बिरामीबाट फिरेपछि प्रधानमन्त्री पहिलो पटक सार्वजनिक कार्यक्रममा
काठमाडौं : अस्वस्थ भएर सरकारी निवास बालुवाटारमै आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका छन्। प्रधानमन्त्री ओली सोमबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको स्मृतिसभामा उपस्थित भए।
प्रचण्ड निवास खुमलटारमा बिहान भएको प्रकाशको स्मृति सभामा प्रधानमन्त्री ओली तन्दुरुस्त देखिन्थे। अनौपचारिक पोसाकमा देखिएका ओलीले प्रकाशको निधन भएको खबर 'अप्रत्यासित रुपमा आफूहरू माझ आइपुगेको' सम्झना गरे।
प्रचण्डपुत्र प्रकाशको २०७५ मंसिर ३ गते तत्कालीन प्रचण्ड निवास लाजिम्पाटमा भएको थियो। उनी घरमै मृत भेटिएका थिए। पछि चिकित्सकहरूले उनको मृत्यु हृदयाघातका कारण भएको बताएका थिए।
प्रचण्ड परिवारले देशका लागि आफ्नो सबैभन्दा ठूलो पीडालार्इ धैर्यतापूर्वक सहन गरेको प्रधानमन्त्रीले बताए। देश चुनावमा होमिएका बेला पुत्रवियोगका बीच प्रचण्ड र उनको परिवारले देखाएको साहसको प्रधानमन्त्रीले प्रशंसा गरेका थिए।
छातिमा इन्फेक्सन भएपछि तिहार अघि प्रधानमन्त्री त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए। चिकित्सकहरूले सार्वजनिक कार्यक्रममा नजान दिएको सुझाव मानेर निवासमै आराम गरेका प्रधानमन्त्री आज भने पत्नी राधिका शाक्यसहित खुमलटार पुगेका थिए। कार्यक्रममा उनले करिब १५ मिनेट भाषण गरे।