यौन राजनीति र #MeToo बहस
संसारभर अहर्निश फणा फैलाएर, हजार पुच्छरले च्यापेर शासन गरिरहेको सबैभन्दा कठोर हाइरार्कीरूपी विशालकाय सर्प छ— लिंगभेद। यसले पुरुषलाई प्राथमिक मान्छ, महिलालाई एक निष्क्रिय सहकारी। यसले महिलामाथिको क्रूर यौनाचारलाई प्राकृतिक र क्षम्य विषय मान्छ।
यसैकारण शदियौंदेखि महिला केवल पुरुषको उपभोग्य वस्तु अर्थात् ‘अब्जेक्ट’ रहँदै आए। महिलाको शरीरमाथिको भोग पुरुषको विशेषाधिकार बन्दै आयो। यसलाई अर्को शब्दमा यौन राजनीति भन्न सकिन्छ। इतिहासकार र समाजशास्त्रीहरू करिब १० हजार वर्षयता यो राजनीति प्रबल हुँदै आएको बताउँछन्।
मानव समाज यस्तो चरणबाट गुज्रिएर यहाँसम्म आइपुगेको छ, जहाँ महिलामाथिका कुनै पनि हिंसा आपराधिक मानिन्थेनन्। ती सहज वृत्ति मानिन्थे। वैध मानिन्थे। जब पितृसत्ताले महिलामाथि शारीरिक र मानसिक स्वामित्व जमाउँदै गयो त्यसपछि कुनै स्त्रीको बलात्कार, सम्बन्धित स्त्रीको बलात्कार नभई उसको स्वामीको मर्दपनमाथिको बलात्कार ठहरिन्थ्यो। त्यो कुनै स्त्रीको अस्मितामाथिको धावा हुन्थेन, उसको लोग्नेको प्रतिष्ठा र पौरुषमाथिको हस्तक्षेप हुन्थ्यो।
त्यस्तो विषय न्याय सम्पादनको मुद्दा त बन्थ्यो तर मुद्दाको उपचार स्त्रीमाथिको स्वामित्व हस्तान्तरमार्फत गरिन्थ्यो। अर्थात् बलात्कारी पुरुष नै उसको नयाँ लोग्ने हुन्थ्यो (हरारी : स्यापियन्स)। यसका लागि उसले निश्चित रकम तिर्नुपथ्यो, बस्। बलात्कारीलाई नै लोग्ने मान्नुपर्ने नियति अहिले पनि कतिपय समाजमा नौलो कुरो होइन। नेपाली समाजमा पनि अर्काकी श्रीमतीसँग अवैध सम्बन्ध राख्दा जारीस्वरूप निश्चित रकम तिरेर स्वामित्व सार्ने चलन थियो।
स्त्री शरीरमाथि पुरुषको हैकम र शासनको इतिहास पितृसत्ताको आयुजत्तिकै पुरानो छ। यसले पुरुषलाई अमानवीय र बर्बर बन्न प्रेरित गरिरह्यो। महिलामाथिको हिंसा र यातनालाई ‘मर्द’ हुनुको प्रमाण मानिँदै आयो। यही कुरो संस्कृति बन्यो।
यस्तो परिस्थितिमा हुर्केको पुरुष अधिकांशतः हिस्रक नै बन्छ। नैतिकता, मानवीय मर्यादा र विवेकको हेक्का हुने सभ्य र अनुशासित पुरुषहरू यस्तो हिंस्रक वृत्तिबाट बाहिर निस्केर सोच्छन् तर यी कुरालाई मतलब गर्न आवश्यक नठान्ने ठूलो पंक्ति आज पनि उस्तै बर्बर र हिंस्रक छ। यो कुरा बलात्कार र हिंसाका भयावह घटनाको विवरण हेरे यो स्वतः पुष्टि हुन्छ।
यौन क्रान्ति र नारी मुक्तिको बाटो
