आमा–बुवा ‘पाल्ने’ र ‘फाल्ने’ का नाममा
सन्तानले यस्तो व्यवहार गरून्, जीवनको उत्तराद्र्धमा हड्डीबाटै हाँस्न पाइयोस् !
‘उमेर १०१, नागरिक बल्ल !’ कात्तिक १२ गते अन्नपूर्ण पोस्ट्को प्रथम पृष्ठमा यो समाचार छापियो। नागरिकता हातमा बोकेकी प्रफुल्ल हजुरआमाको तस्बिर थियो त्यसमा। मीठो मुस्कानले खुम्च्याउने अनुहारका मुजामा स्फूर्तिजन्य सौन्दर्य थियो।
गोफ्ले टोपी थिच्ने गरी लगाएको रंगीन फ्रेमयुक्त चस्माले गजबको चमक दिएको थियो। सुदूर पश्चिमको गरिबीका बाबजुद उनको चमकताले चरम सुखको अनुभूति दिन्थ्यो। उनका सन्तानलाई धन्यवाद, जसले यस उमेरसम्म आमाको मुहार उज्यालो राख्न सके। लाग्छ– तिनले धर्म खोज्दै कुनै मन्दिर धाउनैपर्ने छैन !
तर त्यही समाचारको अन्त्यमा लेखिएको थियो, ‘उनी माइला छोरासँग बस्दै आएकी छन्।’ सहकर्मीहरूको बैठकमा त्यस दिन मैले सोधें, ‘यो लेखाइमा के गल्ती पाउनुभयो ? ’ अशुद्ध अक्षर खोज्नतिर लागे सबै। मैले भनें, ‘म ती आमाको माइलो छोरो भएको भए अन्नपूर्ण पोस्ट्सँग झगडा गर्न आउने थिएँ। हामीले प्रयोग गरेको भाषाले उनको मानहानि भएको छ।’
‘कसरी ? ’ धेरैले जिज्ञासा राखे।
‘उनी माइला छोरासँग बसेकी होइनन्’, मैले भनें, ‘माइला छोराचाहिँ आमासँग बसेका हुन्। त्यो अवसर पाएकामा उनी भाग्यमानी छन्।’
हाम्रो टिमको चित्त बुझ्यो। दोष हाम्रो सोच र संस्कारको हो। जसले आमा–बुवालाई श्रद्धा गरेको हुन्छ, उहाँहरूको छत्रछायामा बस्न पाएर भाग्यमानी ठानिरहेको हुन्छ, तैपनि भनिरहेको हुन्छ, ‘आमा–बुवा मसँग बस्नुहुन्छ।’
‘मैले आमा–बुवा पालेको छु।’
‘बुढेसकालमा बाउ–आमा पाल्ने मै हुँ।’
‘बूढाबूढी पाल्नै गाह्रो।’
‘बूढाबूढीजस्ता अप्ठ्यारा कोही हुँदैनन्।’
समाजमा यस्ता संवाद सुनिन्छन्। कतिपयले ‘पाल्ने’ झन्झटले आ श्रममा लगेर फालिदिएका पनि छन्। अबुझ–असक्षमलाई छाडौं, पढालेखा–हुनेखानेकै यो हविगत छ। कतिले दुव्र्यवहार गरेर राखेका छन्। आफ्नै सन्तानका कर्कश वचन कति आमा–बुवाले कानको जाली फुट्ने गरी सुनेका छन्।
यही दिन देख्नुपर्ला भनेर जिन्दगीभरि दुःख गरेका हुन् त तिनले ?
नेपाललाई पितृप्रधान देश भनेको सुनिन्छ। तर, होइन। यो पुत्रप्रधान देश हो। बाबु–आमाले दस नङ्ग्रा खियाएर सम्पत्ति जुटाउँछन्। थुपार्छन्। समाज र आफन्तका अगाडि आफ्ना सन्तान (खासगरी छोरा) सम्पन्न देखिऊन् भनेर आधा पेट खाँदै जमिन थप्छन्। बैंक ब्लालेन्स बढाउँछन्। छोरीलाई तुलनात्मक कमसल शिक्षा दिन्छन्। बँचेको तिनलाई अंशमा भाग लाग्दैन। तिनै छोराले आमा–बुवाका सम्पत्ति चिरा–चिरा पार्छन्। त्यसमै घर–घर बनाउँछन्। आफ्ना श्रीमती र बालबच्चा च्यापेर बस्छन्।
हानाथाप सुरु हुन्छ– बूढाबूढी कसले ‘पाल्ने’ ?
