प्रदीप र साम्राज्ञी एकै चलचित्रमा
काठमाडौं : अभिनेता प्रदीप खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह नयाँ चलचित्रका लागि अनुबन्धित भएका छन् । यी दुई चर्चित कलाकारलाई अब दर्शकले चलचित्रमा सँगै देख्न पाउने भएका छन् ।
चाँडै नाम घोषणा गरिने यो चलचित्र हेमराज बीसीको निर्देशनमा तयार हुनेछ । यो चलचित्र बीसीले नै लेखेका हुन् । यो चलचित्रलाई ह्याप्पी प्लानेट र काफिया फिल्म्स्ले निर्माण गर्ने भएको छ । यो चलचित्रलाई आगामी जेठ वा असारसम्म छायांकन गरिसक्ने प्रस्तुतकर्ता गोविन्द शाहीले बताए । उनका अनुसार यो चलचित्रको जर्मन, फ्रान्स, स्विट्जरल्यान्ड, बेल्जियम र इटालीमा छायांकन गरिने छ । चलचित्रको लागत चार करोड लाग्ने पनि शाहीले बताए ।
चलचित्रलाई ह्याप्पी प्लानेटका तर्फबाट रेणु राणा, दीपक खतिवडा, रूपक थापा, अमनकुमार भण्डारी, काफिया फिल्मस्को तर्फबाट काफिया शाही (क्रिसु) र कविरविक्रम शाहीले निर्माण गर्न लागेका हुन् ।