इतिहासको लामो कालदेखि पुरुषको यौनेच्छा पूर्तिको एउटा वस्तु मात्रै बनेकी महिला आज स्वतन्त्र मानिस बन्ने बाटोमा छ। साढे दुई सय वर्ष यताका लेखन, आन्दोलन र बहसहरूले महिलाको अस्तित्व र हस्तीलाई फरक र उदार रूपले देखाउँदै आएका छन्। तथापि यही समयका बीचमा संसार आर्थिक र सांस्कृतिक रूपले पुँजीवादी विकासको उत्कर्ष हुँदै यसको संकटग्रस्त भुक्तमान बाँचिरहेको छ।
विश्वस्तरमा पछिल्लो डेढ शताब्दीयता महिलाहरू व्यापक रूपले सार्वजनिक जीवनमा आए— कारखाना, विद्यालय, अस्पताल, बैंक र उद्यमका अनेक क्षेत्रमा। तिनको प्रतिभा र क्षमता संसारले देख्यो। पुँजीवाद सुरुमा त महिलामैत्री नै मानियो कारण, यसले धेरै महिलालाई घरेलु जीवनको साँघुरो आयतनबाट बाहिर ल्याइदियो तर समयक्रममा पुँजीवादमा महिलामाथिका शोषण र उत्पीडन नौला रूप र शैलीमा प्रकट भए।
भूमण्डलीकरण र बजार अर्थतन्त्रको फेरोमा प्रत्यक्ष र परोक्ष दुवै रूपले स्त्रीदेह परम्परित विनिमयको वस्तु मात्रै होइन, पँजीबजारको सबैभन्दा लाभको कारोबारसमेत बन्यो। अन्तर्राष्ट्रिय÷बहुराष्ट्रिय स्तरमा देखिने गरी नै सौन्दर्य प्रसाधन र पोर्न आजको चालू बजारका सबैभन्दा बढी नाफा आर्जन गर्ने उद्योग बनेका छन्। त्यसबाहेक विभिन्न रूपका परम्परित र आधुनिक वेश्यावृत्ति उद्योग त छँदैछन्।
यस्ता सबै उद्योगलाई अमेरिकी समाजशास्त्री एभलिन रिडले सन् ६० कै दशकमा काँचो मासुका व्यापारी भनेकी थिइन्। खुला बजार र उदार अर्थतन्त्रले ब्युटी प्याजेन्ट, मोडलिङ, सिनेमा इत्यादिमा हुने देह प्रदर्शनी र नग्नतालाई वैध रूपले नै प्रवद्र्धन गरिरहेको छ। यसलाई नेपाली उच्च र मध्यम वर्गीय समाजले पनि स्वीकृत गरिसकेको छ। अरूको त कुरा छोडौं, महिला मुक्तिकै आन्दोलनका कर्ताहरूसमेत आफ्ना बहिनी, छोरीहरूलाई यस्ता मञ्चमा जान उत्प्रेरित गरिरहेका छन्।
सन् ६० को दशकपछि महिला मुक्ति र नारीवादको सवालमा यौनक्रान्तिको मुद्दा उठाउन थालियो। फेसन, कस्मेटिक्स, कामुक पत्रपत्रिका, पुस्तक, फिल्म इत्यादिको बाढीलाई नै यौन क्रान्ति भनियो। यसका धनात्मक कम, ऋणात्मक परिणति ज्यादा देखिए। यसको लाभ स्वतः नारीदेहका व्यापारीले उठाए। यसरी महिला मुक्तिको सवाल अघि सारेर यौन क्रान्तिलाई महŒव दिइनु प्रकारान्तरले यौनजन्य व्यापारको बाटो सफा गर्नु भइदिएको छ।
त्यसको ‘अल्टिमेट माल’ स्त्री शरीर नै हो। नग्न हुनु, स्वच्छन्द यौन व्यवहारको तर्क गर्नु नै मुक्ति आन्दोलनको बाटो हो कि होइन ? यसबारे स्वयं नारीवादी आन्दोलनभित्रै तीव्र बहस छ। यति बेला समाजको यौनचेतना ‘हाइटेक’ भएको भनिएको छ। श्लील र अश्लीलको सीमा हट्यो भनिएको छ। सौन्दर्य प्रसाधन र पोर्नको अपार बजारले सौन्दर्यका नयाँ र अमानवीय मानक स्थापित गरिदिएका छन्।
नारीवादी लेखक नाओमी उल्फ यसले गर्दा महिला एक अनुहार र एक देह मात्रै बनेका छन् भन्छिन् (उल्फ : द ब्युटी मिथ)। महिलाको सारा रचनात्मक शक्ति र उर्जा ‘राम्री’ र ‘सेक्सी’ देखिनुमै सकिएको छ। महिलाको शक्ति र सत्ता निकर्माण गर्ने माध्यम यही नै हो भन्ने धारणालाई झन् बलियो बनाइएको छ।
सौन्दर्यका सामन्तवादी मिथमा पुँजीवादी/साम्राज्यवादी नयाँ मिथहरू पूरै अन्तरघुलित भएका छन्। यसले सुन्दरता र यौनलाई पर्यायजस्तो गरी व्याख्या गरेको छ। मिडिया, सिनेमा इत्यादि सबै माध्यमबाट पुरुष ‘वाइल्ड’ (हिंस्रक) र महिला ‘सेक्सी’ (कमनीय) हुनुपर्छ भन्ने कुरालाई मानकका रूपमा स्थापित गरिएको छ।
यौन क्रान्तिको विरोध गर्दा ‘नारीविरोधी’ भनिने खतरा छ। यसै पनि महिलाका शत्रु महिला नै हुन्छन् भनेर विभाजन र शासनको खेल खेल्न सजिलो छ यहाँ। तर, खास कुरो के हो भने नग्नतालाई नै मुक्तिको सोपान मानेर हिँडेपछि नारी मुक्ति आन्दोलन संकटमा पर्नु निश्चित छ। त्यसैको परिणाम हो, सुन्दरी प्रतियोगिताको विरोध गर्नेहरू ‘सभ्यताविरोधी’, ‘पछौटे’ सोचका बनेका छन्।
हामी महिलाहरू बजारभित्र छिरिसकेको कलाको नग्न रूपलाई प्रतिभा प्रस्तुतिको महान् अवसर ठानिहाल्छौं र होमिन्छौं बत्तीमा पुतली हाम्फाले जस्तो गरी। महिलाको मुक्ति नग्न वस्तु बन्ने स्वतन्त्रताको छनोटमा मा छ कि आत्मसम्मान र स्वाभिमानसहित ‘पूर्ण मान्छे’ बन्ने यात्राको छनोटमा ? सोचनीय कुरा यो हो।
अझ विशेष कुरा त जरा अर्थात् कारणको विरोध गर्ने कि सतहमा देखिएका असरको मात्रै ? आज हिंसाको प्रतिरोध गर्न उभिँदा हिंसाको जरो कहाँ छ ? त्यसको उत्खनन जरुरी छ। ३मिटू जस्ता अभियानबारे बहस गर्दा सौन्दर्य र स्त्रीत्वका मिथसहित पितृसत्ताको पूरै यौन राजनीतिलाई उधिन्नु जरुरी छ।
हिंसा र उत्पीडनका रूप
सामान्य कुरा के हो भने महिला कहीँ पनि सुरक्षित छैनन्, न घर न पर। यसलाई यौनजन्य हिंसाको पछिल्लो तथ्यले पुष्टि गर्छ। पछिल्ला केही दशकयता महिलाहरू घरबाहिर निस्कने क्रम बाक्लिँदो छ। घरको सीमित दायराबाट निस्किरहेका महिलाका भूमिका फेरिएसँगै यौन उत्पीडनका रूप पनि बदलिएका छन्।
