छ । त्यो सबैको जिम्मेवारी पनि हो ।’

मंगलबारबाट सुरु हुने १० दिने हाई पर्फमेन्स ट्रेनिङ क्याम्पमा रोड्सले आवेदन दिएर आएका यू–१७ र १९ उमेरसमूहका खेलाडीका साथै नेपाली प्रशिक्षक, यू–१९ राष्ट्रिय टोली र सिनियर राष्ट्रिय टोलीलाई समेत प्रशिक्षण सञ्चालन गर्नेछन् ।

उनले छोटो अवधिमा नेपाली क्रिकेट धेरै सिकाउने प्रयास गर्ने र भविष्यमा पनि नेपाली क्रिकेटसँगको आफ्नो संलग्नतालाई निरन्तरता दिने विश्वास व्यक्त गरे । ‘१० दिनको प्रशिक्षण कार्यक्रमले धेरै प्रभाव पर्छ भन्ने छैन । यद्यपि यो अवधिमा पनि खेलाडी र प्रशिक्षणलाई क्रिकेट कला ‘स्किल’ मात्रै सिकाउने छैन । राष्ट्रिय टोलीलाई के फाइदा पु¥याउन सक्छौ, त्यस विषयमा पनि मेहनत गर्नेछौं’, उनले भने, ‘त्यसका खेलाडी, प्रशिक्षक, एकेडेमी सञ्चालन सबैसँग बसेर नेपाली क्रिकेटलाई कसरी अघि बढाउने भन्ने बारेमा पनि छलफल गर्नेछु ।’

प्रशिक्षण कार्यक्रममा रोड्ससँगै दक्षिण अफ्रिकामा क्रिकेट एकेडेमी सञ्चालक तथा वेस्ट इन्डिज र अफगानिस्तानका पूर्वफिल्डिङ प्रशिक्षक ¥यान मारोनले पनि सहयोग गर्नेछन् । प्रशिक्षणका लागि सोमबारसम्म ४७ जनाले आवेदन भरेको आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.