नेपाल बैंकको छलाङ

नेपाल बैंकको छलाङ

काठमाडौं : नेपाल बैंकको परिचय अब पहिलो बैंकको रूपमा मात्र सीमित रहेन। मुलुकमा सञ्चालित २८ वाणिज्य बैंकमध्ये वित्तीय स्वास्थ्य मापनका सबै सूचकमा केही अग्रणी बैंकभित्र नेपाल बैंकको नाम लिइन्छ। कतिपय सूचकमा बैंक पहिलो/दोस्रो स्थानमा आउँछ। स्थापनाको ८१औं वर्ष पार गरिसकेको यस बैंकले मुलुकभित्र आर्थिक क्रियाकलाप विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।

आफ्नो जीवनकालमा ठूलो उतारचढाव बेहोरेको यो संस्था खराब कर्जा, सुशासनको कमी र उच्च सञ्चालन खर्चका कारण धरासायी भएपछि सरकारले वित्तीय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत यसको सुधार प्रक्रिया अघि बढाएको हो। नेपाल राष्ट्र बैंकले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १२ वर्ष व्यवस्थापन सम्हालेर सञ्चालकलाई नै हस्तान्तरण गरेपछि पछिल्लो साढे तीन वर्षमा बैंक अझै सुदृढ र मजबुत छ। कुनै बेला नेपालीले सञ्चालन गर्न नसकी व्यवस्थापन विदेशीलाई सुम्पिन परेको यस बैंक एक कुशल वित्तीय संस्थाको रूपमा उदाउनु आफैंमा सुखद हो।

०७१ पुसपछि गत वर्ष असारसम्मको तथ्यांक विश्लेषण गर्दा बैंकको वित्तीय स्वास्थ्यमा ठूलो सुधार देखिन्छ। केन्द्रीय बैंकले सञ्चालकलाई हस्तान्तरण गर्दा बैंकको चुक्ता पुँजी ६ अर्ब ४७ करोड रुपैयाँ थियो, जुन चालु वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा नौ अर्ब ८१ करोड छ। राष्ट्र बैंकले हस्तान्तरण गर्दा दुई अर्ब ७६ करोड रुपैयाँ ऋणात्मक रहेको रिजर्भ अहिले १० अर्ब ८८ करोड रुपैयाँ धनात्मक छ। बैंकले गत आर्थिक वर्षमा जारी गरेको थप निष्कासन (एफपीओ) बाट चुक्ता पुँजी तथा रिजर्भमा थप योगदान पुगेको छ। ०७४÷७५ को अन्त्यसम्म आइपुग्दा आठ अर्ब चार करोड रुपैयाँ रहेको चुक्ता पुँजी नौ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ भने सोही अवधिमा ६ अर्ब ८० करोड रुपैयाँ रहेको रिजर्भ १० अर्ब ८८ करोड पुगेको छ।

त्यस्तै, केन्द्रीय बैंकले व्यवस्थापन हस्तान्तरण गर्दाको समयभन्दा अहिले सेयरधनी कोष पाँच गुणा बढेको छ। एफपीओले समग्रमा वाणिज्य बैंकको श्रेणीक्रममा नेपाल बैंकको स्थान अगाडि तानेको छ। यसका अतिरिक्त एफपीओले यस बैंकमा सरकारको स्वामित्व ६२ प्रतिशतभन्दा बढीबाट ५१ प्रतिशतमा झारेर निजी क्षेत्रको लगानी बढाएको छ। यसबाट बैंकको सुशासनमा अझै सुधार आउने अपेक्षा गर्न सकिन्छ।

व्यवस्थापन हस्तान्तरण भएको वर्ष ०७१/७२ मा बैंकले ५३ करोड रुपैयाँ खुद नाफा गरेकोमा ०७४/७५ मा बैंकको खुद नाफा बढेर तीन अर्ब ३९ करोड रुपैयाँ पुगेको छ। खुद नाफा आर्जनमा पछिल्ला वर्षमा बैंक पहिलो पाँचभित्र देखिएको छ। चालु वर्षको पहिलो त्रैमासमा मात्रै बैंकले ९१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अन्तिम लेखा परीक्षणअघिको अनुमानमा आधारित रहेर हेर्दा रिजर्भ तथा ०७४/७५ को नाफासमेतका आधारमा बैंकले सेयरधनीका लागि एक अर्ब ७९ करोड रुपैयाँ बोनस तथा नगद लाभांशका लागि छुट्याउन सक्छ।

