भक्तपुरमा इलेक्ट्रोनिक्स एक्स्पो हुने
भक्तपुर : भक्तपुरमा पुस २६ देखि ३० गतेसम्म पाँचदिन इलेक्ट्रोनिक्स एक्स्पो हुने भएको छ। भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघले भक्तपुरको सल्लाघारीस्थित ९९ रोपनीमा उक्त एक्स्पो गर्ने भएको हो।
संघको नवौं वार्षिक साधारणसभामा उक्त एक्स्पो गर्ने घोषणा गरिएको हो। संघका अध्यक्ष पुण्यराम खाताखोले भक्तपुरलाई विद्युतीय सामग्रीको हबका रूपमा विकास गर्ने उद्देश्यले उक्त एक्स्पो गर्न लागिएको जानकारी दिए। उनले संघले प्रत्येक चार वर्षमा उक्त एक्स्पो गर्दै आएको बताए। संघले सन् २०११ पहिलो र सन् २०१५ मा दोस्रो इलेक्ट्रोनिक्स एक्स्पो गरेको थियो। यसअनुसार यस वर्षको एक्स्पो तेस्रो संस्करण भएको अध्यक्ष खाताखोले जानकारी दिए।
एक्स्पो सफल पार्न संघका उपाध्यक्ष माधवप्रसाद प्रजापतिको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ। संयोजक प्रजापतिले एक्स्पोमा एकसय ५० वटा स्टलको व्यवस्था गरिने जानकारी दिए। यसमध्ये एक सय वटामा विद्युतीय सामग्रीसँगै सूचना प्रविधि र बाँकीमा भक्तपुरका मौलिक उत्पादन, अटोमोबाइलका स्टल हुने उनले सुनाए।
साधारणसभा उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश ३ का संयोजक दिनेश श्रेष्ठले इलेक्ट्रोनिक्स एक्स्पोले सर्वसाधारणले यहाँका विद्युतीय सामग्री व्यवसायीलाई विश्वास गर्ने वातावरण बन्ने विश्वास व्यक्त गरे।