इरानमाथि ट्रम्प र नेतन्याहूको रणनीति किन हुँदैछ असफल ?
अमेरिका : डोनाल्ड ट्रम्प र बेन्जामिन नेतन्याहूको विश्वास थियो कि इरानमाथिको विजयले सम्पूर्ण मध्यपूर्वको राजनीतिक अवस्था बदलिदिनेछ । क्षेत्र परिवर्तन त हुँदैछ, तर उनीहरूले सोचेको दिशामा होइन । इस्लामिक गणतन्त्र इरान पराजित भएको छैन ।
बरु अहिले लामो, थकाउने र निरन्तर संकटको खतरा बढेको छ, जुन कहिले प्रत्यक्ष युद्धमा परिणत हुन सक्छ भने कहिले फेरि तनावको अवस्थामै सीमित रहन सक्छ । इरानी शासनलाई ढाल्न ट्रम्प र नेतन्याहूले अनुमान गरेभन्दा धेरै कठिन साबित भएको छ । उनीहरूको मूल्याङ्कन गलत सावित भएको छ र अहिले घटनाक्रममाथि उनीहरूको नियन्त्रण पनि कमजोर बन्दै गएको देखिन्छ ।
अमेरिकी अपाचे हेलिकोप्टर खसालिएको घटनालाई यसको पछिल्लो उदाहरणका रूपमा हेरिएको छ । यो घटनाले फेरि एक पटक देखाएको छ कि इरानका शासकहरू अझै पनि अमेरिकालाई क्षति पुर्याउन सक्षम छन् र आफूलाई यस संघर्षको विजेता बनाउने संकल्पबाट पछि हटेका छैनन् । इरानका लागि विजयको अर्थ सत्ता टिकाइराख्नु र आफ्नो प्रतिरोध क्षमतालाई अझ बलियो बनाउनु हो । साथै, विश्वका सबैभन्दा महत्वपूर्ण सामुद्रिक मार्गमध्ये एक मानिने होर्मुज जलडमरूमध्यमाथिको आफ्नो रणनीतिक प्रभावलाई मान्यता दिलाउनु पनि हो ।
अमेरिकी राष्ट्रपति र उनका सैन्य अधिकारीहरू हेलिकोप्टरको क्षतिप्रति प्रतिक्रिया दिँदा एकातिर आफूहरू दबाबमा नपरेको सन्देश दिन चाहन्छन् भने अर्कोतिर अहिलेसम्म सफल हुन नसकेको कूटनीतिक प्रयासलाई जीवित राख्न पनि चाहन्छन् । ट्रम्प अहिले इरानसँग कुनै सहमति गर्ने सम्भावनामाथि दाउ लगाइरहेका छन्, जसबाट होर्मुज जलडमरूमध्य फेरि खुल्न सकोस् र इरानको समृद्ध युरेनियम भण्डार तथा आणविक कार्यक्रम जस्ता विषयमा दीर्घकालीन वार्ता सुरु गर्न सकियोस् ।
अमेरिकामा यो युद्ध लोकप्रिय छैन । त्यसैले ट्रम्प कुनै यस्तो परिणाम खोजिरहेका छन्, जसलाई उनले राजनीतिक विजयका रूपमा प्रस्तुत गर्न सकून् । तर यो लक्ष्य हासिल गर्न कठिन देखिएको छ । ट्रम्प र नेतन्याहू दुवैले युद्धसम्बन्धी एउटा पुरानो पाठ फेरि सिकिरहेका छन्यु-द्ध सुरु गर्न सजिलो हुन्छ, तर त्यसलाई स्पष्ट र पूर्ण विजयका साथ अन्त्य गर्न निकै गाह्रो हुन्छ ।
फेब्रुअरीको अन्त्यतिर जब उनीहरूले आफ्ना देशलाई इरानसँगको युद्धमा धकेले, दुवैले भिडियो सन्देशमार्फत ऐतिहासिक परिवर्तन आउन लागेको संकेत दिएका थिए । उनीहरूको विश्वास थियो कि १९७९ को इस्लामिक क्रान्तिपछि स्थापित इरानी शासन अब अन्त्यतिर पुगेको छ । फ्लोरिडास्थित मार–ए–लागो रिसोर्टबाट ट्रम्पले ईरानी विपक्षीहरूलाई सम्बोधन गर्दै भनेका थिए, ‘तपाईंहरूको स्वतन्त्रताको समय आएको छ । सुरक्षित रहनुहोस् । घर बाहिर ननिस्कनुहोस् । बमबारी हुनेछ । हामीले आफ्नो काम पूरा गरेपछि आफ्नो सरकार आफैं सम्हाल्नुहोस् ।’ त्यसको भोलिपल्ट तेल अभिभस्थित इजरायली रक्षा मन्त्रालयको भवनको छतबाट नेतन्याहूले पनि विजय निश्चित जस्तै शैलीमा सम्बोधन गरेका थिए । उनले भनेका थिए, ‘यो सैन्य गठबन्धनले मलाई ४० वर्षदेखि चाहेको काम गर्ने क्षमता दिएको छ-आतंकवादी शासनलाई जरैदेखि उखेल्ने । मैले यही वाचा गरेको थिएँ र हामी यही गर्नेछौँ ।’
कहाँ भयो गल्ती ?
