बन्द भए ललितपुरका क्रसर उद्योग
ललितपुर : ललितपुरमा सञ्चालित बालुवा खानी तथा क्रसर उद्योग एक्कासि बन्द गराइएको छ। करिब तीन दर्जन खानीमध्ये डुकुछापका दुई खानीबाहेक अन्य सबै बन्द गराइएको छ। तर कसले खानी बन्द गर्न आदेश दियो भन्ने विषय स्पष्ट भएको छैन। सबैभन्दा धेरै खानी सञ्चालनमा रहेको गोदावरी नगरपालिका, खानी तथा उद्योग अनुगमनको जिम्मा पाएको जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय पनि यसबारे बेखबर छन्।
खानीको अनुगमनमा जाने तयारी भइरहेको बेला अकस्मात् बन्द भएको खबर पाउँदा अचम्म लागेको जिल्ला समन्वय समितिका अध्यक्ष अम्बरबहादुर खड्काले बताए। ‘कसको आदेशमा बन्द भयो त्यो खोज्दै छु’, उनले भने।
बिनासूचना एवं स्थानीय तहसँग सहकार्य नगरी खानी बन्द भएको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले बताए। यस क्षेत्रमा करिब २५ वटा खानी छन्। तर पनि केही खानी गैरकानुनी रूपमा चलिरहेको उनको भनाइ छ।
खानी सञ्चालनका लागि अनिवार्य लाइसेन्स हुनुपर्ने, नवीकरण गरिनपर्ने, तोकिएको परिणाममा मात्रै सामान निकाल्नुपर्ने र तोकिएको ठाउँमा सञ्चालन गर्नुपर्ने प्रावधान जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख प्रेमराज जोशीले रहेको जानकारी दिए। ‘मापदण्ड पुगेकालाई रोक्न मिल्दैन, गैरकानुनी छन् भने बन्द गर्नु ठीक हो’, उनले भने।
प्रहरीलाई खानी बन्द गर्ने अधिकार नभएको तर सबैको मिलेमतोमा बन्द गराइएको महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी राजकुमार खिउजूले बताए। यसमा नगरपालिका, जिससलगायत सबैको मिलेमतो रहेको उनको भनाइ छ। बन्द भएका खानी तथा क्रसर उद्योगमा पर्याप्त कागजपत्र, नवीकरण र दर्ता नभएका छन्। ‘व्यवसायीलाई नियममा ल्याउन यसो गरिएको हो’, खिउजूले भने।
गोदावरी नगरपालिका–६ का अध्यक्ष तथा क्रसर व्यवसायी विष्णुमान महर्जनले सबै कानुनी प्रक्रिया पूरा गरेर चलाएको क्रसर उद्योग पनि बन्द गराएको भन्दै असन्तुष्टि व्यक्त गरे। डुकुछापको साइनिङ बालुवा वासिङ सेन्टर र अर्काे एउटा उद्योग भने सञ्चालनमा छ। यी उद्योग शक्तिको आडमा सञ्चालन भइरहेको उनको भनाइ छ।
ललितपुरका एसएसपी रवीन्द्र धानुकले भने दसैंतिहारको बिदाममा क्रसरले खोलानाला दोहन गर्छन् भनेर बन्द गरिएको बताए। यस विषयमा संघीय मन्त्रालयलाई सर्कुलर गरिएको उनको भनाइ छ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेश ३ का सबै स्थानीय तहलाई परिपत्र जारी गर्दै असार, साउन र भदौसम्म ढुंगा, गिट्टी, बालुवा, स्लेट, ग्राभेल, रोडा उत्खनन तथा खानी सञ्चालनमा रोक लगाएको थियो।