हात मिलाउने बहानामा असहज हुने गरी समातिरहने, स्नेह दर्शाएजस्तो गरेर हत्केला, गाला मुसार्न वा काँधमा धाप मार्ने निहँमा अस्वाभाविक ठाउँमा स्पर्श गर्न जे–जस्ता हर्कत गरिन्छन्, ती परिचितबाटै हुन्छन्। सहकर्मी वा आफूभन्दा उच्चपदस्थबाटै। अप्ठ्यारो र असहज हुन्जेलसम्मै वक्षस्थलमा हेरिरहने, कुरा गर्दागर्दै असामान्य रूपले टाँसिन खोज्ने इत्यादि पनि नचिनेको मान्छेले गर्दैन।
सार्वजनिक स्थल या सवारीका साधनमा इशारा गर्ने, फोहोर शब्द बोल्ने, संवेदनशील अंगमा छुन खोज्ने जस्ता कुरा त नित्य घटना भइहाले। यी सबै कुराले पुरुष–सोचको स्तर देखाइरहेको हुन्छ। यी साना, मसिना लाग्ने घटना बलात्कारका अग्रभूमि हुन्। आजका केटीहरू तत्काल प्रतिक्रिया दिन सक्ने नभएका होइनन् तर हत्पति सबैमा यस्तो हिम्मत जाग्दैन। यो शैली अलिकति फिल्मी पनि लाग्छ।
महिला एक कमजोर जैविकी हो भन्ने मनोविज्ञान यस्तरी रोपिएको छ कि परिवार र समाजसँग प्रतिरोध गर्ने साहस सितिमिति जुट्नै मुस्किल हुन्छ।
यसमा जोखिम पनि उत्तिकै छ। पीडित नै पीडक भनिने खतरासमेत हुन्छ। यस्तो विषयमा सहनु सर्वथा कमजोर अस्त्र हो। पीडितको मौनता पनि एउटा प्रकारको हिंसा नै हो, आत्मापराध हो तर यसको चेतना र आँट जागृत हुन समय लाग्छ।
३मिटू यस्तै हिंसाको प्रतिरोधक अभियानका रूपमा आएको छ। यद्यपि यो त्यस्ता महिलाको अभियान हो जो मिडिया र सामाजिक सञ्जालसमक्ष उभिन समर्थ छन्। यसले ती महिलाको जिब्रामा आत्मविश्वासको वाणी भरेको छ।
उनीहरू निर्भय र निसंकोच भएर दुनियाँसामु आफूमाथि भएको अमानवीय हर्कतको खुलासा गरिरहेका छन्। यसबाट अकल्पनीय र स्वनामधन्य अनुहारको मुखुण्डो उघ्रिएको छ। समाजको एक तप्काका पुरुषहरू यसबाट आतंकित र त्रसित भएका छन्।
महिलामाथि हिंसाका अनेक रूप छन्। भ्रूणका रूपमा आमाको पेटमा छँदादेखि नै हिंसा थालिन्छ। कथम् जन्मन पाए भने विभेदका नाम, अनाम प्रकोपसँग लड्दै हुर्किनुपर्छ। महिला एक कमजोर जैविकी हो भन्ने मनोविज्ञान यस्तरी रोपिएको छ कि परिवार र समाजसँग प्रतिरोध गर्ने साहस सितिमिति जुट्नै मुस्किल हुन्छ। ‘स्त्री जन्मिन्न, बनाइन्छे’ भन्ने सिमोन द बुभोइरको कथ्यले यही सांस्कृतिक निर्मितिलाई व्याख्या गर्छ।
महिलालाई यो निर्मितिको एउटा व्यापक परियोजनाले घेरिएको छ र यस्तो मनोविज्ञानमा अभ्यस्त बनाइएको छ कि मानौं त्योभन्दा पर अर्को सत्यको अस्तित्व नै नहोस्। यो प्रकोपको सबभन्दा खतरनाक परिणति हो कुनै पनि बेला, कोहीबाट, कहीँ पनि पनि हुन सक्ने यौनिक हमला र बलात्कार ! अझ, त्योभन्दा अघि बढेर नृशंश हत्या। समाजमा महिला कालगतिले कम, हिंसाका कारण बढी मरेका छन्।
