जीवनको विरोधाभाषपूर्ण संघर्ष ‘चौथो अध्याय’

जीवनको विरोधाभाषपूर्ण संघर्ष ‘चौथो अध्याय’

विराटनगर : मानिस आधुनिक युगमा छ। यो युगको नयाँ–नयाँ आविष्कारले जीवन पद्धतिलाई बदल्दै लगेको छ। यद्यपि, आम मानिसको जीवन थुप्रै द्वन्द्व र परस्पर विरोधी दर्शनले भरिएको हुन्छ। सामाजिक परिवेश, द्वन्द्व, भोगाइ, दर्शन, खोज, अध्ययन, अनुभवलगायतका अनेक चिजको मिश्रण र घर्षणभित्र जीवन जेलिएको हुन्छ। तर, अनेक सकसका बीचमा पनि मानिसले आफ्नो जीवनलाई अगाडि बढाइरन्छ। 

निराशावादी चिन्तनले समेत मानिसको जीवनमा अनेक असर र प्रभाव पार्छ। आधुनिक युगसँगै सामाजिक परिवेश, दृष्टिकोण, मनोवृत्ति र मनोभाव परिवर्तन हुँदै गइरहेका छन्। तर, समाज परिवर्तन हुँदै गइरहे पनि महिलालाई हेर्ने दृष्टिकोण फेरिएको पाइँदैन। सामाजिक मनोवृत्ति र मनोभावबाट जेलिएकी महिलाको अथक संघर्षको कथा छुट्टै हुन्छ। समाजमा खुल्न नदिएर महिलालाई मृत्युको मुखसम्म पु¥याउने गरिएका थुप्रै उदाहरणहरू छन्। 

मृत्युनजिक पुगेर त्यसलाई जित्दै परिवर्तनका लागि संघर्ष गरेर पनि महिलाले जिउन सक्छन् भन्ने सन्देश दिने एउटा नाटक हो ‘चौथो अध्याय’। जसले जीवनको विरोधाभाषपूर्ण संघर्ष बोेकेको छ। रविन चिमरिया र दीक्षा चौधरीद्वारा निर्देशित ‘चौथो अध्याय’ जेठ २५ गतेदेखि विराटनगरको हाटखोलास्थित सुशीला कोइराला नाट्यघर, आरोहण गुरुकुलमा प्रदर्शन भइरहेको छ। 

यसमा एउटी महिलाले सामाजिक रूपमा भोग्नुपर्ने मानसिक तथा शारीरिक पीडालाई प्रायोगिक एवं काव्यिक हिसाबले नाटकको माध्यमबाट देखाउन खोजिएको छ। भरत कार्की यसको परिकल्पनाकार हुन्। मञ्चमा निर्देशकद्वय चौधरी नाट्यकर्मी सारा केन र चिमरिया कवि तथा प्रदीप दाहाल भगवान श्रीकृष्ण, भरत कार्की कार्ल माक्र्स र यशस्वी घिमिरे सूत्रधारको भूमिकामा हुन्छन्। नाटकका संकलक तथा संयोजक दीपेश भण्डारी समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नभएको मनोविज्ञानमा केन्द्रित भएर ‘चौथो अध्याय’ तयार पारिएको बताउँछन्। ‘पृथ्वीको सबैभन्दा ठूलो सत्य नै मृत्यु हो। मृत्युको वरिपरि हुँदा पनि किन सहअस्तित्व स्वीकार गर्दैनौं भन्ने प्रश्न हामीमा खडा भएको छ,’ उनी भन्छन्, ‘मरेर जाने जुनीमा पनि महिलालाई अलग नजरले हेर्ने गरिन्छ। उनीहरूले खुलेर हिँड्न कहिलेदेखि पाउने भन्ने विषयको पेरिफेरीमा रहेर यो नाटक बनाइएको हो।’ 

अनेक विभेदको पेरिफेरीबाट माथि उठ्दै समाज परिवर्तनका लागि संघर्ष गरेर पनि महिलाहरू बाँच्न सक्छन् भन्ने सन्देश दिन खोजिएको भण्डारीको भनाइ छ। ‘मृत्युको ठूलो विकल्प जीवन भन्ने सन्देश दिँदै महिलाले मृत्यु जितेको कथालाई यसमा समेटिएको छ,’ भण्डारीले भने, ‘नारीको पीडालाई सामाजिक मनोविज्ञानसँग जोडिएको छ।’  

उनका अनुसार नाटककार विजय मल्लद्वारा लिखित मनोसामाजिक नाटक जिउँदो लास, नाट्यकर्मी सारा केनको अद्भुत जीवनी, नाट्य अभ्यास, उनका कालजयी सिर्जनाहरू, अन्तिम नाटक ४.४८ साइकोसिस धर्मशास्त्र, दर्शन, जीवनकालमा मानिसका विचारहरूको द्वन्द्व र सामाजिक रूपमा महिलालाई प्रदान गरिने द्वन्द्वात्मक अधिकारलगायत जीवनको उत्तरार्धमा देखा पर्नसक्ने मनोसामाजिक अवस्था नाटकको मूल विषयवस्तु हुन्। महाकवि लक्ष्मीप्रसाद देवकोटा, पारिजात, चाल्र्स बुकोवस्की र विप्लव प्रतीकका कवितालाई समेत यसमा प्रयोग गरिएको भण्डारीको भनाइ छ। 

नाटकले मनोसामाजिक हिसाबले सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको उनी बताउँछन्। ‘यस नाटकले मनोवैज्ञानिक तवरले हामी हाम्रा दर्शन, खोज, अध्ययन र सामाजिक हिसाबले कसरी एक किसिमको बन्धनमा जेलिएका हुन्छौं र महिलालाई किन यसरी जीवन जिउन बाध्य पारिन्छ भनेर प्रश्न खडा गरेको छ,’ भण्डारीले भने, ‘फरक शैलीको यो नाटकले दर्शन, विचारधारा र व्यावहारिकताबीचको जीवनको विरोधाभाषपूर्ण संघर्षलाई समेत इंगित गर्दछ।’ जीवनको एकालापका रूपमा लिइएको यो नाटकमा भागवत् गीताको चौथो अध्याय र बुद्धिजम, माक्र्सिजम, धर्म र समाजवादको ‘फिलोसोफी’हरूको संयोजनलाई समेटिएको उनको भनाइ छ। 

विराटनगरस्थित एभरेस्ट स्कुलका भाइस प्रिन्सिपल नारायण कडरिया ‘चौथो अध्याय’लाई एक हिसाबको ‘मास्टर पिस’ भन्न रुचाउँछन्। ‘आजको आधुनिक मानिसमा पनि विभिन्न मानसिक समस्याहरू छन्। कहिलेकाहीँ त्यो समस्या असाध्यै जटिल भएर ‘डिप्रेसन’सम्म पुगेको अवस्था छ,’ उनले भने, ‘आममानिसमा आइपर्ने सबै किसिमका सकसहरूको सिर्जना कसरी हुन्छ र परस्पर विरोधी दर्शनले हामीभित्र कस्तो भूमिका खेलिरहेको हुन्छ भनेर नाटकको प्रमुख कलाकारले बेजोड प्रस्तुति दिएको पाइन्छ। एक हिसाबले भन्दा ‘चौथो अध्याय’ हरेक मानिसको जीवनसँग मेल खाने कथासँग जोडिएको छ।’

‘नाटकभित्र भगवान् श्रीकृष्णले आनन्दमय जीवन बाँच्नुपर्छ। कर्म गर्नुपर्छ र फलको आशा गर्नु हुँदैन भन्छन्,’ कडरियाले भने, ‘कताकता एक किसिमको आधुनिक समाजलाई हेर्दा अलि निराशावादी चिन्तन हो कि जस्तो पनि लाग्ने। किनभने कर्म गर्नेले फलको अपेक्षा गर्नु हुँदैन भन्ने कुरा छ।’ उनका अनुसार सबै चिन्ताबाट मुक्त भएर बेफिकर बाँच्नुहोस् भन्ने किसिमको दर्शन श्रीकृष्णले बाँड्दै गर्दा कार्ल माक्र्सले वर्ग संघर्षको कुरा उठाउनुले नाटकलाई बेजोड बनाएको छ। 

‘नाटकमा कार्ल मास्र्कले अन्याय जहाँ हुन्छ, त्यहाँ बोल र धर्मको पछाडि नलाग भन्छन्। धर्म भनेको भीडलाई वा ठूलो जनसंख्यालाई अलमल्याउने अफिम (लागूऔषध) हो भनेका छन्,’ कडरियाले भने, ‘यो परस्पर विरोधी दर्शनबीच द्वन्द्व चलिरहेका बेला नेपाली समाजमा असाधारण चेतना भएको एक जना ‘अगम वक्ता’जस्तो कवि देखिन्छन्। यस्ता भिन्दाभिन्दै दर्शनले मानिसको जीवनमा अनेक असर र प्रभाव पारिरहेको छ भनेर सहजै बुझ्न सकिन्छ।’ 

विभिन्न विषयसँग जोडेर ‘लाइफ स्टायल’लाई झल्काउन खोजिएको नाटकमा कथा वस्तुलाई बेजोडले प्रस्तुत गरिएको उनको बुझाइ छ। ‘परस्पर विरोधी दर्शनशास्त्रको पछाडि लाग्दै गर्दा मानिसको जीवन सकसपूर्ण पनि हुन सक्ने कुरालाई नाटकले समेटेको देखिन्छ। त्यहाँमाथि सामाजिक मनोवृत्ति र मनोभावबाट जेलिएकी महिलाको अथक संघर्षको कथाले सबैको मन छोएकै छ,’ कडरियाले भने। 

आरोहण गुरुकुलको व्यवस्थापन तथा आयोजनामा यही जेठ ३२ गते अर्थात् शुक्रबारसम्म नाटकको प्रदर्शन हुनेछ। गुरुकुलका अध्यक्ष भैरव क्षेत्रीका अनुसार यहाँ यस्ता धेरै नाटकको प्रदर्शन गरिएको छ। 

असार १ गतेदेखि ५ गतेसम्म नाटक महोत्सव गर्ने तयारी रहेको उनले बताए। महोत्सवमा विराटनगर र विराटनगर बाहिरका पाँच नाटक प्रदर्शन गरिने 
जानकारी क्षेत्रीले दिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.