हजुरआमा पनि सुरक्षित छैनन्

हजुरआमा पनि सुरक्षित छैनन्

हामीले सामाजिक सञ्जालमार्फत अदृश्य रूपमा गरिरहेको हिंसा बन्द गर्नुपर्छ। सुरक्षाको दृष्टिले पनि आफ्नो व्यक्तिगत गोपनीयता कायम राख्नुपर्छ।


अफिसबाट महानगर यातायात चढेर घर फर्किंदै थिएँ, अचानक सहचालक र एकजना दिदीको चर्काचर्की सुनियो। दिदी भन्दै थिइन्, ‘गाडी खाली छ, मान्छे नभएर पो मेरो बाबुलाई सिटमा राखेको, नत्र काखमै राखिहाल्थेँ नि।’ उता सहचालक भन्दै थियो, ‘सिटमा बसाएपछि भाडा त दिनैपर्छ।’ आखिरमा ती दिदीको केही चलेन, सात/आठ वर्षे बच्चाको पनि पूरा भाडा तिरेर फत्फताउँदै झरिन्। सँगैको सिटमा बसेकी एकजना आमैले भनिन्, ‘त्यो केटी त कडा रैछे, डन बन्न खोज्दी रैछे।’ म सोच्न बाध्य भएँ। के ती महिला डन बन्न खोजेकी थिइन् ?

सायद ती दिदीको ठाउँमा म भएको भए पनि भाडा दिन मान्ने थिइनँ। मलाई ती आमैको वाक्यले घोचिरह्यो। मलाई यहाँ हिंसा भएजस्तै लाग्यो। मेरो बुझाइमा हिंसा दुई किसिमका हुन्छन्, एउटा शारीरिक र अर्को मानसिक।

महानगर यातायातमा आमैले र सहचालक भाइले ती दिदीमाथि गरेको व्यवहार पनि महिला हिंसाको प्रतीक हो। ती दिदीको ठाउँमा कोही पुरुष हुन्थ्यो त, सायद ऊमाथि सहचालकले दुव्र्यवहार गर्ने थिएन। अनि ती आमैले पनि टीकाटिप्पणी गर्ने थिइनन्। सायद पुरुषको काम नै डन झैं व्यवहार गर्ने हो भन्ने ती आमैको सोचाइ हुन सक्थ्यो।

भर्खरै नारीहरूको चाड तीज सकियो, कति अविवाहिता दिदी–बहिनी असल पति पाउने आशले र कति विवाहिता दिदी–बहिनी पतिको लामो आयुको कामना गरेर निर्जल व्रत बसे होलान्। वास्तवमै तीजको व्रत बस्नाले पतिको दीघार्यु हुने भएको भए कोही पनि विधवा हुनुपर्ने थिएन।

हाम्रो समाजमा छोरा र छोरीमाथि जति नै बराबरीको व्यवहार गरेको छु भनेर छाती फुलाउने परिवारले पनि छोरी र बुहारीमाथि समान व्यवहार गर्दैनन्। दिनभरि अफिसको कामले थाकेर आएको छोरो, बुहारी र अविवाहित छोरीमध्ये घर आएपछि भान्छामा छिरेर धन्दा गर्नुपर्ने जिम्मेवारी बुहारीकै काँधमा किन छ ? अझ मलाई अचम्म त त्यस बेला लाग्छ, जब मेरो आफ्नै साथी जो उसको श्रीमान्सरह पढेकी छे, बराबरी तलब खान्छे, आत्मनिर्भर छे, तर पनि अफिसबाट अबेला घर पुगेपछि भान्छाको जिम्मा पनि आफैं सम्हाल्छे, अनि गर्वका साथ भन्छे, त्यो त मेरै जिम्मेवारी हो। अनि उसकी सासू, नन्द र पतिको जिम्मेवारीचाहिँ के त ?