कहीँ दाइजोको निहुँमा जलाएर, कहीँ बोक्सीको आरोपमा कुटेर, कहीँ बलात्कारपछि मारेर, कहीँ प्रेमको प्रस्ताव अस्वीकृत गरेकोले एसिड छ्यापेर। यस्ता धेरै क्षेत्रमा ३मिटूजस्ता अभियानको व्यापकता जरुरी छ। ताकि धेरैभन्दा धेरै पीडितले आफूमाथिको हिंसाको खुलासा गर्न त्यसविरुद्ध लड्न हिम्मत जुटाउन्। तर, कुनै अन्तर्राष्ट्रिय ब्रान्ड नाम धारण गरे मात्रै त्यो अभियान आन्दोलन बन्छ, त्यसले मात्रै महिलाको प्रतिरोधलाई सार्थक बनाइदिन्छ भन्ने जरुरीचाहिँ छैन।
महिला हिंसा र हत्याको उत्तोलक परम्परागत मर्दवाद मात्रै होइन, त्यसैमा जेलिएको घटिया नाफाखोर र दलाल वर्तमान वैश्विक पद्धति हो। यो नयाँ रूपको मर्दवाद हो, नयाँ रूपको पितृसत्ता हो। भूमण्डलीकरण, कर्पोरेटाइजेसन र सञ्चार क्रान्तिको परिवेशमा यसले नयाँ खालको नारी सौन्दर्यचेत निर्माण गरेको छ।
महिलाको शरीर, श्रमशक्ति र छविको नयाँ मानक निर्धारण गरेको छ। अधिकांश महिला यसैको हुबहु आत्मघाती अनुसरण गर्न अभ्यस्त छन्। आफ्ना नखरा र सुन्दरताले पुरुषलाई वशमा पारिरहेको, शक्ति आर्जन गरेको कृत्रिम दम्भमा छन् महिला। त्यसैलाई स्वतन्त्रता भनेका छन्। त्यसैको पछाडि कुदेका छन्। यसले हिंसाको वातावरणलाई थप उत्तेजक बनाइदिएको छ।
सेक्स नै सुन्दरता हो, स्वच्छन्द सेक्स नै प्रेम हो भन्ने हौवा फिँजाएर जस्तोसुकै छाडावृत्तिलाई प्र श्रय दिएको स्थिति छ। स्त्री पुरुषबीच हुने स्वाभाविक आकर्षण र प्रेमको मूल्यलाई एउटा कुनामा असहाय छोडिएको छ। प्रेमको गरिमा र मर्यादाको धारणा अब श्यामश्वेत सिनेमाजस्तो बनेको छ। सिनेमा, साहित्य, कला जतासुकै अश्लीलता र नग्नताको दर्शन वर्चश्वमा छ। नग्नता नै कला हो भनिएको छ।
यसले हिंसा फल्ने फुल्ने आधार थप बलियो बनाइदिएको छ। परम्परित रूपले हिंसाको उपभोक्ता बनिरहेको स्त्री समुदाय कला, साहित्य र प्रविधि संस्कृतिबाट पनि हिंसाको कोपमा परिरहेको छ। यो प्रदूषित वातावरणले स्त्री–पुरुष समानताको कल्पना र आन्दोलनलाई अझ जटिल र चुनौतीपूर्ण बनाइदिएको छ।
#मिटू
महिलामाथि हुने यौनजन्य हिंसाका रूपको विस्तारसँगै त्यसको प्रतिरोधको चेतना पनि कठोर हुँदै गएको छ। तीमध्ये सन् २००६ मा अफ्रिकी अमेरिकी अधिकारकर्मी तराना बुर्केले थालेको ३मिटू एउटा प्रभावकारी अभियान हो। यसलाई कतिपयले नारीवादको चौथो अर्थात् सबैभन्दा पछिल्लो लहरमा गाँसेर हेर्छन्।