प्रायः तर्किनै खोज्छन्।
वास्तवमा उमेरमा ती आफैं पालिन्छन्। बुढेसकालमा जिन्दगीभरिको कमाइले पक्कै खान पुग्छ। तर, सन्तानले निखार्छन्। अनि, ‘पाल्नुपर्ने’ ठानेर परपर गर्छन्। पुत्रको खटनपटन चल्छ। आमा–बुवाले उठ् भने उठ्नुपर्छ। बस् भने बस्नुपर्छ। यो सबैलाई भनिएको होइन, अधिकांश यस्तै देखिन्छ।
वास्तवमा आमा–बुवाले सन्तान जन्माउँछन्। हुर्काउँछन्। पाल्छन्। पढाउँछन्। ठूलो मान्छे बनाउँछन्। तिनैलाई उल्टो ‘पाल्ने’ शब्द प्रयोग गर्दै सन्तानले ‘भार’ मान्छन्। आफू पालिएर यत्रो भएकामा आमा–बुवाको ‘दायित्व’ ठान्छन्। श्रद्धापूर्वक तिनको सेवा गर्ने ‘कर्तव्य’ भने भुल्छन्।
ती मानव होइनन्।
०००
एउटी जमिनदार आमाका छोरा–बुहारी अमेरिका बस्दा रहेछन्। श्रीमान् उमेरमै बिते। पुख्र्यौली जग्गा–जमिन धेरै थियो। ती विधवाले त्यही बेच्दै एक्लो छोरालाई पढाइन्÷बढाइन्। बाँकी रहेको पनि धेरै थियो।
लामो बसाइपछि छोरा–बुहारी अमेरिकाबाट आए। आमाको हर्षको सीमा रहेन। दोस्रो हर्षको प्रस्ताव आयो– ‘आमा, नेपालको सबै बेचबिखन गरेर अमेरिका नै जाऊँ।’ उनलाई पुख्र्यौली माटोभन्दा छोरा–बुहारीले रोजेको बाटो ठीक लाग्यो। उनीहरूका खुसीका लागि उनी जेसुकै बेच्न तयार थिइन्। अझ खुसीको विषय त उनी पनि सन्तानसँगै बस्न पाउने भएकी थिइन्।
हरेक वृद्धा श्रममै भत्ता दिने व्यवस्था होस्। नागरिकता हेरेर होइन, उमेर अन्दाज गरेरै किन नहोस्, तिनलाई हातहातै दिइयोस्। भत्ता त वृद्धवृद्धालाई दिइने हो, नागरिकतालाई होइन।
जग्गाजमिन बेचियो। अमेरिका उड्न उनीहरू विमानस्थल पुगे। तर, छोरा–बुहारी कुन जहाजमा कतिबेला उडे, उनले पत्तै पाइनन्। केही घन्टा बिछोड भएपछि उनी रुँदै बसिन्। विमानस्थल कर्मचारीहरूले बुझिदिँदा उनीहरू आमालाई एक्लै छाडेर उडिसकेका रहेछन्।
ती आमा एउटा आ श्रममा भेटिइन्। मैले यो विषयलाई केही वर्षअघि पनि अलिकति उठाएको हुँ। निकृष्ट सन्तानको उदाहरण दिँदा यसलाई छुटाउनै सक्दिनँ। आ श्रमका आमाहरूमाथि म अध्ययन गरिरहेको छु। यसभन्दा कहालीलाग्दा घटना धेरै छन्। समयक्रममा तिनलाई उजागर गर्ने नै छु।
यहाँ एउटा प्रसंग भने जोड्न चाहन्छु। पशुपति वृद्धा श्रममा केही आमा–बुवासँग सुखदुःखको भलाकुसारी भयो। त्यसमा बस्ने अधिकांश वृद्धवृद्धा परिवारबाट गलहत्याएर आइपुगेका छन्। छोरा–बुहारीले खेदाएका छन् तिनलाई। जन्मदाताले जिन्दगीभर श्रम गरेको कमाइ तिनले कब्जा गरे।
बुढेसकालमा घरबाटै धपाए। अचम्मको कुरा– तिनको वृद्धभत्ता पनि गाउँमा तिनै ‘पापिष्ट’ ले बुझ्दा रहेछन्, जसले आ श्रमको वास गराए। सरकारको नियम अचम्मको छ, भत्ता सार्न स्थानीय तहले स्वीकृति दिनुपर्छ। आ श्रमस्थलको स्थानीय तहमा विचरा तिनको पहुँच कसरी हुनु ? कुनै माध्यमबाट त्यहाँसम्म पुगे बसाइँसराइ मागिन्छ। बसाइँ सरेर आश्रमको शरणमा को आउँछ ?