जसरी अहिले मिडियाहरूले बलात्कारका घटनालाई सार्वजनिक गरिरहेका छन्, यस्ता आपराधिक घटनाहरू माथिबाट पर्दा हटाउनु भनेको असाध्यै आँटिलो काम हो। तर, शारीरिक हिंसा मात्र महिला हिंसाका प्रतीक होइनन्। एउटा सभ्य समाज अनि त्यसभित्रको आदर्श घरभित्र एउटी शिक्षित महिला मानसिक रूपले पीडित भएको घटनालाई मिडियाले न कहिल्यै समेट्न सक्छ, न त उजागर गराउन सक्छ। मेरो एक साथीको बिहा भएको दुई वर्ष नाघ्यो। उसका आमा–बुवा अनि सासूससुरा असाध्यै खुसी छन्। तर, मानसिक रूपले पीडित छे ऊ। कारण, आजसम्म उसले श्रीमान्को माया पाएकी छैन, न भौतिक न त मानसिक। परिवारका अन्य सदस्यका अगाडि त्यो पुरुषले उसलाई कुनै आदर्श श्रीमान्सरह व्यवहार गर्छ, तर बन्द ढोकाभित्र उनीहरूबीच बोलचालसमेत हुँदैन। मानौं, ऊ कुनै निर्जीव वस्तु हो। रात परेपछि उसको श्रीमान् अरू नै कसैसँग फोनमा व्यस्त हुन्छ। गत हप्ता उसकी सासूले नातिको इच्छा प्रकट गरिछन्। भेटमा हिक्का छोडेर रोई मसँग। माइत गएर आमासँग सब कुरा भन् भनेर सुझाएँ। तर, उसकी आमा मुटुरोगी। सायद छोरीको पीडा सहन सक्दिनन्।

तराईमा कति किशोरीहरूले दाइजोकै नाममा जल्नु परेको छ। शिक्षित र कथित आदर्श समाज जसले दाइजोको स्वरूप नै परिमार्जन गरिदिएको छ। कतिले विवाहअघि छोरीको नाममा बैंकमा पैसा जम्मा गरिदिन्छन्, कतिले जग्गा किनिदिन्छन्, अनि अधिकांशले विवाहको एकदुई दिनअघि छरछिमेकीलाई थाहै नदिई हुनेवाला ज्वाइँको घरको एउटा खाली कोठामा फर्निचर र फर्निसिङको काम गराइदिन्छन्। अनि छाती फुलाएर भन्छन् कि ‘मैले दाइजो नदिई छोरीको बिहा गरिदिएँ’, ‘हामीले त छोराको बिहामा दाइजो लिएनौं।’ यसरी खुलेआम छोरीबुहारीमाथि मानसिक हिंसा गरिरहेछ, आजको आधुनिक समाजले। होइन छोरीलाई वास्तवमै केही दिनु छ भने छोरासरह उचित शिक्षा, अवसर, विश्वास र हिम्मत दिऊँ न। छोरा बाइक हुइँक्याउँदै रातको १० बजे कामबाट घर फर्किन पाउँछ भने साँझको ७ बजेपछि छोरी घर आइपुगिन भनेर पटकपटक फोन किन गर्ने ? हाम्रा आमाबुवाले छोरी–बुहारीलाई समयमै घर फर्किनू, एक्लै बाहिर ननिक्लिनू, फिल्डतिर एक्लै नजानू लगायतका सल्लाह सुझाव दिँदै गर्दा आफ्ना छोरालाई परस्त्रीमाथि नराम्रो नजर नलाउनू, कोही महिलामाथि दुव्र्यवहार भएको देखेमा आफ्नो ज्यानको माया मारेरै भए पनि त्यसको प्रतिकार गर्नू, गलत कुराको विरोध गर्नू अनि आदर्श पुरुष बन्नू भनेर किन सल्लाह दिँदैनन् ?

