कफीको मूल्य समायोजन हुने

कफीको मूल्य समायोजन हुने

काठमाडौं : सरकारले कफीको मूल्य बढाउने तयारी गरेको छ। मंसिर १ गतेदेखि लागू हुने गरी किसानको उत्पादन लागतका आधारमा मूल्य बढाउन लागिएको हो।

आर्थिक वर्ष २०७४/७५ मा कफीको मूल्य समायोजन भएको थिएन। समायोजन हुने मूल्य किसानले पाउनेछन्। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले राष्ट्रिय कफी दिवसको अवसरमा मूल्य समायोजन गर्न लागेको हो।

बोर्डका योजना अधिकृत गौरब लुइटेलले सरकारले यो वर्ष टिप्दा टिप्दै अवस्थाको (फ्रेस चेरी) र पार्चमेन्ट कफीको मूल्य समायोजन गर्न लागेको जानकारी दिए। ड्राइचेरी कफीको मूल्य भने यो वर्ष समायोजन गरिने छैन।

उनका अनुसार फ्रेस चेरी प्रतिकिलो करिब पाँच रुपैयाँ वृद्धि गर्न लागिएको छ। यस्तै पार्चमेन्ट प्रतिकिलोमा २५ रुपैयाँ वृद्धि गर्ने तयारी छ।

यसअघि आव २०७३/७४ मा कफीको मूल्य समायोजन भएको थियो। गत आवमा अघिल्लो वर्षकै मूल्यलाई पुनः कायम गरिएको थियो। २०७३/७४ मा अर्गानिक प्रमाणीकरण भएको ‘ए’ ग्रेडको प्रतिकिलो फ्रेस चेरी ८३ रुपैयाँ मूल्य निर्धारण गरिएको थियो।

सोही समूहअन्तर्गत अर्गानिक प्रमाणीकरण नभएको ‘बी’ ग्रेडको कफीलाई ७८ रुपैयाँ कायम गरिएको थियो। पार्चमेन्टतर्फ अर्गानिक प्रमाणीकरण भएको ‘ए’ ग्रेडको प्रतिकिलो कफीलाई चार सय १५ र अर्गानिक प्रमाणीकरण नभएको ‘बी’ ग्रेडको प्रतिकिलोलाई चार सय रुपैयाँ कायम गरिएको थियो। यस्तै ड्राइ चेरीतर्फ ए ग्रेडको प्रतिकिलोलाई एक सय ४०, बी ग्रेडको प्रतिकिलोलाई सय र ‘सी’ ग्रेडको प्रतिकिलोलाई ४० रुपैयाँ किसान मूल्य कायम गरिएको थियो।

नेपालको कफी उत्कृष्ट मानिन्छ। नेपालमा झण्डै दुई हजार ६ सय ५० हेक्टरबाट चार सय ७० मेट्रिक टनको हाराहारीमा कफीको उत्पादन हुन्छ। कफीको माग भने चार हजार मेट्रिक टन छ। नेपालमा हाल २२ वटा जति कफीको उद्योग छन्।

गुल्मी, पाल्पा, स्याङजा, अर्घाखाँची, लम्जुङ, तनहुँ, कास्की, ललितपुर, मकवानपुर, काभे्रप्लाञ्चोक, नुवाकोट, इलाम, पाँचथर, प्युठानलगायत ४२ जिल्लामा कफीको व्यावसायिक खेती हुन्छ। समुद्रीसतहको आठ सयदेखि १४ सय मिटरको उचाइमा कफीको उत्पादन हुन्छ। नेपालमा मुख्य गरी अरेबिया जातको कफी उत्पादन हुन्छ। गुल्मीबाट कफीको व्यावसायिक उत्पादन सुरु भएको इतिहास भए पनि नेपालमै सबैभन्दा बढी उत्पादन भने स्याङजामा हुने गरेको छ।

सिन्धुपाल्चोक, ललितपुर र गुल्मीको कफी विश्वमै उत्कृष्ट मानिन्छ। तीन जिल्लामा उत्पादन हुने कफी वर्षमा ४० टनको हाराहारीमा दक्षिण कोरिया र जर्मनीमा निर्यात हुँदै आएको छ। बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमका अनुसार जापान, अस्ट्रेलिया, अमेरिका, कोरिया, जर्मनी, बेलायत, क्यानाडालगायत मुलुकमा अर्गानिक ग्रिन बीन (कफीको कच्चा पदार्थ) का रूपमा निर्यात हुन्छ। बाँकी कफी स्वदेशी बजारमा खपत हुन्छ।

नेपालमा वार्षिक करिब ३० करोड रुपैयाँको चार सय ३४ देखि चार सय ७० मेट्रिक टन कफी उत्पादन हुन्छ। यसमध्ये करिब ५० प्रतिशत निर्यात हुन्छ। अन्तर्राष्ट्रिय बजारमा वार्षिक आठ हजार मेट्रिक टन कफीको माग छ।

मागअनुसार कफी स्वदेशमा उत्पादन नहुँदा नेपाली कफी विश्व बजारमा प्रतिकिलो ११ देखि १२ डलरसम्ममा बिक्री हुन्छ। यो मूल्य अन्य मुलुकको कफीले पाउँदैनन्।

निर्यात सन्तोषजनक

यो वर्षको पहिलो तीन महिनाको अवधिमा कफीको निर्यात तुलनात्मकरूपमा केही सन्तोषजनक देखिएको छ।

भन्सार विभागको तथ्यांकअनुसार पहिलो तीन महिनामा अस्ट्रेलिया, क्यानाडा, जर्मनी, जापान, कोरिया, नेदरल्यान्ड, फिलिपिन्स, स्वीट्जरल्यान्डलगायत मुलुकमा नेपालबाट तीन करोड ६२ लाख ७५ हजार रुपैयाँको ३१ हजार सात सय ४८ किलो कफी निर्यात भएको छ।

यो अवधिमा भने एक करोड ३५ लाख ९५ हजारको ३४ हजार पाँच सय ६३ किलो कफी बंगलादेश, भारत, थाइल्यान्ड, इटली, नेदरल्यान्ड्स, अमेरिकालगायतबाट आयात भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.