सन् २०१७ मा अमेरिकी अभिनेत्री एलिसा मिलानोले ट्विटरमार्फत यो अभियानलाई अघि बढाइन्। फलस्वरूप यस्ता थुप्रै महिला अघि आए जसमाथि अतीतमा कुनै न कुनै रूपको यौनजन्य हिंसा भएको थियो या आज भइरहेको छ।
उदार पुरुषहरूको ठूलो तप्का समर्थनको पंक्तिमा उभियो। ३मिटू अभियानको मेहरोमा हलिउड, बलिउुडजस्ता फिल्म उद्योग, राजनीति र कर्पोरेट क्षेत्रका पुरुषहरू विवादमा तानिए। आरोपित कतिपय पुरुषको जागिर खोसिएको छ भने केहीले सार्वजनिक रूपले क्षमा मागे। यसको प्रभाव नेपालमा पनि देखिएको छ।
सप्रसंग, नेपालमा पचासकै दशकमा निस्केको, लेखक सीता पाण्डेको पुस्तक ‘यौन र अनुभूति’ पृथक् आत्मविश्वासको अभिव्यक्ति थियो। प्रकाशनलगत्तै यसमाथि चर्को सार्वजनिक बहस भयो। यसलाई कतिपयले छाडा साहित्यको आरोप लगाए, कतिले ‘बोल्ड’ लेखनको रूपमा लिए।
प्रस्तुति र भाषाको स्तरबाट कमजोर भए पनि शारदा भुसालको ‘धरातल’ पनि यस प्रसंगमा स्मरणयोग्य किताब हो। यी पनि कुनै न कुनै रूपले आजको ३मिटू अभियानसँग मिल्दाजुल्दा अभिव्यक्ति हुन्।
३मिटू यौनजन्य हिंसा प्रतिरोधको पहिलो अभियान होइन। न त यसपूर्व आफूमाथि भएका हिंसाबारे कसैले मुखै नखोलेको स्थिति नै हो। सन् १९६९ मा न्युयोर्कका महिला अभियन्ताले चलाएको ‘स्पिक आउट’ अभियान मानिसहरूको स्मरणबाट मेटिएको छैन जसको प्रभावले अमेरिकामा गर्भपतनसम्बन्धी कानुन बदल्नु परेको थियो।
यसमा बलात्कार र यौनजन्य दुव्र्यवहारका साथै कतिपय राजनीतिक र सांस्कृतिक मुद्दा पनि समावेश थिए। यो अभियानले ‘पर्सनल इज पोलिटिकल’ भन्ने कथ्यलाई व्यावहारिक रुपले स्थापित गरेको थियो जुन नारीवादी आन्दोलनलाई सार्थक गति थप्ने एउटा महत्वपूर्ण कुन्जी बन्यो। #मिटू यौनजन्य दुव्र्यवहारविरुद्ध मौनता तोड्ने अभियानका रूपमा प्रभावकारी त छ तर यसमा विषय र माध्यमको सीमा छ। यो सीमाले अभियानको प्रभावलाई संकुचित गरिदिएको छ।
हो, यसका कारण महिलाको शरीरलाई आफ्ना कामना तृप्तिको खुला, सार्वजनिक सम्पत्ति ठान्ने मर्दवादी अहम्मा ठेस लागेको छ। एक पक्षबाट हेर्दा यो उत्साहजनक छ। तर, विडम्बनाको कुरा के हो भने सामाजिक सञ्जाल बाहिरका महिलाको ठूलो संख्या यसबाट पूर्ण रूपले विमुख छन्। किसान, मजदुर, घरेलु श्रमिक, तल्लो तहका श्रमजीवी महिलाका आवाजको प्रतिनिधित्व यसले गरेको छैन। नाम र प्रसिद्धि नभएका ‘नो बडी’ अर्थात् शक्तिहीन, साना मानिसका कुरा न मिडियाले छाप्छन् न तिनका अभिव्यक्ति सार्वजनिक बहसका विषय नै हुन्छन् !