सामाजिक सञ्जालमा असाध्यै सक्रिय केही व्यक्तित्वहरू लेख्नुहुन्छ, ‘महिलाहरूले आफ्नो बलात्कार गर्न पुरुषहरूलाई आफ्नै हाउभाउ, कपडा लगाउने शैली, बोल्ने र हाँस्ने तरिकाबाट उक्साउँछन्।’ बलात्कार शारीरिक र यौनिक सन्तुष्टि पूरा गर्नेसँग मात्र जोडिएको छैन। त्यसको पछाडि आपराधिक मानसिकता बोकेका कुण्ठित मानिसहरूको सोच, बदलाको भावना, ईष्र्या र द्वेषको भावनाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ। कोहीसँग रिस उठ्यो, उसको नाबालक छोरीको अपहरण गर्ने, कसैले प्रेम प्रस्ताव स्वीकार गरेन, उसको सामूहिक बलात्कार गराउने, एसिड आक्रमण गर्ने, कसैले उसको प्रेम प्रस्ताव स्वीकार गरिन र अर्कैसँग विवाह गरी, त्यसलाई गर्भवती भएकै अवस्थामा समेत बलात्कार गर्ने आदि। महिला हिंसाबाट त आज हाम्रा आमा र हजुरआमासमेत सुरक्षित छैनन्।

बलात्कार, अपहरण, हत्या जस्ता अपराधमा कति त सामाजिक सञ्जालले पनि बढावा दिइरहेको छ। हाम्रो आफ्नै बानी छ नि, हरेक कुरा सामाजिक सञ्जाल अझ भनौं फेसबुक, इन्स्टाग्राम वा ट्विटरमार्फत पब्लिस गर्ने ‘छोरीलाई स्कुल पुर्‍याउँदै, आज घरमा एक्लै, म यसो गर्दै छु, म उसो गर्दै छु’ आदि। यसरी हामी आफैंले आपराधिक मानसिकता भएका व्यक्तिलाई अपराधजन्य क्रियाकलापका लागि सहज वातावरण उत्पन्न गरिदिन्छौं। विशेषगरी हामी स्वयंले आफूमाथि सामाजिक सञ्जालमार्फत अदृश्य रूपमा गरिरहेको हिंसा बन्द गर्नुपर्छ, सुरक्षाको दृष्टिले पनि आफ्नो व्यक्तिगत गोपनीयता कायम राख्न सक्नुपर्छ।

महिलाहरू पुरुषमाथि महिला हिंसाको आरोप लगाउँछौं, पुरुषकै कारण महिला अघि बढ्न नसकेको बताउँछौं, हाम्रो लागि अवरोध सिर्जना गर्ने पुरुष हुन् भन्छौं, कतिले त विवाहकै विरोधसमेत गर्छौं। तर, के हामीले कहिल्यै सोचेका छौं, एउटी महिलामाथि अदृश्य रूपमा हिंसा गर्ने अर्की महिला हरेक घर र समाजमा विद्यमान छन्। अफिसबाट सँगै फर्किएका छोराबुहारी सोफामा उपरखुट्टी लगाएर आराम गरेर बसेको देख्दा पक्कै पनि ससुराभन्दा सासूकै मन अमिलिन्छ। चाडपर्वमा नचाहिँदो मानमर्यादा नन्द आमाजूलाई नै चाहिन्छ, विवाहपछि हरेक पति–पत्नीका आफ्नै योजना हुन्छन् तर केही महिनामै बच्चा छिमेकी आन्टीलाई चाहिन्छ। एउटा अफिसमा सँगै काम गर्ने पुरुषको उन्नतिमा भन्दा एउटी महिलालाई अर्की महिलाको उन्नतिमा डाहा हुन्छ। फेसनमा होस् वा हेयर स्टाइलमा होस्, एउटीले अर्कीलाई जित्नैपर्छ। पार्टीमा जाँदा जलप नै लगाईएका भए पनि बोक्नै गाह्रो हुने गरी गहना महिलालाई नै लगाउनुपर्छ। त्यसैले महानगर यातायातकी ती आमैले पनि सहचालकभन्दा ती दिदीलाई नै दोषी देखेको हुनुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.