व्यवस्थापन हस्तान्तरण हुँदा बैंकको सञ्चित नोक्सानी ६ अर्ब ३३ करोड रुपैयाँ थियो। पुँजी पर्याप्तता अनुपात चार दशमलव ७८ प्रतिशत रहेको थियो भने गत आर्थिक वर्षको अन्त्यसम्म पुँजी पर्याप्तता अनुपात १७ दशमलव ६ प्रतिशत पुगेको छ। चालु वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा बैंकको पुँजी पर्याप्तता अनुपात २३ दशमलव ९२ प्रतिशत छ, यो अनुपात नेपालको बैंकिङ क्षेत्रमा नै पहिलो हो। अत्यधिक पुँजीको अनुपातले बैंकको जोखिम बहन गर्न सक्ने क्षमता बढाउँछ। नेपाल राष्ट्र बैंकको नियमअनुसार वाणिज्य बैंकले न्यूनतम ११ प्रतिशत पुँजी पर्याप्तता अनुपात राख्नैपर्छ।

केन्द्रीय बैंकको प्रत्यक्ष व्यवस्थापनमा बैंक सुधारको बाटोमा लागेपछि २०७१ सालमा बैंकको व्यवस्थापन सञ्चालक समितिलाई हस्तान्तरण गरिएको थियो। केन्द्रीय बैंकले करिब साढे तीन वर्षअघि व्यवस्थापन छाड्दा वित्तीय सूचकहरू सबै हालको जस्तो चुस्त भइसकेका थिएनन्। कुल कर्जामा खराब कर्जाको हिस्सा चार दशमलव ६२ प्रतिशत थियो, जुन गत वर्षको अन्त्यसम्म आइपुग्दा घटेर दुई दशमलव नौ प्रतिशत र चालु वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा दुई दशमलव ७८ प्रतिशतमा आएको छ। यसै गरी सञ्चालक समितिले व्यवस्थापन जिम्मा पाएको समयमा माथि भनिए झै रिजर्भ र अधिशेष (सरप्लस) ऋणात्मक थियो। कर्मचारी खर्च दर उच्च थियो, सञ्चित नोक्सानी ६ अर्ब रुपैयाँभन्दा बढी थियो।

सरकारको बहुमत सेयर (५१ प्रतिशत) रहेको यस बैंकले सुशासन, कर्मचारीको क्षमता अभिवृद्धि, वित्तीय पहुँच विस्तार तथा अत्याधुनिक वित्तीय सेवा प्रवाहलाई प्राथमिकतामा राखेको बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाह बताउँछन्। शाखा सञ्जालका हिसाबले सशक्त नेपाल बैंकका अहिले एक सय ४६ शाखा र ८१ एटीएम सञ्चालनमा छन्। चालु आर्थिक वर्षमा २५ शाखा थप्ने बैंकको योजना छ। त्यस्तै, वित्तीय पहुँच अभिवृद्धिका लागि प्रविधिमैत्री मोबाइल बैंकिङ तथा कार्ड प्रयोगकर्ताका लागि भिसा कार्ड पनि वितरण गरिएको छ।

पछिल्ला वर्षमा प्रविधिको उपयोगमार्फत कर्मचारीको संख्या कटौती भएको छ। खास बैंकिङबाहेक सहायक काममा आउटसोर्सिङमार्फत जनशक्ति लिने गरेको छ। नेपाल बैंकले पछिल्लो साढे तीन वर्षमा पाँच सय ८७ जना कर्मचारी कटौती गरिसकेको छ। कारोबार करिब दोब्बर भएको अवस्थामा कर्मचारी संख्या अझै न्युन हुँदा बैंक सञ्चालन खर्चका हिसाबले किफायति बन्दै गएको देखिन्छ।

साना तथा मझौला उद्यमका लागि कर्जा सुविधा वृद्धि गर्ने बैंकको नीति छ। यसबीचमा वाणिज्य क्षेत्रमा जाने कर्जा लगानीको रेकर्ड सबै केन्द्रीकरण गर्ने काम भएको छ। यसबाट निर्णय छिटो हुन सक्नेछ। बैंकको पुँजी तथा रिजर्भमा भएको वृद्धि तथा जोखिम बहन गर्न सक्ने र ऋण लगानी गर्न सक्ने क्षमता विश्लेषणका आधारमा एउटा ऋणीलाई नेपाल बैंकको ऋण सीमा चार अर्ब ८२ करोड रुपैयाँ पुर्या‍इएको छ।

केन्द्रीय बैंकले व्यवस्थापन छाड्दा एक व्यक्तिले लिन सक्ने ऋणको यस्तो सीमा ९० करोड रुपैयाँ थियो। चालु वर्षको पहिलो त्रैमाससम्म नेपाल बैंकले ९३ अर्ब ४७ करोड रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब ५५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। विगत वर्षको उपलब्धिलाई विश्लेषण गर्दा नेपाल बैंकले चुस्त व्यवस्थापन र सुशासनको अनुकरणीय नमुना प्रदर्शन गरेको पाइन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.