कतिपयले ‘ट्विटर फेमिनिज्म’ भनेर आलोचना गरेको यो अभियानबारे सामाजिक सञ्जालमा बहस बाक्लिँदै गर्दा एकजना भारतीय लेखकले फेसबुक भित्तामा लेखिन्, ‘कुलीनवर्गीय साँघुरा घेरा चिर्न नसक्ने हो भने यो पनि एउटा चामत्कारिक प्रतीक मात्रै बन्ने निश्चित छ !’
अर्का लेखकले कमेन्टमा लेखे, ‘यो पनि उच्च मध्यम वर्गको एउटा फेसन हो।’ अलि बेर घोरिएँ। के यो अल्पकालीन प्रचारात्मक अस्त्र, एक फेसन बनेर कालान्तरमा अप्रासंगिक हुने कुरा हो ? के यो बेलिबटम् र प्यारालाल पाइन्टजस्तै या पङस् र हिपहपजस्तै केवल एउटा फेसन हो ? फेसनको आयु छोटो हुन्छ र प्रभाव क्षणिक।
फेसनलाई ‘हिट्’ बनाउने मिडियाले हो। मिडिया जहिल्यै ठूला हस्तीका पछाडि हुन्छ। सानातिना भुइँमान्छेका उत्पीडनका कथा किस्सा मिडियाका रुचि होइनन्। कारण तिनले न अखबारको बिक्री बढाइदिन्छन् न टीआरपी ! यो ३मिटू अभियानको उल्लेख्य कमजोरी हो। यसमाथि लागेको मुख्य आरोप पनि यही हो।
आमजनसाधारण महिलाको समेत सहभागिताको साझा अभियान बन्न सके व्यापक स्तरमा यस अभियानको सार्थकता पुष्टि हुनेछ। कुनै अभियानलाई व्यापक आन्दोलन बन्न न्यूनतम तीनवटा कुरा चाहिन्छ, स्पष्ट विचार, संगठन र समर्पण। महिलामाथिको हिंसा सांस्कृतिक मुद्दा हो। राजनीतिक मुद्दा हो।
हिंसाको मूल कारण संरचनामा छ। संरचना बदल्न तयार नहुने हो भने यस्ता अभियान केवल असरमाथिका प्रतिक्रिया बनेर रहन्छन्। कारणमाथिको क्रियात्मक हस्तक्षेप बन्न सक्दैनन्। निःसन्देह, सामाजिक न्यायको सवालमा उत्पीडनको प्रतिरोध पक्षधरता र नकारको विषय हुँदैन। तर, प्रतिरोधको रूप र शैली कति सतहमा या गहिराइमा छ, त्यसभित्र कहाँसम्म विस्तारित हुने क्षमता छ, यसको परीक्षण भने गरिनुपर्छ।
निश्चित भूगोल, वर्ग र समुदायको, मिडियाका आँखाले पत्याउने सेलिब्रेटीको आँसु र उत्पीडनको साक्षी बनेको ३मिटूसँग साना कदका मानिसका कहालीलाग्दा कहानी जोड्ने कुनै रसायन छ कि ? संरचनात्मक विभेद र सांस्कृतिक प्रकोपसँग भिड्ने व्यापक आन्दोलनको गहिरो इच्छाशक्ति पनि छ कि ?
यो अभियान महिलामाथिको संस्थागत हिंश्साको पुँजीवादी भूमण्डलीकृत परियोजनाप्रति किन उदासीन छ ? यी मैले आफैंसँग सोधेका प्रश्न हुन् र उत्तर सन्तोषजनक छैनन्।