नेतन्याहूले आफ्नो राजनीतिक जीवनभर इजरायलको मुख्य खतरा इरान भएको बताउँदै आएका छन् । उनले विगतमा धेरै अमेरिकी राष्ट्रपतिलाई इरानविरुद्ध सैन्य कारबाहीमा सहभागी गराउने प्रयास गरे तर सफल भएनन् । ट्रम्प भने फरक साबित भए । सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि नेतन्याहूले लगातार इजरायलीहरूलाई सैन्य शक्तिमार्फत शत्रुहरूलाई परास्त गरेर सुरक्षित भविष्य निर्माण गर्ने आश्वासन दिएका थिए ।तर अहिले अवस्था उल्टो देखिन थालेको छ । आलोचकहरूका अनुसार बल प्रयोगमार्फत क्षेत्रलाई आफ्नो इच्छाअनुसार ढाल्ने नेतन्याहूको रणनीति अपेक्षित रूपमा सफल भएको छैन ।
ट्रम्पले पनि छिटो विजयको अपेक्षा गरेका थिए । उनलाई विश्वास थियो कि शासन परिवर्तनको रणनीति सफल हुनेछ र ईरान त्यसको अर्को लक्ष्य बन्नेछ। तर अहिले दुवै नेताहरूले आफूले कहाँ गल्ती गरे भन्ने प्रश्नको सामना गरिरहेका छन् । अमेरिकासँग संसारकै शक्तिशाली सेना छ र इजरायल मध्यपूर्वको प्रमुख सैन्य शक्ति हो । त्यसैले उनीहरूले इरानको आर्थिक कमजोरी, प्रतिबन्ध, भ्रष्टाचार र आन्तरिक असन्तुष्टिलाई शासन पतनको संकेत ठानेका थिए । साथै, इजरायलले गाजामा हमास र लेबनानमा हिज्बुल्लाहलाई ठूलो क्षति पुर्याएको थियो । सिरियाका राष्ट्रपति बशर अल–असद पनि सत्ताच्युत भइसकेका थिए । यी सबै कारणले इरानी शासन कमजोर भइसकेको निष्कर्ष निकालिएको थियो ।
तर उनीहरूले इरानी शासनको कठोरता, टिकाउपन र रणनीतिक चातुर्यलाई कम आँके । सर्वोच्च नेता र शीर्ष सैन्य अधिकारीहरूलाई मार्दा शासन आफैं ढल्ने अनुमान पनि गलत साबित भयो । झन्डै पाँच दशकदेखि निरन्तर बाह्य दबाब र संकट झेल्दै आएको इरानी व्यवस्थाले आफूलाई आक्रमण सहन सक्ने गरी तयार पारेको छ । त्यसको सुरक्षा सोच धार्मिक र वैचारिक विश्वासद्वारा समेत बलियो बनाइएको छ ।
खाडी राष्ट्रहरूको बढ्दो चिन्ता
अमेरिकाका साझेदार खाडी राष्ट्रहरू-विशेषगरी यूएई र बहराइन-पनि युद्धका कारण प्रभावित भइरहेका छन् । क्षति केवल पेट्रोकेमिकल उत्पादन र मल जस्ता उद्योगको आम्दानीमा सीमित छैन । यी देशहरूले आफ्नो भविष्य क्षेत्रीय स्थिरता, अन्तर्राष्ट्रिय लगानी र पर्यटनमा आधारित बनाएका थिए । तर युद्धले त्यो दृष्टिलाई संकटमा पारेको छ । सम्भावित लगानीकर्ता र पर्यटकहरूले अहिले युद्धको जोखिम देखिरहेका छन् । इरानी नेतृत्वको विश्वास छ कि यदि उसले आफ्नो अस्तित्व जोगाउन सफल भयो र होर्मुज जलडमरूमध्य बन्द गर्ने तथा छिमेकी खाडी राष्ट्रहरूमाथि दबाब सिर्जना गर्ने क्षमता कायम राख्यो भने त्यसलाई अमेरिका र इजरायलविरुद्ध दीर्घकालीन रणनीतिक प्रतिरोधमा बदल्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस !