साहित्य साटासाटमा चीनको चासो
![साहित्य साटासाटमा चीनको चासो](https://annapurnapost.prixacdn.net/media/albums/academy_pragya_pratishtan_20181120044909_kANhqTuV2l.jpg)
काठमाडौं : नेपाली भाषामा एक सय जति चिनियाँ कृति अनुवाद भइसक्दा पनि चिनियाँ भाषामा अहिलेसम्म दुईवटा मात्र नेपाली कृति अनुवाद भएका छन्। पहल र प्रभावको अभावमा विश्वको शक्तिशाली राष्ट्र चीनमा नेपाली साहित्य पुग्न नसकेको हो।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ र डोरबहादुर विष्टको ‘सोताला’ चिनियाँ भाषामा अनुवाद भई प्रकाशन भएका नेपाली कृति हुन्। डायमनशमशेर राणाको ‘सेतो बाघ’ अनुवादको क्रममा छ।
साहित्यकार निनु चापागाईंका अनुसार करिब एक सय चिनियाँ कृति नेपालीमा छापिएका छन्। चीनको संस्कृति मन्त्रालयअन्तर्गत चिनियाँ संस्कृति तथा अध्ययन सहयोग (सीसीटीएसएस)का प्रशासकीय निर्देशक जु बाओफेङका अनुसार चीनमा ३० हजार लेखक र ४० हजार प्रकाशक छन्। ६ महिनाको अन्तरमा साहित्यको माहोल बदलिने उनको भनाइ छ।
नेपाल राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशक संघका महासचिव लिखत पाण्डेका अनुसार नेपालमा सरकारी, गैरसरकारी र निजी गरी हाल पाँच सयको हाराहारीमा प्रकाशक छन्। वार्षिक झन्डै साढे चार अर्ब रुपैयाँ बराबरको पुस्तक कारोबार हुन्छ। तिनमा ७५ प्रतिशत पाठ्यपुस्तकले ओगट्छ।’ यसबाट छर्लंग हुन्छ, साहित्यिक कृतिको संख्या कति छ भनेर।
प्राध्यापक डा. अभि सुवेदीले नेपाल सरकार र नेपालका लेखक एवं प्रकाशकले पहल नगर्दा हाम्रो साहित्यले चीनमा प्रभाव देखाउन नसकेको बताए। उनले भने, ‘चिनियाँ भाषामा अनुवाद गर्नेको संख्या पाँच/छ जना हुनु, चीनको प्रकाशन र बजारसँग समन्वय कमजोर हुनु र नेपाल प्रज्ञाप्रतिष्ठानबाट पनि आवश्यक पहल नभएकाले समस्या भएको हो।’
प्रतिष्ठानले सीसीटीएसएसको सहकार्यमा हालै काठमाडौंमा दुईदिने ‘अनुवाद र प्रकाशनमा काठमाडौं फोरम’ कार्यशाला सम्पन्न गरेको छ। त्यस क्रममा उक्त संस्थाले यस वर्ष ६० र अर्को वर्ष एक सय चिनियाँ कृति अनुवाद र प्रकाशन गर्ने योजना सार्वजनिक गरेको छ। १२ सय वर्षअघि सन् ८६८ मा चीनले बुद्धिज्मसम्बन्धी ‘डाइमन्ड सूत्र’ प्रकाशन गरेर पूर्वी देशमा पहिलोपटक कृति छापेको इतिहास छ।
प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सांस्कृतिक एवं साहित्यिक आदानप्रदाननिम्ति चीनसँग सहकार्य गर्न त्यहाँका तीनवटा साहित्यिक संस्थासँग सहकार्य भइरहेको बताए। उनले भने, ‘भाषाको समस्याले कठिनाइ भएको हो। अब अनुवादमार्फत गुणस्तरीय नेपाली कृति चिनियाँ भाषामा प्रकाशन गर्ने क्रम बढ्छ।’ लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम र लेखनाथ पौड्यालका कृति र कथा एवं कविताका प्रतिनिधि संग्रहको काम अघि बढाउन लागिएको उनको भनाइ छ।
साहित्य सम्मेलनमा महेश पौडेलले कार्यपत्र प्रस्तुत गरे। उनले नेपाल र चीनको कूटनीतिक सम्बन्ध ६५ वर्षको मात्र भए पनि साहित्यको सम्बन्ध सातौं शताब्दीमै भएको बताए। बुद्धभद्र बेइजिङ पुगेर संस्कृत भाषामा लेखिएका बुद्धका ग्रन्थ चिनियाँ भाषामा अनुवाद गरेको जानकारी उनले दिए।
राष्ट्रिय पुस्तक नीति र दुई देशबीच पुस्तक आदानप्रदानबारे प्रस्ट नीतिको अभावमा नेपाली साहित्य पर्याप्त मात्रामा अन्य देशमा पुग्न पाएको छैन।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)