चीनको हाइनान प्रान्तसँग मितेरी साइनो गाँँस्दै गण्डकी प्रदेश
पोखरा : गण्डकी प्रदेशले चीनको हाइनान प्रान्तसँग मितेरी साइनो गाँस्दैछ। त्यसबारे शुक्रबार दुई पक्षीय समझदारीपत्रमा हस्ताक्षर हुँदैछ।
मन्त्रिपरिषदको बिहीबारको बैठकले गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री र उनका समकक्षीले समझदारीपत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको छ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ ९ असोजदेखि १५ असोजसम्मको हाइनान भ्रमणमा रहँदा २ प्रदेशबीच मितेरी साइनो गाँस्ने सहमति बनेको थियो।
मन्त्रिपरिषदले नेपाली, अंग्रेजी र चिनियाँ भाषाको समझदारी तयार पारी त्यसमा हस्ताक्षर गर्ने चाँजो मिलाइसकेको सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए। मितेरी साइनो गाँस्ने प्रयोजनकै लागि चिनियाँ टोली नेपाल आइसकेको छ।
मन्त्री बस्नेतका अनुसार २ प्रदेशबीच पर्यटन, शिक्षा, संस्कृति, ऊर्जा र व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले मितेरी साइनो गाँस्न लागिएको हो। प्राविधिक महाविद्यालय खोल्ने तयारीमा जुटेको गण्डकीलाई हाइनानले व्यवस्थापन लगायत विषयमा सहयोग गर्ने बचन दिएको भ्रमणबाट फर्किँदा मुख्यमन्त्री गुरुङले दिएका थिए। ऊर्जामा समेत चासो राखेको हाइनानको त्यससम्बन्धी टोली भने बिहीबारै पोखरा आइपुगेको छ। दुई प्रदेशका राजधानी सहर क्रमशः पोखरा र हाइकावोबीच पनि शुक्रबारै भगिनी सम्बन्ध गाँस्ने कार्यक्रम छ।
मन्त्रिपरिषदको बिहीबारको बैठकले नयाँ दिल्लीमा हुने मुख्य न्यायाधिवक्ताको सम्मेलनमा गण्डकीका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेलाई र श्रीलंकामा हुने कृषि सम्मेलनमा कृषि सचिव शरदचन्द्र श्रेष्ठलाई पठाउने निर्णय पनि गरेको प्रवक्ता बस्नेतले जानकारी दिए।