नेकपा अध्यक्ष प्रचण्ड र गृहमन्त्री थापा पूजाआजा र घुमघाममा
बेनी : तातोपानी कुण्डमा स्नान गरेर प्राकृतिक उपचार र विश्रामका लागि बेनी आएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जिल्लामा सञ्चालित योजना अनुगमन र पर्यटकीय स्थलहरुको घुमघाममा व्यस्त छन्।
गृहमन्त्री रामबहादुर थापा बादल सहित सोमबार बेनी आएका प्रचण्ड मंगलबार बिहानै पैदल यात्रा गरेर पर्वतको जलजला गाउँपालिकामा पर्ने ऐतिहाँसिक मल्लाजको डाँडोमा पुगेका थिए।
बेनीदेखि १५ मिनेट उकालो हिँडेपछि पुगिने सो स्थानबाट म्याग्दी र कालीगण्डकी नदीको दोभानमा अवस्थित म्याग्दीको सदरमुकाम बेनी बजारको रमणीय दृष्य अवलोकन गर्न सकिन्छ।
मल्लाजबाट फर्किएलगत्तै दाहाल र थापा प्रसिद्ध मुक्तिक्षेत्र प्रवेशद्वार बेनी नगरपालिका ९ स्थित गलेश्वर मन्दिरको अवलोकन र पूजाआजाका लागि गएका थिए। बेनीदेखि तीन किलोमिटर उत्तर अवस्थित गलेश्वर मुस्ताङ जाने बाटोमा पर्छ।
उनीहरूले ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वर मन्दिरमा पूजाआजा समेत गरेका दाहालका स्वीकय सचिव जोखबहादुर महराले बताए। गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसी र उपाध्यक्ष पण्डित भीमनाथ पराजुलीले गलेश्वर मन्दिरको इतिहास, महत्व र गतिविधि तथा समस्याका बारेमा जानकारी गराएका थिए।
अध्यक्ष दाहालले मंगलबार बिहानै कालीगण्डकीमा निर्माणाधीन पक्की तटबन्ध योजना, ४० मेगावाटको रघुगंगा जलविद्युत आयोजना र कालिगण्डकी कोरीडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजना स्थलको अनुगमन गर्नुभएको नेकपाका नेता गोविन्द पौडेलले जानकारी दिए।
बेनी बजार संरक्षणका लागि निर्माणाधीन पक्की पर्खाल गत भदौ २७ गते कालिगण्डकीमा आएको बाढीले बगाएको थियो। बेनी–जोमसोम–कोरला तिब्बत नाका जोड्ने सडक हो। रघुगंगा जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरणले निर्माण सुरु गरेको छ।
नसा सम्बन्धी समस्याबाट थलिएकी श्रीमती सीता दाहाललाई बेनी ४ स्थित प्राकृतिक तातोपानी कुण्डमा स्नान गराएर उपचारका लागि सोमबार बेनी आएका दाहाल र गृहमन्त्री थापा बुधबार फर्कने कार्यक्रम छ।
बेनी बसाइ सकेर बुधबार राजधानी फर्कनुअघि कार्यकर्ता, उद्योगी ब्यापारी, जनप्रतिनिधिसँग भेटघाट र पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको स्वकीय सचिव महराले बताए। दाहाल र थापाका परिवारले मंगलबार दुई पटक तातोपानी कुण्डमा स्नान गर्ने कार्यतालिका छ।
बिरेनुनको गन्ध आउने ५० डिग्री तातोपानी संकलन गरिएको तलाउमा डुबेर स्नान गरेमा चोट पटक लागेको, नसा, घाउ, सुन्निएको, बज्रिएको, बाथ, गानो, गोला जस्ता चिसोका कारण लाग्ने स्वास्थ्य समस्या निको हुने त्यहाँ स्नानका लागि आएकाहरूको भनाई छ।