वडाअध्यक्षले सचिवलाई हाजिर गर्नै दिएनन्, जनतालाई सास्ती
परासी : पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले सरुवा गरेर पठाएका सचिवलाई वडाअध्यक्षले हाजिर नगराएपछि उनीहरुको काम प्रमुख प्रशासकीय अधिकृतले गर्दै आएका छन्। दसैंअघि प्रमुख प्रशासकीय अधिकृतले सबै सचिवको वडामा सरुवा गरेका थिए। तर वडाअध्यक्षले आफू अनुकुलका सचिव नपाएपछि हाजिर गर्न नदिएको बताइएको छ।सचिव नहुँदा सर्वसाधारणले सास्ती पाएका छन्।
आफूले भनेअनुसारको काम गर्ने सचिवलाई अन्यत्र सरुवा गरी अन्यलाई वडामा पठाएपछि वडाअध्यक्ष प्रमुख प्रशासकीय अधिकृत, नगरप्रमुख र उपप्रमुखसँग आक्रोशित छन्। सचिवको सरुवा बदर नभएसम्म हाजिर गर्न नदिने वडाअध्यक्षको अडान छ।
नगरपालिकामा १३ वडा छन्। ४ वटा वडाबाहेक अन्य ९ वटा वडा सचिवलाई हाजिर गराइएको छैन्। हाजिर नगराइएका सचिव नगरपालिकामा हाजिर गरेर बसेका छन्। वडा नं. ३,४,६ र ११ नम्बरबाहेक अन्य वडाका सचिवलाई वडाअध्यक्षले हाजिर नगराएका हुन्। नगरपालिकाले पटक पटक सचिवलाई हाजिर गर्न अनुरोध गरेपनि वडाअध्यक्षले मानेका छैनन्।
सर्वसाधारणको काम रोकिएपछि प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले व्यक्तिगत घटना दर्ता, सिफारिसलगायत सचिवले गर्नुपर्ने सबै काम आफैले गर्दै आएको बताए। स्थानीय सरकार सञ्चालन ऐनअन्तरगत सचिवको सरुवा प्रमुख प्रशासकीय अधिकृतले गर्ने प्रावधान छ। सोही प्रावधान अनुसार आन्तरिक सरुवा गरिएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताए। कर्मचारीहरुको कार्य क्षमता, भौगोलिक अनुभवलगायतको आधारमा सरुवा गरिएको उनले बताए। 'प्रशासनिकसम्बन्धि सबै काम जनप्रतिनिधिको चाहनाअनुरुप नहुन सक्छ।
सबै विषय सोधेर गरिने पनि होइन। हरेक वर्ष आन्तरिक सरुवा गर्न सकिने प्रावधान छ। आवश्यक परे बीचमा पनि गर्न सकिन्छ। सचिवको कामको मूल्यांकन र आवश्यकताका आधारमा सरुवा गरिएको श्रेष्ठले बताए। नगरपालिकामा नेकपाको बहुमत छ । उपप्रमुखसहित १० वटा वडा नेकपाले जितेको छ। मेयरसहित ३ वटा वडा कांग्रेसले जितेको छ।
वडा कार्यालयका सचिवको काम कारबाहीमा गुनासो आएपछि प्रमुख र उपप्रमुखको मौखिक सल्लाहमा प्रमुख प्रशासकीय अधिकृतले कर्मचारीको सरुवा गरेको बताइएको छ। तर अधिकांश वडाअध्यक्षले भने आफूले भने अनुसारको सचिव नपठाएको भन्दै हाजिर गर्न नदिएर समस्यामा पारेको एक सचिवले बताए। सचिवलाई हाजिर नगराउँदा वडामा भइरहेको विकास निर्माणदेखि राजश्व संकलनसमेत प्रभावित भएको छ।
वडामा पठाइने सचिवको बारेमा आफूसँग सल्लाह नगरी सरुवा गरिएकाले हाजिर गर्न नदिएको-१३ का अध्यक्ष एंव नगरपालिकाका प्रवक्ता कृष्ण देवकोटाले बताए। उनले कार्यपालिकाको बैठकमा समेत सरुवा सच्चाउन निवेदन दिँदासमेत जनप्रतिनिधिलाई वेवास्ता गरेको उनको भनाई छ । जनप्रतिनिधिसँग छलफल गरेर मात्र सरुवा गर्नुपर्ने उनले बताए।अन्यथा हाजिर गर्न नदिने देवकोटाको अडान छ ।