दाजुले तिहारमा माइत आएकी बहिनी र भान्जीमाथि खुकुरी हाने
ताप्लेजुङ : आफ्नै दाजुले तिहारमा टीका लगाइदिनआएकी बहिनी र भान्जीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् । ताप्लेजुङको फुङलिङ नगरपालिका–३ का ३० वर्षीय विवस मगरले भाइटीकाको ४ दिनपछि आफ्नै बहिनी २६ वर्षीय रेनुका भुजेल, भान्जीहरु ८ वर्षीया कृष्टिना र ६ वर्षीया ओरिना भुजेलको टाउकोमा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका हुन् ।
खुकुरी प्रहारबाट तीन जनाकै टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जानकारी दिएको छ ।
बहिनी र भान्जीमाथि खुकुरी प्रहार गरेपछि विवस आफैंले सोही खुकुरीले आफ्नो भुँडीमा रोपेको र उनको अवस्था पनि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका निमित्त प्रमुख प्रहरी निरीक्षक लक्ष्मण थापा मगरले बताए । घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
जिल्ला अस्पतालमा उपचारत अवस्थामा घाइते विवस मगर । तस्बिर : सीताराम गुरागाईँ
‘घाइतेहरुको अहिले जिल्ला अस्पतालमा प्राथमिक उपचार भइरहेको छ,’ प्रहरी निरीक्षक मगरले भने,‘थप उपचारका लागि काठमाडौं लैजान हेलिकोप्टर झिकाइएको छ ।’ घटना मंगलबार बिहान साढे ५ बजे घटेको उनले बताए ।
धनकुटाको पाख्रिबास नगरपालिका–८ घर भएकी रेनुका तिहारमा भाइटीका लगाइदिन माइत आएकी थिइन् । उनी मंगलबार बिहानै माइतबाट विदा भई घर जाने तयारीमा थिइन् । दाजु बहिनीबीच यसअघि कुनै विवाद नरहेको बताइएको छ ।