सरकारले सामाजिक सुरक्षा भत्ता खातामा राख्ने व्यवस्था पनि कतैकतै नगरेको होइन। तर, ती बेसहारालाई कसले खाता खोलिदेओस् ? मेरो आग्रह छ– हरेक वृद्धा श्रममै भत्ता दिने व्यवस्था होस्। नागरिकता हेरेर होइन, उमेर अन्दाज गरेरै किन नहोस्, तिनलाई हातहातै दिइयोस्।
भत्ता त वृद्धवृद्धालाई दिइने हो, नागरिकतालाई होइन। जो परिवारमै बसेका छन्, तिनलाई फरक नपर्ला। तर, आ श्रममा बस्ने र उमेरको दायरा पुगेका सबैले यो पाउनैपर्छ। नियम–कानुनको बन्धन त्यस्ता निर्धालाई लागू हुनु हुँदैन।
जसले आमा–बुवालाई राम्रो व्यवहार गर्नुहुन्छ, मनन गर्नुहोस्। जसले गर्नुहुन्न चेत्नुहोस्/सिक्नुहोस्। जसका सन्तान छैनन्, मन बहलाउने साथी छैनन्, तिनका लागि आ श्रम ठीक हुन सक्छ। जसले सन्तानका लागि जिन्दगीभरि दुःख गरे, तिनका लागि कुनै पनि आ श्रम बनेका होइनन्।
दरबार, महल, घर, कटेरो वा गोठ नै किन नहोस्, सन्तानको सेवासाथ आफ्नै थलो तिनलाई सुहाउँछ। सानामा तपाईंको गुहु–मुत सोहर्ने जन्मदाताको सम्मान गर्न किन कञ्जुस्याईं ? यो बुझ्नु जरुरी छ कि– जसले क्षमता हुँदाहुँदै आमा–बुवालाई आ श्रममा पठाउँछ, उसको भविष्यको वास त्यहीं हुनेछ।
जसले जन्मदातालाई दुव्र्यहार गर्छ, भविष्यमा उसले पक्कै त्यही भोग्नेछ। जसले खान दिँदैन, त्यो उमेरमा ऊ पनि भोकै हुनेछ। जसले लाउन दिँदैन, ऊ पनि पछि नांगै हुनेछ।
अहिले पो लक्काजवान छौं, पछि त हामी पनि बूढाबूढी हुन्छौं। हामीले जे सिकाउँछौं, हाम्रा सन्तानले त्यही नक्कल गर्छन्। हाम्रा आमा–बुवालाई जस्तो व्यवहार गर्छौं, भोलि छोरा–छोरीबाट त्यही पाउँछौं।
किन हामी यो सोच्दैनौं ?
०००
‘घरमा को–को हुनुहन्छ ? ’ कसैले सोध्छ।
‘हामी चारजना’, धेरैको उत्तर हुन्छ, ‘अनि बुवा–आमा।’
अचेल प्रायः का दुई सन्तान हुन्छन्। ‘हामी चार’ भनेको लोग्ने–स्वास्नी र बालबच्चा। तीन सन्तान भए पाँच, एक भए तीन। संख्या घटबड हुन्छ। तर, आमा–बुवा अन्तिममै पर्छन्। उनीहरूचाहिँ ‘थपिएका’ वर्गमा राखिन्छन्। पछाडि जो–जो आउँछन्, बरु ती पो थपिएका हुन् त। ‘आमा–बुवा, हामी दुईजना अनि बालबच्चा’ किन नभन्ने ?
यो प्रवृत्तिगत त्रुटि हो। सोचको संकीर्णता हो। यसबाट जबसम्म हामीमाथि उठ्न सक्दैनौं, पापको भारी बोकिरहनेछौं। अहिलेको पुस्ताले यो बुझ्नैपर्छ। किनकि आमा–बुवा न पाल्ने ‘वस्तुभाउ’ हुन्, न फाल्ने ‘सामग्री’।
०००
सरकारले कमाइको १० प्रतिशत आमा–बुवाका लागि छुट्ट्याउनुपर्ने विधेयक ल्याउँदैछ। ‘मलाई सन्तानले हेरेन’ भन्दै जानेलाई कानुनले दिलाउने बाटो खोलिदिनेछ। हरेक आमा–बुवा महान् हुन्छन्, सन्तानबाट केही पाउन उजुरी बोकेर उनीहरू कुनै निकाय धाउँदैनन्। ती त जम्माजम्मी यति चाहन्छन्– सन्तानले यस्तो व्यवहार गरून्, जीवनको उत्तराद्र्धमा हड्डीबाटै हाँस्न पाइयोस् !