सम्झनामा बाल्यकालको छठ
काठमाडौं : ‘पोखरी छेउमा राखिएको डोरे खाट। वरिपरि गाडिएका केराका थाम। झिलिमिली बत्ती र दियो बलेको उज्यालोले राति पोखरी टलक्क टल्किन्थ्यो। घरीघरी बेजोडले पड्किने पटाकाको आवाजले पोखरीको रौनक फेरिन्थ्यो।’, लेखक रीता शाहले आफ्नो बाल्यकालको छठको रमाइलो आज पनि बिर्सन सकेकी छैनन्। विभिन्न कामविशेषले पछिल्ला वर्र्ष उनले खुलेर छठ मनाउन पाएकी छैनन्।
माटोबाट बनेका विभिन्न सामग्री जुटाउने, बाँसका भाँडाकुँडा र औजार संकलन गर्ने काममा उनी आमालाई सघाइरहेकी छन्। विशेषत आँपका दाउराबाट माटोको चुलोमा मिठाई तथा परिकार बनाउने गरिन्छ।
ढकुवा, खजुरी, भरुवा, केराका परिकारले छठ सम्झाउँछन्। शाह भन्छिन्, ‘२०६३ सालपछि तराई, मधेस, हिमाल र पहाडका विभिन्न समुदायलाई जोड्ने साझा पर्वको रूपमा छठलाई लिन थालिएको छ। यसले सबै समुदायबीचको एकता र आत्मीयता बढाउन मद्दत गर्छ।’
कथाकार श्याम शाहसँग बाल्यकालको रमाइलो छठका अनगिन्ती दृश्य ताजै छन्। बच्चाहरूले नयाँ लुगा लगाउन छठ पर्खनुपथ्र्यो। तिहारको रमझम सकिनासाथ श्याम शाह पनि नयाँ लुगाको आसमा हुन्थे।
‘तीनचार दिनदेखि सफा गरेर घर टिलिक्क टल्काइन्थ्यो, वरिपरि दियो बालेर उज्यालो बनाइन्थ्यो। गाउँको बीचमा रहेको पोखरीमा सबै घरका मानिस जम्मा हुन्थे। कोही पोखरी सरसफाइमा जुट्थे त कोही पैसा संकलनदेखि प्रसादको तयारी गर्थे’, श्याम भन्छन्, ‘छठलाई कृषि पर्वका रूपमा लिन सकिन्छ। डोम जातिले बनाएका बाँसका सामग्रीदेखि, कुमालले बनाउने माटामा सामग्रीको पूजा गरिन्छ।’
एउटै पोखरीमा सबै जातजाति र समुदायका मानिस मिलेर संयुक्त रूपमा छठ मनाउने गरिन्छ। यसैले पनि यो समावेशी चाड भएको उनको बुझाइ छ।
४०, ५० वर्षअघिसम्म काठमाडौंमा बस्ने तराईवासी आफ्नै कोठामा छठ मनाउन बाध्य थिए। तर अहिले काठमाडौं मा मात्रै ३०/३५ वटा घाटमा छठ मनाउने तयारी भइरहेको छ।
तराई मधेस राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष आनन्द गुप्ताको अनुभवमा पछिल्लो १०, १२ वर्षमा काठमाडौं पनि छठले लोकप्रियता पायो। पहिले तराईवासीले मात्र मनाउने यो चाड अहिले अन्य समुदायले पनि मनाउन थालेका छन्। प्रतिष्ठानले काठमाडौंमा छठ मनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ।
कमलपोखरी, गहनापोखरी, नागपोखरी, गौरीघाट, नख्खु खोला, बल्खुको बागमती किनारलगायतका विभिन्न ठाउँमा छठ पूजा गर्ने तयारी गरिएको छ। स्थानीय क्लब, संघसंस्था र अन्य सामाजिक संस्थाले छठका अवसरमा विभिन्न कार्यक्रम गरिरहेका छन्।
प्रतिष्ठानकै सक्रियतामा ६३ सालपछि रानीपोखरीमा छठ मनाउने व्यवस्था गरिएको थियो। तर पछिल्लो दुई वर्षयता रानीपोखरीमा छठ मनाउने व्यवस्था हटाइएको छ। यसपटक स्थान विशेषलाई मात्र सार्वजनिक बिदा दिइएको हुँदा काठमाडांैमा छठ मनाउनेलाई अप्ठ्यारो हुने गुप्ताले बताए।
तीजको भन्दा कडा व्रत
काठमाडौं ज्ञानेश्वरकी शोभा कँडेलले २०४२ सालमा तराईवासी नेता हृदयेश त्रिपाठीसँग प्रेमविवाह गरेकी हुन्। त्यसको दुई वर्षपछि उनले पहिलो पटक छठ पर्वमा सूर्यदेवको पूजा र आराधना गरिन्। आफूले बस्दै आएको तीजको भन्दा कडा व्रत थियो छठको। निकै कडाइका साथ नियम पालना गर्नुपथ्र्यो।
छठ पर्वले उनलाई लक्ष्मीपूजाकै झल्को दिने गर्छ। अहिले उनको परिवारमा ब्राह्मण र तराईवासी समुदाय दुवैका संस्कृति मनाइन्छ। दुवैतिरका चलनको राम्रा पक्ष प्रयोगमा ल्याइन्छ। पहिलो पटकको छठ पूजा सम्झँदै उनी भन्छिन्, ‘हरेक दिन नुहाएर पूजा गर्नुपर्ने, कडा खालको चलन थियो, तै पनि परिवारका अन्य सदस्यसँगै रमाइलो गरी छठ पूजा गरेँ।’ यस पटकको छठमा उनले घरमै ब्राह्मण बोलाएर पूजा गर्ने योजना गरेकी छन्। प्रसाद चढाउन अन्य सदस्यलाई छठपूजा समारोहमा पठाउँदै छिन्।
३५ वर्षअघि जेपी गुप्तासँग विवाह गरेकी सरस्वती पुरी पनि छठ पर्व अत्यन्तै रमाइलो मान्छिन्। तर सबै विधि पु¥याएर उनले अहिलेसम्म छठको व्रत भने बसेकी छैनन्। सासू व्रत बसेको बेला परिवारका सबै सदस्य मिलेर छठ पूजामा सहभागी हुन्थिन् उनी।
यसपालि पनि छठ पूजा हेर्न उनी गाउँको घर जाने सोचमा छिन्। उनी छठका हरेक विधि र प्रक्रियाले सामाजिक सद्भावको सन्देश बाँड्ने बताउँछिन्। के हिमाली, के पहाडी, के तराईवासी छठ अहिले सबैको साझा पर्व बनेको छ। भन्छिन्, ‘एकै ठाउँमा सम्पूर्ण गाउँठाउँका मान्छे भेला भएर बिना भेदभाव समावेशी तवरले मनाइने यो चाड एकताको प्रतीक हो।
उनको परिवारमा पनि सांस्कृतिक एकता छ। उनी घरकी जेठी बुहारी, उनको बिहे अगाडि घरमा दसैंमा टीका लगाउने चलन रहेनछ। जब उनको बिहे भयो टीका लगाउने चलनको सुरुआत भयो। छठ पर्व भन्नसाथ झिलिमिली बत्ती, सफा पारेर लिपेको घर, विभिन्न प्रकारका मिष्ठान्न भोजन र सामूहिक नाचगानको दृश्य उनको मनमा आउँछ।