ठगी गर्ने पम्पलाई इन्धन नदिने

ठगी गर्ने पम्पलाई इन्धन नदिने

काठमाडौं : नेपाल आयल निगमले डिजिटल प्रविधि प्रयोग गरी कम परिमाणमा इन्धन उपलब्ध गराउँदै आएका पेट्रोल पम्पलाई इन्धन नदिने निर्णय गरेको छ। गुणस्तर तथा नापतौल विभागले दसैंअघि र पछिको अनुगमनका क्रममा कैफियत फेला पारेका सात पम्पलाई इन्धन उपलब्ध नगराउने निर्णय भएको हो। निगमले सबै डिपोलाई पत्राचारमार्फत पाँच बुँदे निर्देशन पनि दिएको छ।

निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईकाअनुसार उपत्यकाको एक, बाराको पाँच र बुटवलको एक गरी सात पम्पलाई छानबिन सम्पन्न नहुँदासम्म इन्धन उपलब्ध नगराउने निर्णय गरेको छ। निगमले देशभरकै इन्धन डिपोलाई पत्राचार गर्दै इन्धनको गुणस्तर र परिमाणमा ठगी गर्ने पम्पको इन्धन रोक्का गर्न निर्देशन दिएको हो।

भट्टराईकाअनुसार गुणस्तर तथा नापतौल विभागले अनुगमनको क्रममा पम्पको डिस्पेन्सिङ डिस्प्लेमा देखाएभन्दा इन्धनको परिमाण कम फेला पारेको थियो। मदर बोर्डमा अत्याधुनिक सफ्टवेयर प्रयोग गरी पम्प सञ्चालकले यसरी ठग्दै आएका थिए। यसरी अनुगमनको क्रममा काठमाडौंको सानो भर्‍याङस्थित बंगलामुखी आयल स्टोर, बाराको कलैयास्थित विजय आयल स्टोर, अमित आयल स्टोर, मोहम्मद आयल स्टोर, श्रीशंकर आयल स्टोर र स्वस्थानी आयल स्टोरमा कैफियत फेला पारिएको थियो।

यसैगरी विभागको अनुगमन टोलीले शुक्रबार बुटबलको शंकर आयल स्टोरले पनि त्यस्तै प्रकारका प्रविधि प्रयोग गरी कम परिमाणमा इन्धन बिक्री वितरण गरेको फेला परेको थियो। ‘सातवटा पम्पलाई छानबिन नसकुञ्जेलसम्म इन्धन उपलब्ध नगराउन सबै डिपोलाई पत्राचार गरिसकेका छौं’, निमित्त कार्यकारी निर्देशक भट्टराईले भने। अनुगमनका क्रममा कैफियत भेटिए अन्य पम्पलाई सोही कारबाही गरिने उनले बताए।

गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीकाअनुसार यसरी पम्प सञ्चालकले अत्याधुनिक डिजिटल प्रविधि प्रयोग गरी प्रतिलिटर चारदेखि पाँच प्रतिशत कम परिमाणमा उपभोक्तालाई इन्धन उपलब्ध गराउँदै आएका थिए। उपभोक्ता ठग्ने पम्पको संख्या करिब १५ प्रतिशत रहेको विभागको अनुमान छ।

पुडासैनीकाअनुसार अनुगमन टोलीले क्रमिक रूपमा अनुगमन गर्नेछ। छानबिनका क्रममा कैफियत भए कारबाही प्रक्रिया अघि बढाइनेछ। विभागकाअनुसार वीरगञ्जस्थित अरनिको ट्रेडर्सले बिक्री गरेको गिलवार्को ब्रान्डको डिस्पेन्सर पम्पमा यस प्रकारको धन्दा भएको ठहर छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले किल्बर ब्रान्डको डिस्पेन्सर पम्प आयात गर्न नीतिगत रूपमा रोक लगाउने तयारीसमेत थालेको छ।

डिपोअन्तर्गतका बिक्रेताले दैनिक बिक्री गर्ने खुद्रा र थोक बिक्री परिमाणसम्बन्धी विवरण पम्प क्षेत्रमै सार्वजनिक गर्न निगमले निर्देशन दिएको छ। यस्तै पम्पमा जडान भएका डिस्पेन्सर मेसिनको दैनिक तथा मासिक रूपमा टोटलाइजरको विवरणसमेत दुरुस्त राख्न निर्देशन दिइएको छ। निगमले पम्पको डेलिभरी मिटरको परिमाण दुरुस्त छ वा छैन भनी विज्ञको सहयोगमा नियमित रूपमा अनुगमन गर्न पनि निर्देशन दिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.